प्रधानमन्त्रीको घर जाने बाटो



फिदिम, ६ माघ

धेरै सुनिएको, चिनिएको ठाउँ तेह्रथुमको आठराई । आठराई नै पूर्वी नेपालमा राजनीतिक/सामाजिक परिवर्तनको ज्योती छर्ने ठाउँ पनि हो । नामको उज्यालो आठराई विकासले भर्खर उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतिकरण पनि अघि बढेको छ । बसाँईसराईले उजाडिएका आठराई उजिल्याउन चुहाँनडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ ।

यही आठराई गाउँपालिकाको छातेढुङ्गाबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग छोडेपछि नौ किलोमिटर यात्रा गरेर मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा आलीको जन्मथलो पुगिन्छ । प्रधानमन्त्री ओली जन्मे हुर्केको, पञ्चायत विरुद्धको आन्दोलनको चेतना पाएको र क्रान्तिमा सम्मिलित भएको ठाउँ पनि आठराई नै हो । प्रधानमन्त्री ओलीले विभिन्न सन्दर्भ र कुराकानीमा आठराईसँग जोडिएका किस्साहरु वताउने गर्नुभएको छ ।

तर केही महिना अघिसम्म मुलुकका कार्यकारी प्रमुखको जन्म घरसम्म मोटरबाटो पुगेको थिएन् । भर्खरै उहाँको जन्म घरसम्म सानो मोटरबाटो पु¥याइएको छ । गत साता मध्यपहाडी लोकमार्गको अवलोकनमा आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली आठराईको छातेढुङ्गाको हात्तिपोखरीबाट ओलीको जन्म घर लाग्यो । सवारी साधनले निकै कष्टसाथ करीब ६ किलोमिटर दूरी पार गरेपछि अघि बढ्न सकेनन् । सवारी चालकहरु भन्दै थिए – यो बाटोमा राम्रोसँग घुम्ती मोड्न पनि पुग्दैन् ।

अघिल्लो रात पानी परेकाले आठराई गाउँपालिका–४ इवाको रातो माटोमा सवारी अघि बढ्न सकेनन् । घुम्तीमा गाडी भासिने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले गाडी अघि नबढाउन भन्नुभयो । गाडीबाट उत्रेर उहाँ पैदल अघि बढ्नुभयो । हिलाम्य बाटो राम्रोसँग हिड्न मिल्ने अवस्था समेत थिएन् । उहाँको साथमा करीब रु. डेढ खर्ब विकास बजेट रहेको उक्त मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक अशोककुमार शर्मा, सांसद्द्वय भवानीप्रसाद खापुङ र घनश्याम खतिवडा पछि लाग्नुभयो ।

केही समथर ठाउँमा छ प्रधानमन्त्री ओलीको जन्म घर । उहाँको जन्म घरलाई आठराई क्षेत्रलाई जस्तै उज्यालो पार्ने प्रयत्न भइरहेको छ । विकासको गतिले उज्यालो बनाउन मद्दत पनि गरिरहेको छ । तर सिङ्गो गाउँ भने उजाड छ । बसाईँसराईले अलि वरपरका पाखा बारीहरु समेत बाँझिन थालेका । पारीपट्टि पाँचथरको हिलिहाङमा मध्यपहाडी लोकमार्ग र तमोर कोरिडोरको ठूलो ट्र्याक देखिएपनि प्रधानमन्त्रीको गाउँ भने सुनसान् छ । “गाउँमा पालतो मात्रै मान्छे भेटिने रहेछन्”, तेह्रथुमका सांसद् भवानीप्रसाद खापुङले भन्नुभयो । पूर्वी पहाडबाट बढ्दो बसाँईसराईको मारमा प्रधानमन्त्रीको गाउँ समेत परेको छ ।

खरले छाएको, ढुङ्गा, माटो र काठले बनेको प्रधानमन्त्री जन्मेको घर अघिल्तिर उहाँकै परिवारले टिनको छानो भएको ठूलो घर निर्माण गरेका छन् । यी दुई घरभन्दा करीब ५० मिटर पर प्रधानमन्त्री ओलीको ब्यक्तिगत लगानीमा हालैमात्र हेलिप्याड निर्माण सम्पन्न भएको छ । त्यहाँसम्म सानो कच्ची बाटो पुगेको छ । “सबै मानिसहरुले तेह्रथुममा, आठराईमा केही हुन्छ भने अहिले हुन्छ भन्ने गरेका छन् । यही धर्तीको छोरो यो देशको कार्यकारी प्रमुख हुनुुहुन्छ”, सांसद् खापुङले भन्नुभयो, “केही होला भन्ने आशा पलाउन थालेको छ । भर्खर त प्रधानमन्त्री ज्यूको घरसम्म बाटो पुग्दैछ ।” प्रधानमन्त्रीले आगामी फागुन ११ गते आफ्नो ६८औँ जन्मदिन मनाउन जन्मथलो आउने मनसाय ब्यक्त गरेपछि पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीयवासीको भनाई छ ।

पहाडहरु कसरी उजाडिँदैछन् भन्ने राम्रो प्रमाण प्रधानमन्त्री स्वयंको जन्म गाउँले देखाउँछ । वारीमा सुन्तलाका रुखहरु छन् । पुराना रुखहरु सुक्दै गएका छन्, तर नयाँ विरुवा हुर्किएको पाइन्न । किनकी गाउँमा काम गर्ने मान्छे नै नभेटिने अवस्था रहेको स्थानीयवासी वताउँछन् । दोश्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीको जन्म घरमा भर्खर सडकको ट्र्याक पुगेको छ भने अरु गाउँहरुको हालत यसै बुझ्न सकिन्छ ।

यहाँकी विष्णुमाया भुसालको परिवारले प्रधानमन्त्रीको घरलाई उज्यालो बनाउन मद्दत गर्नुभएको छ । घर, आँगन गोबर माटोले लिपेर चिटिक्क पारिएको छ । “हामीलाई कमाई गरिखान बर्सौँदेखि यी घरहरु छोडिएका छन्”, भुसालले भन्नुभयो, “पहिले विक्री गरिएका यहाँका अन्य घर जग्गा प्रधानमन्त्री ज्यूको पहलमा पुनः खरिद् गरिएका छन् ।”

प्रधानमन्त्री ओलीको परिवार २०२८ सालमा बसाँई सरेर झापा गएको थिए । राजनीतिक आन्दोलनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो जन्म थलोबारे प¥याप्त ध्यान दिन नपाएको स्थानीयवासी वताउँछन् । लामो संघर्षबाट अन्य प्रधानमन्त्रीभन्दा फरक अवसर प्राप्त गर्नुभएका प्रधानमन्त्री ओलीकै अगुवाईमा मुलुकमा विकास र समृद्धि जग वस्नेमा पनि स्थानीयवासी ढुक्क देखिन्छन् । धेरै स्थानीयवासी प्रधानमन्त्रीको जन्म थलो एक विशिष्ट स्थानको रुपमा विकसित हुने अपेक्षामा देखिन्छन् ।

पछिल्लो पटक २०६९ सालमा प्रधानमन्त्री ओली जन्मघर आइपुग्नु भएको थियो । अहिले उहाँको जन्म घरलाई संग्रहालयको रुपमा विकास गर्ने तयारी भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आठराई गाउँपालिकाका इन्चार्ज भीम घिमिरेका अनुसार उक्त संग्रहालयमा ओलीसँग सम्बन्धित सम्पूर्ण सामग्री राख्ने तयारी गरिएको छ । उहाँको बाल्यकालदेखिका विषय समेट्न खोजी कार्य भइरहेको घिमिरले वताउनुभयो । यस्तै ‘केपी शर्मा ओली ट्रष्ट’ले यहाँ कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि २०० रोपनी जमिन खरिद् गरिसकेको छ । अझै २०० रोपनी जमिन खरिद्को प्रकृयामा रहेको ट्रष्टले जनाएको छ । कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषिको आधुनिकीकरणका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो ।

जीर्ण अवस्थामा पुगेको ओलीको जन्म घरलाई परम्परागत रुपमै राख्दै संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग छ । प्रधानमन्त्री ओलीको जन्म घर एक ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास हुने भएका कारण यहासम्म कालोपत्रे सडक, विद्युत, खानेपानी, सिंचाई जस्ता पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरुको भनाई छ । गाउँलाई जीवन्त राख्न गाउँबाट बसाईँसराई रोक्नु अत्यावाश्यक रहेको स्थानीय विनोद सिलवालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्