‘बजेट अभाव हुँदा जनताले सोचेजस्तो परिवर्तन ल्याउन सकेनौँ’



रहर होस् वा बाध्यता विदेशमा श्रम बेचिरहेका पचासौँ लाख नेपालीहरु अधिकांश युवा छन् । नेपालमा रहनेहरु कि त पूर्णतः बेरोजगार जस्ता छन् कि पेशा ब्यवसायमा जोडिएका छन्, कि त गाउँघरमै बसेर समाज सेवामा खटिएका । आफू कमाउने र परिवार चलाउनेमा मात्रै ब्यस्त नभई निरन्तर समाजसेवा तल्लीन युवाहरुका छुट्टै कथा र सपनाहरु छन् । विहानदेखि साँझसम्म जनताको सेवामा खटिने यस्तै समाजसेवी युवाहरु कोही दलका नेता कार्यकर्ता छन् त कोही जनप्रतिनिधि । रातदिन नभनी जनताको सेवामा खट्ने युवा मध्येका एक हुन् याङवरक गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मविन्द्र योङ्या । ३४ वर्षका योङ्या रातसाँझ, घर परिवार नभनी वडाध्यक्षको रुपमा वडावासीको सेवामा खटिनुभएको छ ।

धान्य पूर्णिमा, उधौली पर्वका दिन तारन्तर वडावासीको फोन आएपछि दिउँसो १२ वजे वडाध्यक्ष योङ्या वडा कार्यालय आइपुग्नु भयो । प्रदेश नं. १ मा उक्त दिन सार्वजनिक विदा भएपनि उहाँले विदा भन्न पाउनुभएको थिएन्, न त वडा सचिवले नै । किनकी धेरै वडावासीलाई उक्त दिन सार्वजनिक विदा भन्ने थाहा थिएन् । विगतमा जस्तो आज विदा हो भनेर पन्छिने मौका योङ्याजस्ता जनप्रतिनिधिलाई थिएन् । वडावासीका विभिन्न सिफारिस तथा प्रमाणितका काम गरिसकेपछि वडाध्यक्ष योङ्या याङवरक सन्देशका प्रतिनिधिसँग कुराकानी गर्न भ्याउनुभयो ।


वडाध्यक्षहरुको जिम्मेवारी स्थानीय तहमा सबैभन्दा बढी र महत्वपूर्ण छ भनिन्छ । नयाँ संरचनामा यहाँले साढे दुई वर्ष वडाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको छ । वडाध्यक्षको जिम्मेवारी कस्तो रहेछ ? कसरी सम्हालिरहनु भएको छ ?

– वडाध्यक्षको जिम्मेवारी एकदमै महत्वपूर्ण छ । मलाई लाग्छ स्थानीय सरकारको एकदमै महत्वपूर्ण स्थान र जिम्मेवारीमा वडाध्यक्षलाई राखिएको छ । काम, कर्तब्य र जिम्मेवारी आफ्नो वडाभित्र हुने नै भयो, सँगसँगै सिङ्गो गाउँ कार्यपालिकाको सदस्यको नाताले सिङ्गो याङवरक गाउँपालिका भरी र यहाँका जनतालाई सेवा दिनका निम्ति रात दिन, विदा नभनिकन नागरिकको आग्रहमा काम गरिरहेका छौँ । यो महत्वपूर्ण जिम्मेवारी वहन गर्न, जनतालाई सन्तुष्टि दिन रातदिन नभनी आफ्नो समयलाई अलिकति पनि तलमाथि नगरी सेवा खटिएका छौँ ।

जनताले पनि कत्तिको महत्वपूर्ण समय दिएको छ भने महशुस गर्नुभएको होला । यसमा धेरै समस्याहरु पनि वडाध्यक्षहरुले झेल्नुपर्ने, सानो गल्ती हुँदा वडाले ठूला समस्या, मुद्दा खेप्नुपर्ने अवस्था आउँदो रहेछ । एकदमै संवेदनशील भएर काम गर्नुपर्ने, संवेदनशील हुँदा पनि कानूनलाई टेकेर काम गर्दै गर्दा त्यस भित्र कानूनी कठघरामा उभिनुपर्ने बाध्यता छ ।

नयाँ संरचनाअनुसार नयाँ ढङ्गले काम गर्ने क्रममा धेरै समस्याहरु झेल्नुपर्ने बाध्यता यहाँले वताउनुभयो । यहाँहरुलाई जिम्मेवारी पूरा गर्ने चुनौति त छँदैछ, अवसर पनि होलान् । वडाको कामलाई अघि बढाउन, यहाँका समस्या र अप्ठ्यारा हल गर्न, चुनौतिहरु सामना गर्न, विकास निर्माण र समृद्धितर्फ अघि बढ्न यहाँलाई वडा समिति, गाउँपालिकाको टिम, कर्मचारी लगायतबाट सहयोग मिलेको छ कि छैन् त ?

– यस्तो सहयोग त प्राप्त हुन्छ । सबैले आ–आफ्नो ढङ्गबाट सहयोग गर्नुहुने भयो । तर सबै ठाउँमा भिन्न मत हुने रहेछन् । भिन्न मतले भिन्न मतलाई सहयोग गर्ने भन्ने नहुने रहेछ । सबैले आफ्नो मत राख्दैगर्दा कुन ठीक र कुन बेठीक भन्ने कुरा नहुने रहेछ । बरु अल्पमत र बहुमतको कुरा हुन्छ गाउँपालिकामा । गाउँ कार्यपालिकाबाट सहयोग नहुने भन्ने होइन् अध्यक्ष, उपाध्यक्ष सहित समग्रमा सहयोग मिल्छ ।

वडालाई समग्रमा समस्या हुन्छ । वडामा पाँच जनाको टिम छ । सदस्यहरुलाई महत्वपूर्ण भूमिका समेत दिइएको छ । तर आम समुदायले सदस्यहरु प्रति त्यत्ति भरोसा राख्नुहुन्न । सिधै वडाध्यक्षसँग सम्पर्क राख्नुहुन्छ । जुनसुकै छलफलमा पनि वडाध्यक्षलाई उभ्याउनुहुन्छ । वडाको न्यायीक समितिमा समेत वडाध्यक्षको उपस्थिति आवश्यक ठानिन्छ । जिम्मेवारीभन्दा बढी भरोसा जनताले वडाध्यक्षलाई गर्नुभएको छ ।

चुनौतिका बावजुत यहाँहरुले जिम्मेवारी वहन गरिरहनुभएकै छ । अढाई वर्षमा यहाँको वडामा के–के महत्वपूर्ण कामहरु भए ?

– समग्रमा याङवरक गाउँपालिका वडा नं. ३ मा प्रदेश र संघीय सरकारबाट ठूला काम भएका छैनन् । अधिकांश गाउँपालिकाबाटै भएका छन् । त्यसमा प्राथमिकताको÷गौरबको योजना भन्ने कुरा थियो । चरिभञ्ज्याङ–बाँनियाडाँडा सडक तीन मिटरको बाटो थियो, त्यसलाई पाँच मिटरको बनाइएको छ । अहिले यहाँ ठूलो गाडी चल्न सम्भव भएको छ । प्रदेशबाट चरिभञ्ज्याङमा सिंढिमार्ग निर्माण भएको छ । त्यसमा ३० लाख बजेट थियो ।

वडाको बजेटको भोल्युम (मात्रा) अत्यन्तै सानो भएकाले वडाबाट जनताले आशा गरेजस्तो परिवर्तन ल्याउन सकिएको छैन् । वडावासीले चाहेको त्यो परिवर्तन ल्याउन बजेटको भोल्युम सबैभन्दा ठूलो कुरा रहेछ । बजेटको भोल्युम बढाउन आवधिक योजना मार्फत सुत्रमा जाने भनेर कोरेका छौँ । सुत्रमा गइसकेको स्थिति पनि छैन् । त्यसैले जनताले आशा गरेको जस्तो पूरै परिवर्तन गर्न सकिएको छैन् । केही झिना मसिना समस्याहरु वडाको बजेटबाट समाधान गरिएका छन् । अत्यन्तै आवश्यक भएको ठाँउमा दुई÷चार घरलाई खानेपानी, बाटो नपुगेको ठाँउमा १५÷२० घरका लागि केही सडक पु¥याइएको छ, मठ मन्दिरसम्म बाटो पु¥याइएको छ । वडाको बजेटले जनताले आशा गरेजस्तो पूरै हराभरा निर्माण गर्न सकिन्न । बाहिरबाट पनि त्यत्ति धेरै बजेट आएको छैन् । ल्याउने प्रयत्न र कोशिस चाँही जारी छ ।

वडा नं. ३ विकास र समृद्धिका सम्भावनाहरु र चुनौतिहरु के–के छन् ? यी क्षेत्रहरुमा के कसरी काम अघि बढाइरहनु भएको छ ?

– यहाँ कृषिमा नै सबैभन्दा ठूलो सम्भावना छ । अलैंची, अदुवा, अम्लिो, दूग्धजन्य पदार्थको उत्पादनको प्रशस्त सम्भावना छ । उत्पादन पनि भइरहेको छ । सबै नगदेवाली यहाँ उत्पादन हुन्छ । याङवरक गाउँपालिकाका बाँकी पाँच वटा वडाहरुमा भन्दा वडा नं. ३ एक्लैमा बढी अलैंची उत्पादन हुन्छ । त्यसलाई अझै सुधार गर्न, कृषकहरुलाई उत्साहित गर्न स्थानीय सरकारले केही बजेट ल्याएपनि त्यो प¥याप्त छैन् । अलैंचीको मूल्य निरन्तर घटबढ हुने र मूल्य एकदमै कम हुँदै गएकाले कृषकहरु एकदमै निराश छन् ।

दोश्रो कुरा पर्यटनमा हो । यी दुई कुरामा लगानी गर्न गर्न सकियो भने याङवरक गाउँपालिका वडा नं. ३ मा धेरै सुधार गर्न सकिन्छ ।

कृषिमा सुधार ल्याउन मैले कृषकहरुसँग धेरै कुराकानी, छलफल गरेको छु । कृषकहरुको मनशाय चाँही पुरानो स्थितिबाट परिवर्तन गर्न गाह्रो छ । परिवर्तन गर्न कठीन छ । धान रोप्ने ठाउँमा आलु, अदुवा, कोपी, सागहरु उत्पादन गर्न सके बाहिरबाट साग शब्जी ल्याउनु पर्दैन् । ओयाम बजार छेउको बेंसीबाटै बर्षदिनलाई पुग्ने आलु उत्पादन गर्न सकिन्छ, मधेशबाट ल्याइरहनु पर्दैन् । तर केही ब्यक्तिले मात्रै यहाँ चामल खरिद गर्नुहुन्न । धानलाई नै प्रयोग गर्ने, यसैलाई बेच्ने गर्नुहुन्छ । तर त्यसले आर्थिक स्थितिमा सुधार ल्याउँदैन् । नगदेवाली र शब्जी लाउनसके सिङ्गो वडालाई एउटा बेंसीले पाल्ने थियो । यहाँ कृषि नै प्रमुख आधार हो ।

केही समुदाय चाँही अहिले उत्साहित भएर पशुपालनमा लाग्नुभएको छ । ७ वटा बाख्रा फर्म र एउटा गाई फर्म यहाँबाट दर्ता भएका छन् । पशु र कृषिमै अवको भविश्य छ भन्ने चेतना भएका साथीहरु अघि लाग्नुभएको छ । तर सबैलाई समेट्न चाँही गाह्रो छ । अब गाउँपालिकाले नै कृषि जोन बनाएर काम र लगानी सुरु ग¥यो भने कृषकहरुलाई परिवर्तन गरेर आर्थिक स्तर सुधार गर्न सकिन्छ ।

यी आम सम्भावनाहरुका निम्ति उपल्ला निकायमा पहल गर्ने विषयमा वडा र गाउँपालिकाले कति ध्यान पु¥याएको छ त ?

– यस विषयमा छलफल भइरहेका छन् । कृषिलाई प्राथमिकतामा राखिएको छ । सुत्रमा राखेर लगानी गर्ने तयारी पनि छ । तर माथिल्ला निकायमा पहल गर्ने विषयमा धेरै छलफल भएको छैन् र तयारी पनि उचित छैन् । माथिल्ला निकायमा कति बजेट मागिएको छ ? कुन माग उपयुक्त र गाउँपालिकावासीको हितमा छ भनेर प¥याप्त तयारी भएको हुँदैन् । यसले गर्दा याङवरकको आवश्यकता पूर्ति गर्न फाइलहरु अघि बढाइनु र सोही अनुशारको बजेट भित्र्याइनु आवश्यक छ । तर अहिलेसम्म हामी उत्साहित हुने गरिको बजेट भित्रिन सकेको छैन् । माग्ने क्रममा अलि प्रभावकारी समिति निर्माण नहुँदा नागरिकका आवश्यकता पूरा हुन सकेका छैनन् । माथिल्ला निकायबाट समेत प्रभावकारी बजेट पठाउने काम भएको छैन् ।

गाउँ कार्यपालिकाबाट सिङ्गो याङवरक गाउँपालिका सञ्चालनका सन्दर्भमा वडाध्यक्षहरुको भूमिका कस्तो रहेको छ ?

– वडाध्यक्षहरुको भूमिका महत्वपूर्ण हुनुपर्ने हो । याङवरकमा प्रमुख छ वटा विषयगत क्षेत्रहरु छन् । विषयगत समिति नै गाउँपालिका अघि बढाउन मिहिन छलफल गर्ने स्थान हुन् । त्यहाँको नेतृत्व वडाध्यक्षहरुलाई नै दिनुपर्ने अन्य स्थानीय तहको अभ्यास भएपनि यहाँ पूर्णत त्यो लागू भएको छैन् । त्यसमा विभेद भएको हाम्रो अनुभूति छ । स्वभावैले वडाध्यक्षले जिम्मेवारी नपाउँदा विषयगत समितिहरु कमजोर भएको हाम्रो महशुस छ । विषयगत समिति रफ्तारमा नहुँदा गाउँपालिकाको गति समेत धिमा हुन सक्ने हाम्रो चिन्ता हो ।

यहाँहरु नागरिकको सेवा निरन्तर खटेका छौँ भन्नुहुन्छ । तर यहाँहरुसँग नागरिकको प्रतिक्रिया चाँही कस्तो पाउनुभएको छ ?

– अहिलेसम्म अधिकांश सेवाग्राहीहरुबाट सेवा सुविधा पाएको कुरा आउने गर्दछ । केही सिमति मान्छेहरुबाट सेवा प्रवाह कमजोर भएको आवाज आउँछ । तर मेरो झोलामा एउटा छाप सधैँ हुन्छ । सचिवले तयार पारेको सामग्रीमा मैले घर, बाटो नभनी काम गरेको, सेवा दिएको छ । मैले धेरै असन्तुष्टि आजसम्म भेटेको छैन् । सर्वसाधारण जनताको काम सबै गरेको छु र उहाँहरु सन्तुष्ट हुनुहुन्छ भन्ने मेरो अनुभूति छ ।

पूर्वाधार निर्माणलाई सबै तहका जनप्रतिनिधिहरु केन्द्रीत भएको गुनासो छ । खर्च भएको बजेटको मात्राले पनि त्यसलाई पुष्टि गर्दछ । जनताको आयआर्जनमा वृद्धि गरेर सुखी बनाउनेतर्फ ध्यान नपुगेको गुनासो सुन्न थालिएको छ । यहाँको वडा र समग्र याङवरक गाउँपालिकामा आयआर्जन बढाउनेतर्फ कति ध्यान पुगेको छ ?

– समग्रमा हामी आयआर्जनमा केन्द्रीत हुन्छौँ । तर बजेट विनियोजन गर्दा त्यो सोचअनुसार काम गर्न सकिँदैन् । किनभने हाम्रो टिमले आम जनसमुदायको समस्या टिपोट गर्छौँ । कतिपय निवेदन पनि आउँछन् । यसरी समस्या र आवश्यकताको टिपोट गर्दैगर्दा ९० प्रतिशत चाँही खानेपानी, सडक, पाइपको माग हुन्छ । १० प्रतिशतमा पनि पूरै आयआर्जनका कार्यक्रमको माग हुँदैन् । अघिल्लो वर्ष हामीले ५ सय वटा माग टिपोट गर्दा कृषि र शिक्षासम्बन्धी कुनैपनि माग थिएनन् । विद्यालयहरुले आफ्ना माग राख्नुहुन्छ । समग्रमा सबैको माग बाटो, खानेपानी हुन्छ ।

त्यही मागलाई प्राथमिकतामा राखेर जानुपर्छ । हामीले बजेट राख्न खोज्छौँ, तर वडावासीले त्यो गर्न इच्छा देखाउनुहुन्छ । हामीले सोचेभन्दा विपरित हुने गर्छ । आर्थिक स्तर सुधारका लागि हामीले जो सोचेका हुन्छौँ, बाहिर जनताको मागसँग ठ्याक्कै विपरित हुँदा ब्यवहारिक रुपमा आयआर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न सकिएको छैन् ।

यहाँको भनाइअनुसार गाउँपालिकाबाट बजेट पनि कम आयो, सिलिङ पनि घट्यो । प्रदेश र संघबाट पनि योजना आउन सकेनन् । अव यहाँको विकास निर्माण, पूर्वाधार निर्माण र आयआर्जन वृद्धिका लागि यहाँले अब के गर्ने योजना बनाउनुभएको छ त ?

– याङवरक गाउँपालिकाका छ वटा वडाहरु मध्ये तीन नम्बर वडा सबैभन्दा बढी जनसंख्या भएको वडा हो । त्यसमध्ये पनि याङवरक गाउँपालिका वडा नं. ४, ५ र ६ मा विकासका धेरै कामहरु भइसकेका छन् । अब अरु तीन वटा वडाहरुमा धेरै काम गर्नुपर्ने आवश्यकता छ । यी तीन वटा वडामा प्रदेश र संघबाट पनि खासै योजना आएका छैनन् । मैले पटक–पटक गाउँपालिकामा राखेको कुरा के हो भने यी तीन वटा वडाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यहाँ धेरै जनसंख्या छ, धेरै राजश्व उठ्छ, गाउँपालिकाले धेरै आम्दानी लिएपछि धेरै लगानी पनि गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

र, अब मेरो मुख्य प्राथमिकतामा कृषि हुन्छ । कृषिमा पनि कृषकहरु उत्साहित हुनुपर्छ, हामीले यहाँ काम ग¥यौँ, काम गर्छौँ भन्नुप¥यो, त्यहाँ बजेट ल्याउने प्रयत्न गरिन्छ । कृषि जोन बनाउन सकियो भने वडाको बजेटले पनि धेरै काम गर्न सकिन्छ । तर कृषकहरु अझसम्म परिवर्तन हुन सक्नुभएको छैन् । मेलै धेरै पटक भनेको छु । कृषकहरुबाट कार्यक्रम नआउँदा हामी वडाले मात्रै कृषिमा बजेट छुट्याउँदा त्यो बजेटको प्रभावकारिता र कार्यान्वयनमा समस्या आएको हुनाले पूर्वाधार विकल्प बनेको हो । बर्थिङ सेन्टर पनि नभएको ठाउँ यहाँ स्वास्थ्यको स्तरीय भवन बनाउँदैछौ । वर्थिङ सेन्टर सुरु भएको छ । शिक्षामा गुणस्तर अभिवृद्धिको पहल भइरहेको छ र विस्तारै सुधार आउँदैछ । मेरो विशेष प्राथमिकता र फोकस चाँही कृषिमै छ ।

अन्त्यमा, यहाँले भन्न छुटाउनुभएका र यहाँले वडावासी तथा गाउँपालिकावासीलाई दिनुपर्ने सन्देश के छ ?

– विशेषत वडावासीको समस्या मैले माथि नै उठाएको छु । सबै वडावासीहरुले आफूले आर्थिक उन्नति कसरी गर्न सकिन्छ भनेर अब सोच्नुपर्छ । पशुपालन, कृषि, उद्योग, डेरी लगायत क्षेत्रमा आफू आफैँमा बलियो बन्न म सबैलाई आग्रह गर्दछु । कृषि क्षेत्रमा नयाँ ढङ्गबाट लाग्न म सबैमा अपील पनि गर्दछु । र, त्यसमा मैले के–के सहयोग पु¥याउनुपर्छ, कुनैपनि कसर बाँकी नराखी, कुनैपनि कन्जुस्याईँ नगरी सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु । कृषिमा अलिकति आधुनिकीकरण तर्फ लागिदिन म आग्रह गर्दछु । हाम्रो वडा नं. ३ मा पशुपालन र कृषिमा सुधार ल्याऔँ, परिवर्तन गरौँ भन्न चाहन्छु । (याङवरक गाउँपालिकाको मासिक मुखपत्र ‘याङवरक सन्देश’बाट साभार)

प्रतिक्रिया दिनुहोस्