पूर्वका पाँच मुख्य सडक प्राथमिकतामा



फिदिम, २८ पुस

सरकारले पूर्वी पहाडका पाँच वटा मुख्य सडक निर्माण कार्यलाई विशेष प्राथमिकतामा राखेको छ ।

एक महिना अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएका पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सदस्य वसन्तकुमार नेम्वाङले पूर्वी पहाडमा पाँच वटा सडक निर्माणमा विशेष चासो राख्नुभएको हो । उहाँले मन्त्रालयको टोलीलाई नै स्थलगत निरीक्षणमा ल्याई यी सडकको निर्माणमा चासो देखाउनुभएको हो ।

र्वी पहाडी जिल्लाको पुस २३ गतेदेखि २६ गतेसम्म भ्रमण गर्दै मन्त्री नेम्वाङले यी सडक निर्माण तथा समयमै काम पूरा गर्न सरकारी निकाय, स्थानीय तह र निर्माण ब्यवसायीसँग छलफल समेत गर्नुभएको छ । मन्त्री नेम्वाङले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वी खण्ड, ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरसम्म पुग्ने सडक, उत्तर–दक्षिण तमोर कोरिडोर सडक, मदन भण्डारी लोकमार्ग र राँके–रबी–भेडेटार सडक निर्माणमा विशेष चासो देखाउनुभएको हो ।

नेम्वाङले तेह्रथुम र पाँचथरका विभिन्न खण्डमा मध्यपहाडी लोकमार्ग निर्माणको अवस्थाको अवलोकन गर्नुभयो । निरीक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा समेत सहभागी हुनुहुन्थ्यो ।

मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड कालोपत्रे भइसक्नु पर्ने भएपनि हालसम्म कतिपय स्थानमा ट्र्याक खोल्ने काम मात्रै पूरा भएको पाइएको भन्दै मन्त्री नेम्वाङले असन्तुष्टि ब्यक्त गर्नुभयो । “निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ । जनस्तरबाट पनि गुनासा आएका छन्”, मन्त्री नेम्वाङले भन्नुभयो, “पूर्वी पहाडमा निर्माणाधीन आयोजनाहरुलाई निर्धारित समयमै पूरा गर्न यहाँका समस्या बुझ्न स्थलगत अवलोकन गरेका हौँ ।”

नेम्वाङले यस लोकमार्गको तेह्रथुम र पाँचथरका विभिन्न खण्डको अवलोकन गर्नुभयो । उहाँले मध्यपहाडी लोकमार्गको उद्गम विन्दू रहेको पाँचथरको याङवरक गाउँपालिकाका जनप्रतिनिधिहरुसँग यो सडकको निर्माणको अवस्थाबारे जानकारी लिनुभयो ।

यस्तै २०७२ सालमै निर्माण सुरु भएको ताप्लेजुङ–पाथीभरा सडक निर्माणले गति लिन नसकेकोप्रति मन्त्री नेम्वाङले असन्तुष्टि ब्यक्त गर्दै यो आयोजना निर्माण कार्यलाई गति दिन पहल गरिने वताउनुभयो ।

“२०७२ सालमै सुरु भएको र बजेट पनि छुट्टिएको यो आयोजना अघि बढ्न नसक्दा तीर्थयात्रीले ठूलो सास्ती ब्यहोर्नुपरेको छ”, नेम्वाङले भन्नुभयो, “आयोजना अघि बढ्न नसक्नुको कारण पहिचान गर्ने प्रयास गरेका छौँँ । अब आयोजना अघि बढाउन आवश्यक रणनीति तय हुन्छ ।” प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा यो सडक निर्माणको कार्य अघि बढाइएको थियो ।

मन्त्री नेम्वाङले मदन भण्डारी लोकमार्ग निर्माणमा समेत विशेष चासो दिनुभयो । यस लोकमार्गले ताप्लेजुङको दोभानबाट जननेता मदन भण्डारीको जन्मस्थालन ताप्लेजुङकै ढुङ्गेसागु हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको इवाबाट पुष्पलाल मध्यपहाडी लोकमार्गमा जोड्नेछ । यस सडकलाई आवश्यक परेको खण्डमा संखुवासभासम्म विस्तार गर्ने योजना समेत वनाइएको मन्त्री नेम्वाङले वताउनुभयो ।

यो सडकको नौ किलोमिटर बाटो कालोपत्रेका लागि केही दिनमै बोलपत्र आव्हान हुने र पूरै खण्डको विस्तार र कालोपत्रेको काम क्रमशः अघि बढ्ने मन्त्री नेम्वाङको भनाई छ । “यो सडक हाम्रा लागि विशेष महत्वका छ”, मन्त्री नेम्वाङले तेह्रथुम आठराईको हात्तिपोखरीमा आयोजित भेलामा भन्नुभयो, “हामीले ताप्लेजुङलाई तेह्रथुमसँग र जननेता मदन भण्डारीको जन्मथलोलाई प्रधानमन्त्रीको जन्मथलोसँग जोड्नुछ ।”

मन्त्री नेम्वाङले विभिन्न प्याकेजमा निर्माण भइरहेको तमोर कोरिडोर सडकमा समेत विशेष ध्यान दिनुभयो । उहाँले ताप्लेजुङको दोभान, पाँचथरको हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाका विभिन्न क्षेत्रबाट यस सडकको निर्माणको अवस्थाबारे स्थलगत निरीक्षण गर्नुभयो ।

“चीनको टिप्ताला र भारतको जोगवनी नाकालाई जोडेर यस सडकको माध्यमबाट पूर्वी पहाडले ठूलो आर्थिक लाभ लिनसक्ने भएकाले छिटो भन्दा छिटो यो सडक सञ्चालनमा ल्याउने हाम्रो प्रयत्न हुनेछ”, पाँचथरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

तमोर कोरिडोरको मुलघाट–दोभान खण्ड तथा दोभान–ओलाङचुङगोला खण्ड अहिले भिन्नाभिन्नै नामका आयोजनाबाट अघि बढिरहेका छन् । छिटो ट्र्याक खोल्ने काम पूरा गरेर स्तरोन्नतितर्फ केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री नेम्वाङले गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको राँके–रबी–भेडेटार सडक निर्माणमा विशेष चासो दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, प्रतिनिधिसभा सदस्यद्वय घनश्याम खतिवडा र राजेन्द्र राई, प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा, स्थानीय तहका जनप्रतिनिधिहरु सहित यो सडकको स्थलगत निरीक्षणमा पूरा दिन विताउनुभएका नेम्वाङले यो सडक निर्माणमा कमजोर प्रगति देखिएको भन्दै तत्कालै निर्माण कार्यलाई द्रूत बनाउन निर्देशन दिनुभयो ।

भारत सरकारको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक निर्धारित समयमै पूरा गराउन सरकार दृढ रहेको उहाँले प्रष्ट्याउनुभयो । मन्त्री नेम्वाङले यही सडकसँग जोडिएको दमक–चिसापानी–रबी सडक कालोपत्रेको कार्य पनि प्रदेश सरकारले अघि बढाएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

यी सबै मुख्य सडकहरु आर्थिक वर्ष ०७९/०८० भित्र सम्पन्न गर्ने लक्ष्य भेट्टाउने गरी काम अघि बढाइने मन्त्री नेम्वाङको प्रष्टोक्ति छ । “रुग्ण आयोजनाको निर्माणलाई अघि बढाउने उद्देश्यले सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधन गरेका हौँ । निर्माण ब्यवसायीहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्ने मौका दिइएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो, “उक्त संशोधनले दिएको अवसरको सदुपयोग नगरे निर्माण ब्यवसायीहरु कारबाहीको भागिदार बन्नुपर्छ ।”

ठूला आयोजनाहरु अघि बढाउन सरकारी निकायसमेत उत्तिकै सक्रिय हुनुपर्नेमा जोड दिँदै मन्त्री नेम्वाङले समयमा बजेट निकासा नहुने, स्थानीय स्तरमा अवरोध सिर्जना हुनेजस्ता समस्या हल गर्न मन्त्रालय मातहतका निकाय, सुरक्षा निकाय र जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । ठूला आयोजनाहरु पूरा गर्न अन्तर मन्त्रालय संगठन सुदृढिकरण, नीतिगत एवं संरचनागत सुधारमा मन्त्रालय केन्द्रीत भएको उहाँको भनाई छ ।

मुलुक संघीय संरचनाको कार्यान्वयनको चरणमा रहेकाले केही विकास निर्माणका आयोजना पूरा गर्ने तथा सरकारी सेवा प्रवाह गर्ने विषयमा अन्यौल देखिएको मन्त्री नेम्वाङले वताउनुभयो । “यातायात कार्यालय स्थापना लगायत विभिन्न विषयमा संघीय सरकारसँग अपेक्षा भइरहेका कतिपय विषयहरु प्रदेश सरकारको मातहतमा गइसकेका छन्” उहाँले भन्नुभयो, “यस्ता विषयहरु क्रमशः जनमानसमा प्रष्टिँदै जानेछन् ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिएका सबै कदमहरुको तत्कालै परिणाम नदेखिने भन्दै मन्त्री नेम्वाङ काम गर्ने वा काम गर्ने वातावरण तयार गर्ने स्थिति निर्माण आफ्नो मूख्य प्राथमिकतामा रहेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्