वृद्धाको बलात्कार र कुटपीट, आरोपित पक्राउ



फिदिम, ५ माघ

पाँचथरको हिलिहाङ गाउँपालिकाकी एक ७२ वर्षीया वृद्धामाथि कुटपीट तथा बलात्कार भएको छ । घटनामा सम्लग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार जिल्लाको हिलिहाङ–७ की ७२ वर्षीया वृद्धामाथि गत शुक्रवार राती कुटपीट तथा बलात्कार भएको हो । घरमा एक्लै वस्दै आएकी वृद्धालाई कुटपीट गरी बलात्कार गरेको र वृद्धाको साथमा रहेको नगद लुटपाट गरेको आरोपमा प्रहरीले मनकुमार योञ्जन तामाङले शनिवार नियन्त्रणमा लिएको छ । सात वर्षअघि श्रीमानको मृत्यु भएपछि वृद्धा घरमा एक्लै थिइन् । स्थानीयवासीका अनुसार उनका सन्तान नभएका कारण आफन्त र छरछिमेकीको सहयोगमा घरमा एक्लै बस्दै आएकी थिइन् ।

शुक्रवार राती वृद्धाले आफ्नो रकम लुटपाट भएको र कुटपीट भएको वताउँदै छिमेकीलाई गुहारेकी थिइन् । उनका छिमेकीले रगत बगिरहेको देखेपछि उनीमाथि बलात्कार भएको आशङ्का गरी सोधपुछ गरेका थिए । पीडित वृद्धाले आफूमाथि कुटपीट भएको, नगद लुटिएको तथा बलात्कार गरेको स्थानीयलाई सुनाएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सम्बन्धले भदा पर्ने मनकुमारले पीडित वृद्धालाई उनका देवरका छोराको घरसम्म पु¥याउन समेत मद्दत गरेका थिए । वृद्धाले आफूमाथि कसले आक्रमण गरेको हो भन्ने थाहा पाएकी थिइनन् । पछि स्थानीयले मनकुमारमाथि शङ्का गरेका थिए ।

स्थानीयले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेपछि प्रहरी नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरले मनकुमारले बलात्कार, कुटपीट र डकैत गरेको स्वीकार गरेको जनाएको छ । आरोपित मनकुमारमाथि जवरजस्ती करणी र डाका चोरी महलमा मुद्दा गर्दा गरी अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । पीडित वृद्धाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । कुटपीटबाट वृद्धाको शरीर र हातखुट्टा सुन्निएका छन् ।

प्रतिक्रिया दिनुहोस्