यी हुन् नेकपा केन्द्रीय कमिटी बैठकका ११ निर्णय



फिदिम, १९ माघ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक आइतवार सकिएको छ । राष्ट्रिय सभागृहमा पाँच दिनदेखि जारी बैठक विभिन्न समसामयिक विषय ११ वटा प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकले भारतले मिचेको ६० हजार हेक्टर भन्दा धेरै नेपाली भूमिदेखि, चीनमा फैलिएको कोरोना भाइरस र इरान–अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा देखिएको तनावबारे पनि प्रस्ताव पारित गरेको छ ।

नेकपाको बैठकले भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी गरेको राजनीतिक नक्सलाई अमान्य घोषित गरेको छ । दार्चुला जिल्लास्थित ती तीनै क्षेत्र तथा नवलपरासीको सुस्ता पनि नेपाली भूभाग नै भएको जनाउँदै नेकपाले भारतबाट लिइएको एकपक्षीय निर्णय अमान्य हुने पनि घोषणा गरेको छ ।

बैठकले इरान–अमेरिका तथा मध्यपूर्वका अन्य देशबीच देखिएको द्वन्द्वको वार्ताद्वारा समाधान हुनुपर्ने प्रस्ताव पारित गरेको छ । मध्यपूर्वमा देखिएको तनावका कारण त्यहाँस्थित १० लाख भन्दा धेरै नेपाली प्रभावित हुनेतर्फ सरकारलाई सचेत गराउँदै नेकपाले सबैखाले कूटनीतिक पहल गर्न पनि भनेको छ ।

नेकपाले चीनमा फैलिएको कोरोना भाइरसबारे पनि एक प्रस्ताव पारित गर्दै चीनको प्रयासमा बलियो साथ रहेको जनाएको छ । नोभल कोरोना भाइरस नियन्त्रणका लागि चीनले चालेको कदमको प्रशंसा गरेको नेकपाले त्यहाँस्थित नेपालीको आपतकालिन उद्धार गर्न पनि सरकारलाई भनेको छ ।

गौतम उपाध्यक्ष

नेकपा केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित आइतवार पारित गरेको हो । पाँच दिनदेखि राष्ट्रिय सभागृहमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेसँगै संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन् ।

उनलाई नै उपाध्यक्ष बनाउनका लागि नेकपाले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा ल्याएको थियो । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कमिटी बैठकले सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख गौतमलाई उपाध्यक्षमा निर्वाचित गरेको हो ।

यसअघि ६ पुसमा स्थायी कमिटी बैठकले संगठन विभाग प्रमुख गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

बैठकले नेताहरुको सुझावसहित उक्त प्रस्ताव पारित गरेसँगै वामदेव नेकपाका उपाध्यक्ष बन्ने बाटो खुल्ला भएको थियो। गत साउन २१ गते नै वामदेवलाई उपाध्य बनाउन नेकपा सचिवालयबाट निर्णय लिइएको थियो । नेकपाको विधानमा उपाध्यक्ष रहने व्यवस्था नहुँदा वामदेवलाई उपाध्यक्ष बनाउन नेकपाको विधान संशोधन गर्नुपर्ने थियो ।

विधान संशोधनको निर्णय नेकपाको केन्द्रीय कमिटीले गरेसँगै वामदेव पार्टीमा शक्तिशाली बनेका छन् । नेकपाको बैठकले विधानमा ‘एक उपाध्यक्ष रहनेछ’भन्ने उल्लेख गरेसँगै बामदेव उपाध्यक्ष भएका हुन् । तत्कालिन एमाले र माओवादी केन्द्रवीच एकता गराउन उल्लेखनीय भूमिका खेलेका वामदेवलाई कदर गरिनु पर्ने माग उठिरहेका बेला उनलाई यो सम्मानित पद सिर्जना गरेर ल्याइएको हो ।

नेताको सम्पत्ति खोज्ने जिम्मा अनुशासन आयोगलाई

नेकपाका नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ । राष्ट्रिय सभागृहमा आइतवार अपरान्ह सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरुको सम्पत्ति खोज्ने जिम्मेवारी अमृतकुमार बोहोरा अध्यक्ष रहेको अनुशासन आयोगलाई दिने निर्णय गरेको हो ।

पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने र राजेन्द्र राई सहितले नेकपाका नेता र जनप्रतिनिधिहरु विलाशी बन्दै गएको भन्दै चर्को आलोचना गरेका थिए । उनीहरु सहितका धेरैजसो केन्द्रीय सदस्यहरुले नेताहरु दलाल–पुँजीवादको जालोमा फसेर नवधनाढ्य बन्दै गएको गुनासो गरेपछि सम्पत्ति छानबिनका लागि अनुशासन आयोगलाई जिम्मेवारी दिइएको हो ।

एमसिसीबारे सुझाव लिन कार्यदल

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव लिन सत्तारुढ नेकपाले कार्यदल बनाएको छ । पाँच दिनदेखि राष्ट्रिय सभा गृहमा जारी केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो । यो कार्यदलले आवश्यक सुझाव संकलन र अध्ययनपछि १० दिनभित्रमा नेतृत्वलाई प्रतिवेदन दिनेछ ।

एमसिसीबारे बैठकमा केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेपछि नेकपाले कार्यदल बनाएको हो । उक्त कार्यदलमा एमसिसीको चर्को विरोधमा उत्रिएका नेता भीम रावल पनि सदस्य छन् । कार्यदलको अर्का सदस्यमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि राखिएको छ ।

अमेरिकासँगको सम्झौता अनुसार संसदबाट एमसिसी पारित गराउने रणनीति अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आइतवार साँझ नेकपाका सांसदहरुलाई रात्रि भोज दिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्