कुम्मायक गोल्ड कपको उपाधि आयोजकलाई



यासोक, ७ माघ

तेस्रो कुम्मायक गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकाले उचालेको छ ।

यासोक स्थित पृथ्वी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा मिक्लाजुङ गाउँपालिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक कुम्मायकले उपाधि उचालेको हो । प्रतियोगितामा पाँचथरका स्थानीय तहहरुबीच प्रतिस्पर्धा भएको थियो ।

फाइनल खेलमा खेलको दोश्रो मिनेटमै कुम्मायकका लागि खेसेहाङ लावतीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै २८औँ मिनेटमा सुनिल सम्बाहाम्फेले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको १५औँ मिनेटमा दिपेश बर्देवाले मिक्लाजुङका लागि गोल गोल गरेका थिए । तर खेलको अतिरित्तः समयमा कुम्मायक गाउँपालिकाका लोकेन्द्र थापाले तेश्रो गोल गर्दै गोल अन्तर अझ फराकिलो बनाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी कुम्मायकका दिनेश शर्मा घोषित भए । उनले रु. १५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकमा कुम्मायककै पाङ्गाम लावती, उत्कृष्ट मिडफिल्डरमा कुम्मायककै हेमन्त दर्नाल, सर्वाधिक गोलकर्तामा कुम्मायककै अभिषेक लिम्बू र उदयमान खेलाडीमा कुम्मायककै लोकेन्द्र थापा घोषित भए । उपविजेता बनेको मिक्लाजुङ गाउँपालिकाका बासुदेव राई उत्कृष्ट डिफेन्डर र दिपेश बर्देवा उत्कृष्ट फरवार्ड घोषित भए । उत्कृष्ट खेलाडीहरुले जनही रु. ५–५ हजार पुरस्कार प्राप्त गरे ।

कुम्मायक स्पोर्टिङ क्लब यासोकले आयोजना गरेको गोल्डकपको विजेताले रु. १ लाख ११ हजार १११ सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मिक्लाजुङ गाउँपालिकाले रु. ५५ हजार ५५५ र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको प्रवद्र्धकमा कुम्मायक गाउँपालिका रहेको थियो । स्थानीय तह स्तरको प्रतियोगिता मार्फत स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्