याङवरक गाँउपालिकालाई कुष्टरोगविहीन बनाउने अभियान



थर्पू, ५ माघ

याङवरक गाउँपालिकालाई कुष्टरोगविहीन बनाउने अभियान सुरु भएको छ । कुष्टरोगविहीन गाउँपालिकालाई निर्माण गर्न सबै वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

यसका लागि गाँउपालिकाको आयोजनामा गाँउपालिकाका ६ वटै वडामा ६०/६० जना वडावासीको सहभागितामा अभिमुखीकरण सम्पन्न गरिएको छ । अभिमुखिकरणमा रोगको पहिचान, रोगीको उपचार तथा कुष्टरोग निवारणसम्बन्धी सचेतना फैलाउन वडावासीलाई अभिप्ररित गरिएको छ ।

यस कार्यक्रमलाई एनएलआर नेपालले सहयोग गरिरहेको छ । यस अभियानमा समुदायमा आधारित पुनस्र्थापना सहजकर्ता, स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सुआहारा कार्यक्रमका कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र गाँउपालिकावासीको सहभागिता छ ।

अभियानअन्तर्गत कुष्टरोगीको पहिचान गर्ने क्रममा हालसम्म याङवरक गाँउपालिकामा तीन जना कुष्ट रोगका विरामी भेटिएका छन् । याङवरक गाँउपालिकालाई नेपालकै पहिलो कुष्टरोगविहीन गाँउपालिका बनाउने उद्देश्यले समावेशी विकास कार्यक्रम अन्तर्गत रु. १ लाख बजेट छुट्ट्याइएको गाँउपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

कुष्टरोग लागेमा शरीरका कुनै पनि भागमा लाटो फुस्रो दाग देखा पर्ने, सो दाग नचिलाउने नदुख्ने, हात खुट्टा लथ्रिने, झमझमाउने, निदाउँदा आँखा बन्द नहुने, दाग देखा परेको शरीरको भागको रौँहरु झर्ने लगायत लक्षण देखापर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । गाँउपालिकाले सबै गाँउपालिकावासीलाई कुष्टरोगविहीन गाँउपालिका बनाउने अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्