प्राविधिकलाई धम्क्याएर योजना पास गराइँदो रहेछ, म त्यसो हुन दिन्न : कुरुम्बाङ



वीरबहादुर कुरुम्बाङ

फिदिम, १७ माघ

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, उपाध्यक्ष देवित्राकुमारी आङ्देम्बे, वडा नं. ७ का वडाध्यक्ष लिलाबल्लभ नेपाल लगायतको टोली गाउँपालिकाको वडा नं. ७ मा सञ्चालित आहालेखोप–शुक्रेटार मोटरबाटो निर्माण योजनाको अनुगमनमा पुग्यो । साथमा गाउँपालिकाका तीन जना प्राविधिकहरु समेत थिए । वडाबाट छुट्टिएको रु. २ लाख ५४ हजार बजेट तथा स्थानीयवासीको २० प्रतिशत जनश्रमदान गरी कुल रु. ३ लाख ४ हजार ८ सयको लागतमा उक्त सडक पूरा गर्नुपर्ने थियो ।

५ मिटर चौडा सडक निर्माण गर्नुपर्ने भएपनि अधिकांश खण्डमा २.५ मिटरदेखि ३ मिटरसम्म मात्रै चौडा सडक निर्माण गरिएको अनुगमन टोलीले भेट्टायो । गाउँपालिका अध्यक्ष सहित अनुगमन टोलीले सडकको चौडा पूरा नभएकाले रकम निकासा हुन नसक्ने र लागत स्टिमेटअनुसार काम हुनैपर्ने वतायो । तर अनुगमनमा खटिएका प्राविधिकहरु बोल्न डराएको पाएपछि अध्यक्ष कुरुम्बाङले यथार्थ खोज्न थाल्नुपयो । विकास, सुशासन र समृद्धिको एजेण्डा लिएर गत उपनिर्वाचनबाट गाउँपालिका अध्यक्ष निर्वाचित कुरुम्बाङले उक्त आयोजनाको अवस्थाबारे विशेष चासो राख्नुभयो । अध्यक्षको चासोपछि पत्ता लाग्यो – उपभोक्ता समितिका पदाधिकारीहरुले गाउँपालिकाका प्राविधिकहरुलाई योजना पास नभएर कुटपीट गर्ने र ज्यान मार्नेसम्मको धम्की दिएका रहेछन् ।

“विगतमा मिलाएर, धम्क्याएर योजना पास गराएर उपभोक्ता समितिका पदाधिकारीहरुले पैसा खाने गरेका रहेछन् । म गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि त्यस्ता वेथिति निरुत्साहित गर्न लागिपरेँ”, अध्यक्ष कुरुम्बाङले भन्नुभयो “प्राविधिकहरुलाई धम्क्याएर योजना पास गराउनेसम्मका हर्कत हुने गरेको पाएँ ।” लागत स्टिमेटभन्दा बाहिर कुनैपनि योजनाको रकम निकासा हुन नदिने र सम्झौताको आधारमा काम गरेकै हुनुपर्ने कुरामा आफू दृढ रहेको अध्यक्ष कुरुम्बाङको भनाई छ ।

उपभोक्ता समितिले योजना निर्माणको काम सम्पन्न भएको वताएपछि गाउँपालिका अध्यक्ष सहितको अनुगमन टोलीमा गाउँपालिकाका सवइन्जिनियर र ओभरसियरहरु महेन्द्र पोखरेल, ऋषिकेश तुम्रोक र बद्री ढकाल सम्लग्न थिए । “हामी पुग्नुभन्दा पहिले नै प्राविधिकहरुलाई योजना पास नगरे ज्यान मार्नेसम्मको धम्की उपभोक्ता समितिका अध्यक्षले दिएछन्”, गाउँपालिका अध्यक्ष कुरुम्बाङले भन्नुभयो, “सम्झौताअनुसारको काम नगर्ने कुनैपनि योजनाको रकम निकासा नगर्न भनेका छौँ ।”

योजनाहरुमा स्टिमेटअनुसारको काम नगरी रकम निकासा गर्ने प्रवृत्ति अन्त्यका लागि निर्यभपूर्वक काम गर्न आफूले कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिएको अध्यक्ष कुरुम्बाङको भनाई छ । स्टिमेटअनुसार काम नहुँदा विकास आयोजनाहरु प्रभावकारी हुन नसकेको तथा कतिपय ठाउँमा दुर्घटना समेत भएको पाइएकाले आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि यस प्रकारका प्रवृत्ति अन्त्य गर्न लागिपरेको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्