पूर्वमन्त्री जवेगूको कथा संग्रह ‘साप्थबा’ बजारमा



फिदिम, १६ माघ

पूर्वमन्त्री एवं लेखक श्रीप्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन भएको छ । गत शनिबार सातदोबाटो स्थित चुम्लुङहिमा पूर्व सूचना सञ्चार तथा सञ्चार मन्त्री राम कार्की, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, डा. देवी क्षेत्री दुलाल लगायतले कृतिको विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति वैरागी काइलाले नेपाली साहित्यमा मातृभाषाबाट कृतिको नामाकरणले नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले कृतिमा बुनिएको कथाहरु मन छुने रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘श्रीप्रसाद जबेगूको कथा भन्ने तरिका राम्रो छ । राजनीतिमा मात्र होइन उहाँले साहित्यमा समेत ठूलो योगदान गर्न सक्ने सम्भावना छ ।’

पूर्वमन्त्री कार्कीले संग्रहमाथि समिक्षा गर्दै कार्लमाक्सले पनि बाल दागको कवितालाई लिएको तथ्य सबैलाई जानकारी नभएकोले कम्युनिष्टहरु साहित्य, कला र मनोरञ्जनतर्फ ध्यान हुँदैन भन्ने आरोप लाग्ने गरेको तर त्यो गलत भएको बताउनुभयो । उहाँले कार्लमाक्र्स, लेनिन र माओ साहित्यको ठूलो पारखी रहेको समेत उल्लेख गर्नुभयो ।

कार्कीले जातीय विभेद र समस्यलाई जोड्दै इतिहासमा युरोपियन देशमा जस्तो हाम्रोमा जातिय विभेद नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘युरोपियन देशमा जातीय विभेद यतिसम्म थियो कि, सेता मान्छेहरुले काला जातिलाई मारेर अस्पतालमा मेडिकल सम्बन्धि अध्ययन गर्ने विद्यार्थीहरुलाई तिनीहरुको अङ्ग उदाहरणका रुपमा देखाएर पढाउने समेत गर्दथे, नेपालमा भने त्यस्तो अवस्था होइन, तैपनि जातिय विभेद नै छैन भन्ने चाँहि होइन ।’

अर्का समिक्षक डा. देवी क्षेत्री दुलालले नेपाली साहित्य क्षेत्रमा मात्र नभई लिम्बूहरुको योगदान राष्ट्रिय राजनीतिमा पनि इतिहासदेखि वर्तमानसम्म उल्लेख्य रहेको चर्चा गर्नुभयो । मुन्धुमविद डि.बि आङबुङले लिम्बू भाषामा ‘साप्थबा’ भनेको लेखिछोडेको अर्थ हुने उल्लेख गर्दै कथा प्रस्तुतिका दृष्टिकोणले जबेगूका कथाहरु उत्कृष्ट रहेको वताउनुभयो ।

कार्यक्रममा लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगुको राजनीतिक क्षेत्रका संघर्ष, उनको जीवन यात्राका आरोह–अवरोह साथै सफलताबारे पत्रकार सन्दिप राईले बोल्नुभएको थियो । कथाकार जबेगूको यो दोस्रो कृति हो । यस अघि उहाँको निबन्ध संग्रह ‘लिम्बुवान : लिम्बू कि लिम्बुवानवासीको’ २०७३ मा प्रकाशित छ । पुस्तक सन्तवीर नेम्बाङ र शकुन्तला नेम्बाङले प्रकाशित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्