प्रत्येक घरको पूर्ण विवरण गाउँपालिकासँग रहने



थर्पू, ५ माघ

याङवरक गाउँपालिकाले गाउँपालिका भित्रका सबै घर परिवारको पूर्ण विवरण तयार पार्दैछ । यस्तै सबै घरहरुको पहिचानका लागि अङ्कमा रहेको घर परिवार परिचय कार्ड प्रत्येक घरमा टाँसिएको छ ।

गाउँपालिकाले प्रत्येक घरधुरीको तथ्याङ्क सहितको सम्पूर्ण विवरण तयार पारेको छ । यस्तो विवरणमा प्रत्येक घरको परिवार संख्या, बस्दै आएको स्थान, चलअचल सम्पतिको विवरण, आयआर्जनको माध्यम र अवस्था, परिवार सञ्चालन खर्च, प्रत्येक परिवारको भाषा, धर्म, शैक्षिक अवस्था, स्वास्थ्य अवस्था, अपाङ्गता सहितको विवरण तयार पारिएको हो ।

यस प्रकारको वस्तुगत स्थितिले गाउँपालिका भित्र विकासको कार्य अघि बढाउन, कुनैपनि नीति तर्जुमा गर्न तथा आवधिक योजना कार्यान्वयन गर्न सघाउ पुग्ने गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाई छ । यस्तै यस तथ्याङ्कले सबै बालबालिका विद्यालय गए नगएको सुनिश्चित गर्न सघाउ पुर्याउने छ ।

वस्तुगत विवरणमा रहेको घर नम्बरका आधारमा प्रत्येक घरमा घर नम्बर सहितको सानो सङ्केत पाटी टाँस गरिएको छ । जसमा घर नं १–०९–०१–०१ देखि ६–०१२३ उल्लेख छ । यस्तै घर मुलिको नाम, टोल छुट्टयाइएको छ । वस्तुगत विवरणका यी सङ्केत नम्बरको अर्थ १ ले प्रदेश नं. १, ०९ ले पाँचथर जिल्ला, ०१ ले याङवरक गाउँपालिका र त्यस पछिका अङ्कले घर नम्बर पहिचान गराउँछ ।

यसरी वस्तुगत विवरण सङ्कलन गर्ने तथा घरमा सानो सङ्केत पाटी टाँस गर्ने कार्य वडा नं. २, ४ र ६ मा सम्पन्न भइसकेको छ भने अन्य वडाहरुमा चलिहरकोे छ । एनएलआर नेपालको प्राविधिक सहयोग तथा याङवरक गाउँपालिकाको लगानीमा यो कार्य सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्