दलित जनप्रतिनिधिको गुनासो – हामीमाथि नै विभेद् भयो



फिदिम, २८ पुस

पाँचथरमा दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले आफूहरुमाथि नै विभेद् भएको वताएका छन् ।

दलित समुदायका जनप्रतिनिधिहरुले आफूहरुले समुदायको अपेक्षाअनुसार काम गर्न नपाएको, दलित समुदायका लागि उचित योजना निर्माण र बजेट विनियोजनमा समेत विभेद्मा परेका गुनासो गरेका हुन् । फिदिममा आयोजित एक अन्तक्र्रियामा सहभागी दलित जनप्रतिनिधिहरुले आफूहरुलाई साक्षीको रुपमा मात्रै प्रयोग गरिएको दुखेसो पोखे । स्थानीय तह सञ्चालन गर्ने निकाय गाउँ÷नगर कार्यपालिकामा रहेका दलित जनप्रतिनिधिहरुले वडाध्यक्ष र स्थानीय तहका प्रमुखहरुले ‘प्रधानपञ्च’को जस्तो ब्यवहार गरेको आरोप समेत लगाए ।

फालेलुङ गाउँकार्यपालिका सदस्य हर्कसिंह सुनारले संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न आफूहरु असफल भएको वताउनुभयो । “भूमिहीन दलित परिवारलाई जग्गा उपलब्ध गराउने, माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिने संवैधानिक ब्यवस्था समेत ब्यवहारमा कार्यान्वयन भएको छैन्”, सुनारले भन्नुभयो । उहाँले विगतमा लक्षित वर्गका लागि छुट्टिने बजेट समेत अहिले नछुट्टिँदा दलित समुदायले संघीयता मार्फत आर्थिक÷सामाजिक सवलिकरणको अनुभूति गर्न नपाएको वताउनुभयो ।

“दलित समुदायको बजेट कार्यान्वयन हुन सक्दैन् भन्नेमा अरु जनप्रतिनिधिहरु एकमत देखिनुहुन्छ”, सुनारले भन्नुभयो “हामी त कोरम पु¥याउन मात्रै प्रयोग हुनु परेको छ ।” सुनारले गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष र वडाध्यक्षहरुले ‘प्रधानपञ्च’ले जस्तै ब्यवहार गरेको आरोप समेत लगाउनुभयो । उहाँले राजनीतिक दलहरुसँग स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलित समुदायका अधिकार कार्यान्वयन गर्न निर्देशन दिन माग पनि गर्नुभयो ।

मिक्लाजुङ गाउँकार्यपालिकाका सदस्य दुर्योधन लुहागुनले पूर्वाधारहरुलाई दलित समुदायले पनि प्रयोग गर्ने दलिल पेश गरेर अन्य जनप्रतिनिधिहरुले दलित समुदायलाई बजेट छुट्ट्याउन कन्जुस्याईँ गरेको वताउनुभयो । उहाँले आफूहरुलाई हरेक ठाउँमा साक्षीको रुपमा प्रयोग गरिएको गुनासो गर्दै स्थानीय तहबाट दलित समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सवलिकरण गर्ने तथा ब्याप्त विभेद् अन्त्य गर्ने अवसर सदुपयोग गर्न बञ्चित गरिएको वताउनुभयो । आफूहरु स्थानीय तहमा निर्वाचित हुनुपूर्व दलित समुदायका लागि धेरै काम गर्ने अपेक्षा लिएर निर्वाचित भएपनि अन्य जनप्रतिनिधिको असहयोगले कुनैपनि काम गर्न नसकेको लुहागुनको गुनासो छ ।

कुम्मायक गाउँकार्यपालिकाका सदस्य इन्द्रबहादुर नेपालीले आफूहरुले आफ्नो समुदायको हितमा काम गर्ने प्रयत्न गरेपनि काम गर्ने उचित वातावरण अझै तयार भइनसकेको गुनासो गर्नुभयो । तुम्बेवा गाउँकार्यपालिकाकी सदस्य पवित्रा गजमेरले आफूहरु गाउँपालिका सञ्चालन गर्ने जनप्रतिनिधि भएपनि आफैँले भनेको योजना कार्यान्वयन गर्न र बजेट छुट्ट्याउन नपाएको गुनासो गर्नुभयो । फिदिम नगर कार्यपालिका सदस्य मनिषा श्रेष्ठ धमला र याङवरक गाउँकार्यपालिका सदस्य कृष्णकुमारी नेपालीले जातीय विभेद् हटाउने, आर्थिक रुपले पछि परेको दलित समुदायको आर्थिक, सामाजिक सवलिकरण गर्ने विषयमा अन्य जनप्रतिनिधिहरु अनुदार एवं गैरजिम्मेवार भएको वताउनुभयो ।

जिल्ला समन्वय समिति पाँचथरका सदस्य सन्तोष सिन्चेउरीले विषयगत ज्ञान र क्षमताको अभावले दलित जनप्रतिनिधिहरुले स्थानीय तहमा प्रभावकारी आवाज उठाउन नसकेको पाइएको वताउनुभयो । उहाँले जातीय विभेद् हटाउने तथा दलित समुदायको आर्थिक, सामाजिक सवलिकरण गर्ने जिम्मेवारी स्थानीय तहको भएपनि त्यसमा जनप्रतिनिधिहरु उत्तरदायी बन्न नसकेको वताउनुभयो ।

उहाँले परम्परागत मुद्दा छाडेर दलित समुदाय आर्थिक सवलिकरणमा केन्द्रीत हुन सकेमात्रै विभद अन्त्य गर्न सहज हुने वताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव हुनु, न्यायको पहुँचमा पुग्न नसक्नु, आन्तरिक विभेद् कायम हुनु जस्ता समस्याले दलित समुदायका समस्या समाधान गर्न कठीन परेको सिन्चेउरीको भनाई छ ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा उपेक्षामा परेकै कारण स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएकाले त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले आफ्नो भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहमा आफ्नो सशक्त भूमिका निर्माण गरी समुदायको हितमा काम गर्न सकेमात्रै समुदायगत प्रतिनिधित्वको औचित्य पुष्टि हुने भएकाले स्थानीय तह भित्र संघर्ष मात्रै भएपनि गरिरहन सापकोटाले सुझाव दिनुभयो । स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिहरुसँग आफूले सामाजिक विकासको पक्षमा जोड दिन आग्रह गर्दै आएको वताउँदै सापकोटाले एकीकृत आवाज उठाउन दलित जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।


दलित जनप्रतिनिधिहरुको सम्मान तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको समता नेपाल पाँचथरका अध्यक्ष सहमान विश्वकर्माले जनप्रतिनिधिहरुको भूमिका सशक्त बनाउन कार्यक्रम आयोजना गरिएको वताउनुभयो । कार्यक्रममा जिल्लाका नगर तथा गाउँ कार्यपालिकामा प्रतिनिधित्व गर्ने दलित जनप्रतिनिधिहरु तथा विभिन्न क्षेत्रमा चर्चा कमाएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको संस्थाका सचिव खगेन्द्र धमलाले जानकारी दिनुभयो ।


कार्यक्रममा दलित समुदायबाट जिल्ला समन्वय समितिका सदस्य, नगर कार्यपालिका र गाउँ कार्यपालिकाका सदस्यमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । यस्तै गायक डेविड शंकर, नवप्रतिभा कुमार लोहार र विपना बराइलीलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्