तमोर जलाशययुक्त आयोजनाको निर्माण कार्य दुई वर्षभित्र सुरु हुने



फिदिम, ५ माघ

७६२ मेगावाटको जलाशययुक्त तमोर जलविद्युत आयोजना निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन सुरु गरी २ वर्षभित्र निर्माणको चरणमा पुर्याउने सहमति भएको छ ।

लगानी बोर्ड र पावर कन्ट्रक्सन कर्पोरेशन अफ चाइना लिमिटेड (पावर चाइना) बीच आइतबार समझदारीपत्र लेनदेन (एमओयू) भएको हो । समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र पावर चाइना युरो एसियाका भाइस प्रेसिडेन्ट पान डेन्ग्युले एमओयूमा हस्ताक्षर गरेका छन ।


चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा असोज २६ गते तमोर आयोजना संयुक्त लगानीमा बनाउन पावर चाइना र नेपालको एचआईडीसीएलबीच समझदारी भइसकेको छ । तमोर बनाउन पौने २ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजना बनाउन नेपालमा बेग्लै कम्पनी स्थापना हुने छ । तमोरमा न्यूनतम २६ प्रतिशत नेपाली लगानी सुनिश्चित गरिएको छ। नेपालीले ५१ प्रतिशतसम्म लगानी गर्न सक्ने छन ।


पावर चाइना र एचआईडीसीएलले प्रतिस्पर्धाबाट तमोर पाएका हुन् । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य काम पावर चाइनाले गर्ने छ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) खाकामा यो आयोजना निर्माण प्रस्ताव गरिएको हो ।


गत चैत १५ र १६ गते सम्पन्न लगानी सम्मेलनमा ऊर्जामा सोही आयोजनाका लागि दुईवटा प्रस्ताव प्रस्तुत भएका थिए । गत साउन १६ गतेको बोर्ड बैठकले एचआइडीसीएल, पावर चाइना संयुक्त र कतारको नेब्रस पावर तथा जापानको फुजी इलेक्ट्रिकलाई छनोट गरी प्रस्ताव माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्