साविक याङनाम गाविस अध्याँरोमुक्त घोषित



फिदिम, २९ पुस

पाँचथरका दुई वडाका एक हजार ३६५ घरमा विद्युत विस्तार गरी यी वडाहरुलाई अध्याँरोमुक्त वडा घोषणा गरिएको छ ।

हाल फिदिम नगरपालिका वडा नं. १० तथा फालेलुङ गाउँपालिका वडा नं. ८ पर्ने साविक याङनाम गाविसका सबै घरहरुमा विद्युतिकरणको कार्य पूरा भएपछि अध्याँरोमुक्त वडा घोषणा गरिएको हो ।

हालै यहाँ आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले दुई वटा वडाहरुलाई अध्याँरोमुक्त वडा घोषणा गर्नुभयो । दुई वडालाई अध्याँरोमुक्त घोषणा गर्दै मन्त्री नेम्वाङले पाँचथर जिल्लालाई निकट भविश्यमै अध्याँरोमुक्त घोषणा गर्ने उद्देश्यसहित विद्युतिकरणको कार्य तीब्र गतिमा अघि बढेको वताउनुभयो ।

स्थानीय प्रगति ग्रामीण विद्युत सहकारी संस्थाको अगुवाईमा सामुदायिक विद्युतिकरण कार्यक्रमअन्तर्गत यी वडामा विद्युत विस्तार गरिएको हो । रु. ५ करोड २९ लाखको लागतमा १ हजार ३६५ घरमा विद्युत विस्तार गरिएको सहकारीका सदस्य होमराज थाम्सुहाङले जानकारी दिनुभयो । दुई वर्ष अघिबाट सुरु भएको विद्युतिकरणको काम पूरा हुन लागेको उहाँको भनाई छ ।

सहकारीले यहाँका अतिविपन्न ४९ परिवारलाई विद्युतिकरणमा सहुलियत समेत प्रदान गरेको छ । कमजोर आर्थिक अवस्थाका ती घर परिवारलाई सहकारीको शेयर खरिद वा निशुल्क विद्युत जडानको कार्य मध्ये एकमा छुट दिइएको सहकारीका अध्यक्ष अमरकुमार लावतीले जानकारी दिनुभयो । कुनैपनि घर परिवारलाई अध्याँरोमा रहन नदिन विद्युतिकरणमा सहुलियत प्रदान गरिएको उहाँको भनाई छ ।

सामुदायिक विद्युतिकरण कार्यक्रमको मापदण्डअनुसार यहाँ विद्युतिकरणका लागि स्थानीयवासीले सङ्कलन गर्नुपर्ने १० प्रतिशत रकम सङ्कलन गर्न नसकेपछि मन्त्री नेम्वाङले सांसद् समेत नरहेको अवस्थामा ब्यक्तिगत रुपमा रु. २ लाख रकम उपलब्ध गराउनुभएको थियो ।

नेम्वाङकै पहलमा विद्युतिकरणको कार्य अघि बढेको र उहाँले ब्यक्तिगत आर्थिक सहयोग समेत गरेको भन्दै उहाँलाई फिदिम नगरपालिका वडा नं. १० तथा फालेलुङ गाउँपालिका वडा नं. ८ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय कमिटीले सम्मान समेत गरेका थिए ।

स्थानीय अगुवा एवम् राप्रपा नेता प्रेमराज थाम्सुहाङले मन्त्री नेम्वाङकै पहलमा विद्युतिकरणको कार्य द्रूत गतिमा अघि बढेको र उहाँबाटै उज्यालो वडा घोषणा गर्ने अवसर प्राप्त भएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्