प्रदेश नं. १ मा चार जना राज्यमन्त्री नियुक्त



फिदिम, ५ माघ

प्रदेश सरकार गठन भएको करीब दुई वर्षपछि मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश नं. १ को मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्दै प्रदेश सरकारमा चार जना नयाँ राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

आइतवार नियुक्त राज्यमन्त्रीमा इलामका रामबहादुर राना मगर, ओखलढुङ्गाका अम्बिरबाबु गुरुङ, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहनुभएको छ । जसमा मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री र विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको ।

मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश सभा सदस्यलाई राज्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष गरेको सिफारिस अनुसार उहाँहरूलाई राज्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफ्नै मातहत राखी ४ जना राज्यमन्त्री नियुक्तिको सिफारिस गर्नुभएको थियो ।

यस अघि रहेको ५ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियत रहनुभएको छ ।

नवनियुक्त राज्यमन्त्रीहरू मध्ये मगर, गुरुङ र गजमेर पूर्व एमालेबाट हुनुहुन्छ भने भने विश्वास पूर्व माओवादीबाट हुनुहुन्छ । यस्तै संविधानले महिलाको ३३ प्रतिशत राज्यको हरेक निकायमा सहभागिताको सुनिश्चितता गरेको भए पनि प्रदेश सरकारमा बल्ल एकजना महिला पर्नुभएको । मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तारको ‘आइस ब्रेक’ भएको र अब चाँडै अन्य खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्