शहीदका सपनाको पूर्णताले साँचो सम्मान



मनिषा आचार्य

मनिषा आचार्य

‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपूत मरेर नगए…’ भनेजस्तै दिनहुँ नभका नक्षत्रहरु झरेर सूर्यको दीपक पर्दापण सहित हरेक मानवले आफ्नो दैनिक गृहकार्यको सुरुवात गरेजस्तै नै समृद्ध मुलुक निर्माणका खातिर हरेक ऐतिहासिक कालखण्डमा नेपाली वीर सपुतहरुले आफ्नो ज्यानको उत्सर्ग गरेका छन् । आफ्नो ब्यक्तिगत जीवन, परिवार र समग्रमा आफ्नै ज्यानलाई शुलमा अड्याएर स्वतन्त्रता, समानता र सार्वभौमिकताका निम्ति अबिचलित यात्रामा संघर्ष गर्दागर्दै आफ्नो देह त्यागेको सम्मान र सम्झनाको यो दिन हो माघ १६ गते ।

नेपालका प्रथम सहिद लखन थापा सहित गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द ठाकुरलाई प्रजातन्त्रको पक्षमा वकालत गरि जनतामा भ्रम छरेको अभियोगमा टेकुको शुक्र वृक्ष, सिफलको रुख, खरिको रुख, शोभाभगवती लगायतका स्थानहरुमा निर्ममतापुर्वक हत्या गरिएको थियो ।

शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदानी भएर लोकहितका निम्ति आफ्नो जीवन समर्पण गरेका इतिहासको पानामा र प्रत्येक देशभक्त नगरिककको मन–मनमा बस्न सफल अमर ब्यक्तिहरुलाइ बुझिन्छ । शहीद शब्द आफैँमा गौरवपूर्ण इतिहास बोकेको देशको स्वाधीनता, अखण्डता एवम् लोकतन्त्रका लागि आत्मबलिदान गर्ने वीरत्व गुणयुक्त साथै शहीद आत्मत्सर्ग, निस्ठा,आदर्श, चेतना, वीरता, साहस र समर्पण जस्ता गुण र ती अनुसारका कर्मको पर्यायवाची शब्द हो । सर्वप्रथम मुलुकमा समुल परिवर्तन ल्याउनका लागि भाबी पुस्ता र देशको समग्र सकारात्मक आयाम बदल्नको निम्ति आफ्नो जिवनको कुर्वानी गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रती हार्दिक सम्मान र नमन छ ।

नेपालको प्रजातान्त्रिक इतिहासअनि राणा शासनका विरुद्ध प्रजातन्त्र बहालिका निम्ति शहीदहरुले बलिदानी दिएकोमा २००७ सालमा भएको प्रजातन्त्र पश्चात् पुनः निर्दलीय ब्यवस्था लगायत ०३६ सालको जनमत संग्रह, ०४६ सालमा भएको बहुदलीय प्रजातन्त्रको पुनःस्थापना हुँदै ०६२/०६३ सालको जनयुद्धको समाप्तिसम्म आइपुग्दा नेपाल आमाका धेरै सन्तानहरु शहीद भएका छन् । सरकारले ०६७ असार ९ गते शान्ति तथा पुन स्थापना मन्त्रालयको सिफारिसमा एक हजार छ सय उन्नाइस (१,६१९) जनालाइ सहिद घोषणा गरेको थियो । त्यसपश्चात विभिन्न कालखण्डमा भएका सशस्त्र र हिंसाको फेरिहस्त लामो छ । अझै पनि धेरै नेपालीहरु बेपत्ता पारिएको सूचिमा छनन् । पछिल्लोपटक विभिन्न झै–झगडा र दुर्घटनामा ज्यान गुमाएका ब्यक्तिलाइ समेत शहीद घोषणा गर्नुपर्ने र १० लाख रुपैँया आर्थिक सहयोगका लागि दबाब दिने प्रचलन बढेको छ यसले वास्तविक शहीदको भावनामा ठेस पुगेको छ । शहीदप्रति अपमान भएको छ ।

शहीद दिवस र सप्ताहमा आयोजना हुने बिबिध कार्यक्रमहरुमा हामी शहीद र बेपत्ता योद्धाहरुको सपना पुरा होस्, क्रान्ति पूरा होस्, धोका नहोस्, जनताको सत्ता प्राप्ति होस्, नेपाली जनताले अधिकार पाउन्, देश स्वाधिन बनोस भनेर निःसन्देह यी सम्पूर्ण साझा सुझावहरु छर्ने गर्छौ । यी सुझावहरु पूर्णतः सहि भएतापनि यी सुझावहरुलाई प्राप्ती गर्ने मार्गमा हामी छौँ कि छैनौँ भन्ने हो । भाषणमा ‘हामी सहिदका सपनालाइ पूरा गर्छौँ’ भनिरहँदा वास्तवमा शहीदहरुका सपना के थिए ? ती सपनाहरु अहिले कहाँ अल्मलिएका छन ? तिनीहरुलाई पूरा गर्ने दायित्वबोध गर्न हामी कहाँनेर चुक्यौँ ? ती सपनालाइ पूरा कसरी गर्न सकिन्छ ? शहीद का सपनाहरु पूरा गर्ने बाटोमा थप शहीद भएकाहरुको योगदानको कहाँ र कति कदर भयो ? सामजिक बनोटमा असमानता र विभेद कायम रहेको कुरा यथार्थ हुदाँहुदैँ बिपन्नता र पराधिनता किन हाम्रो नियती बनिरह्यो ? यस्ता प्रश्नहरु आजको आवश्यकता हो ।

मेरो बिचारमा शहीद का सपनाहरु आजको पूँजीवादी, दलाल पुजीवादी समाजलाई परिवर्तन गर्नु, देशमा नयाँ जनबाद हुँदै बैज्ञानिक समाजबाद स्थापना गर्नु, जनतालाई अधिकार सम्पन्न बनाउनु, देशलाइ स्वाधिन बनाउनु र बिश्वका जनताका मुक्तिका निमित्त आन्दोलनलाइ सहयोग पुर्याउनु हुन् । शहीदको सम्मान, माल्यार्पण र मौनधारणले मात्र पुग्दैन । शहीदको सम्मान तब हुन्छ जब उहाँहरुले देखेको सपना पूरा हुन्छ । तर सबैलाई ज्ञात छ हाम्रो देश शहीदका सपना अनुसार परिवर्तन हुन सकेको छैन । आजपनि देशमा पूँजीवादी ब्यवस्था चलाउन खोजिँदैछ । शहीदको त्यागमा खरानी हुँदै गइरहेको, प्रतिक्रियावादीहरु पुनर्जिवित हुन खोज्दैछन् । महान शहीदको मुटु छिया–छिया हुनेगरी गोली दाग्नेहरु र क्रान्तिलाई आतंकवाद भन्नेहरु नै परिवर्तन, गणतन्त्र र समृद्धिको भाषण गरिरहेका छन् । जनतालाइ उहीँ सडे गलेको पूँजीवादी ब्यवस्था भित्र कैदी बनाएर अधिकार पाएको हल्ला फिजाइरहेका छन ।

हिजो दशक अगाडीका प्रायः विभेद, शोषण र दमन अत्याचारका विभिन्न रुपहरु जारी छन् । तिनीहरुले आजसम्म आइपुग्दासम्म साइज त बदले होलान तर सोच बदलिएको छैन । त्यसैले आज शहीदलाई सम्झने प्रक्रियामै परिवर्तन गर्नेतर्फ सोच्न लाग्ने कि भन्नेहरुको बहुमत देखिन्छ । जुन बेला जुन परिस्थितिमा जसले देशको उज्यालो पक्षको निम्ति ज्यान बाजी लगाए उनिहरुलाई राज्यले उचित रुपमा सम्झन जरुरी छ । उनका आश्रित परिवारलाइ भरणपोषण, शिक्षा दिक्षा र उनको योगदानको उचित मूल्यांकन गर्नु आजको आवस्यकता हो ।

शहीदका सपनालाइ साकार पार्ने जिम्मेवारी अब युवा पुस्ताको हो । वर्तमान सन्दर्भमा राष्ट्रियताको विषयमा भिन्न भिन्न खालका बहसहरु चलिरहदा राष्ट्रिय प्रतिरक्षा नै देशभक्त नागरिकको उच्च अभिव्यक्ति हो, युवा पिँढिको सबैभन्दा पबित्र जिम्मेवारी पनि हो । २१औँ शताब्दीका युवा पिँढिले यस सच्चाईलाई उच्च सम्मानमा राख्नुपर्दछ । आफ्नो मातृभूमिका लागि आफ्नो युवावस्थालाई समर्पित गर्दै आफ्नो पुस्ताको जिम्मेवारीलाई इज्जतका साथ पूरा गर्न शसक्त तरिकाले राष्ट्रिय प्रतिरक्षाको अग्रमोर्चामा उभिनु नै शहीदप्रतिको उच्च सम्मान हो । सरकारले गरेका राम्रा काममा पूर्ण समर्थन र साथ दिँदै नराम्रा र देशलाई हानी गर्ने निर्णयका विरुद्धमा आवाज बुलन्द गरेर पूर्ण रुपमा सफल हुन नदिन युवा पुस्ताले नै महत्वपूर्ण भुमिका निर्वाह गर्ने सङ्कल्प गर्नुपर्दछ ।

समृद्ध समाजबादी राष्ट्र निर्माण नै जनताको रगतको मूल्यमा रक्षित देशलाइ अझ समुन्नत बनाउन र नेपाली जनताका सुन्दरतम आदर्शलाई यथार्थततामा रुपान्तरण गर्न संघर्षमा गौरवमय जोश प्रदर्शन गर्न वर्तमान युगका युवाको सबैभन्दा ठूलो सम्मान र गौरबको बिसय पनि हो । अब युवा विद्यार्थीहरुले आर्थिक किल्ला निर्माण गर्ने मेरुदण्ड बन्नुपर्छ । आर्थिक श्रम लाग्ने र कठिनाईका क्षेत्रमा स्वयमसेबी भएर काम गर्न सक्ने ल्याकत राख्नुपर्दछ र उन्नत क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्नुपर्दछ । राष्ट्र निर्माणको क्रममा रहेका धेरै ठूला आकारका तथा पुनःनिर्माणका परियोजनाका क्षेत्रहरुमा पराक्रम देखाउनुपर्दछ । युवाहरुलाइ स्वदेशमै बिज्ञान र प्रबिधिको तिब्रतम युगलाई समेत उछिन्ने र अगाडि बड्न सक्ने सुनौलो अवसर र ब्यवस्था राज्यले मिलाउनुपर्छ । आफ्नो सृजनात्मकता, वौद्धिकता तथा प्रतिभालाई पूर्णतामा बिकास गर्ने युवा बिज्ञान प्रबिधिको अभियानमा लगाउनुपर्दछ ।

हामी युवा विद्यर्थीहरु समुन्नत नेपालका स्तम्भहरु हाँै, हामीले बैज्ञानिक तथा प्राबिधिक शक्ति तथा प्रतिभावान राष्ट्रको रुपमा देशको भविश्यलाइ डोहो¥याउने कामको जिम्मा लिदैँ उत्पादन, उद्घमशिलता तथा सामाजिक, राजनीतिक क्रियाकलापमा सक्रियताका सहभागी हुनुपर्छ । सैद्धान्तिक तथा ब्यवहारिक क्षमता र बिल्कुलै शिीयुक्त क्रान्तिकारी श्रमिकको रुपमा आफूलाई तयार पार्नुपर्दछ ।

अन्त्यमा गणतन्त्र स्थापनाको निम्ति हाम्रा शहीदहरुका मार्गहरु अनुशरण गर्दै हजारौ वीर बीरङ्गनाहरुले ज्यानको आहुती त्यसै दिएका छैनन । आजसम्म देशमा भएका राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणको श्रेय पूर्णतः शहीदहरुलाई जान्छ । शहीदको सपना र समर्पणलाई हामीले कति साकार पार्यौ र कति अधुरै छन् भन्ने हामी सबैले मनन गर्न जरुर छ । शहीदका परिवार, घरहरुको अवस्था दुरदराजमा कस्तो अवस्थामा छ ? बिचार गर्न जरुरी छ । शहीदको सङ्कल्पको छत्रछाया राज्यलाई सधै प्राप्त होस्, शहीदका सपनालाइ साकार पार्न युवापुस्ता अग्रपंक्तिमा रहेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई इमान्दारिताका पूरा गर्न कम्मर कसौँ । शहीदहरु एक कर्मठ देशभक्त नागरिकका लागि मर्यादा हुन्, बिश्वास हुन् ।

(लेखक, अनेरास्ववियूकी केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्