कोरोनाभाइरसः सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?



नयाँ कोरोनाभाइरस विरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ । यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ?

महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ । त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ ।

फोक्सोमा आक्रमण

ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो ।
अन्य लक्षण यस्ता थिएः
– ८२ जनालाई ज्वरो आएको थियो
– ८१ जनालाई रुघाखोकी लागेको थियो
– ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो
– ११ जनालाई मांसपेशी दुःख्ने समस्या थियो
– ९ जनामा मिश्रित समस्या देखिएको थियो
– ८ जनालाई टाउको दुःखेको थियो
– ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो ।

प्रारम्भिक मृत्यु

ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे । तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ ।

तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो । उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन । भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे । अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो ।

अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो । उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो । गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो ।

कम्तीमा १० प्रतिशतको मृत्यु

– ५७ जना अझै अस्पतालमा छन्
– ३१ जना घर फर्केका छन्
– ११ जनाको मृत्यु भएको छ
त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन ।

अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन् ।

यो नयाँ भाइरसलाई 2019-nCoV नामकरण गरिएको छ । ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ ।

सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो । दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे ।

अधबैँसेहरू धेरै प्रभावित

ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए । उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए । यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ ।

यसले दिने सन्देश यस्ता हुन सक्छन्ः

– पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन । त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ ।
– सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन् ।

पुराना बिरामी

– ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए । त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण भएको हुन सक्छ ।
– ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए। उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए ।
– १२ जनामा मधुमेह थियो ।

(बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्