प्रधानमन्त्रीको जन्मथलोमा भौतिक पूर्वाधार मन्त्रीको पाइला



फिदिम, २५ पुस

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पूर्वी फिदिम–तेह्रथुम खण्डको अनुगमनका लागि तेह्रथुमको आठराई गाउँपालिका पुग्नुभएका भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ विहीवारकै लागि पाँचथरमा आयोजित अर्को कार्यक्रम सुरु हुने समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल तर्फ लाग्नुभयो । छातेढुङ्गाको सुकेपोखरीबाट नौ किलोमिटरको दूरीमा प्रधानमन्त्री ओलीको जन्मथलो छ । बुधवार रातीको वर्षाले बाटो हिलाम्य थियो । मन्त्री नेम्वाङ सहितको टोली आधा बाटो पार गरेपछि सवारी साधन अघि बढ्न नसक्ने भयो । करीब २५ मिनेटको पैदल यात्रापछि मन्त्री नेम्वाङ प्रधानमन्त्रीको जन्मथलो आठराईको इवा पुग्नुभयो ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. १० र फालेलुङ गाउँपालिका वडा नं. ८ लाई उज्यालो वडा घोषणा गर्ने कार्यक्रममा मन्त्री नेम्वाङ प्रमुख अतिथिको रुपमा आमन्त्रित हुनुहुन्थ्यो । मन्त्री नेम्वाङकै पहलमा सुरु भएको विद्युतिकरणको कार्य जिल्लामा क्रमशः पूरा हुँदै जाने क्रममा उक्त कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता मन्त्री नेम्वाङको थियो नै । त्यसभन्दा बढी उहाँ मध्यपहाडी लोकमार्गबाट नजिकै रहेको प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीको जन्मघर पुग्न आतुर हुनुभयो ।

साथैमा रहनुभएका तेह्रथुमका प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ, मोरङ–१ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा, प्रदेशसभा सदस्य तेजमान कन्दङ्वा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की, तेह्रथुम र पाँचथरका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग मन्त्री नेम्वाङले प्रधानमन्त्रीको जन्मथलोमा सामूहिक तस्वीर लिनुभयो । प्रधानमन्त्रीको जन्मथलो अघि निर्माण गरिएको हेलिप्याडको समेत अवलोकन गर्दै उहाँले सामूहिक तस्वीर खिचाउनुभयो ।

प्रधानमन्त्रीको जन्मथलो पुगेर प्रधानमन्त्रीको विगतबारे स्मरण गर्दै मन्त्री नेम्वाङले तेह्रथुमको ग्रामीण क्षेत्रमा जन्मिएर पनि मुलुक परिवर्तन र समृद्धिको दूरदृष्टि राख्नुहुने प्रधानमन्त्री ओली सबैका प्रेरणाको स्रोत रहेको वताउनुभयो । उहाँले प्रधानमन्त्रीले लिनुभएको समृद्ध नेपाल र सुखी नेपालीको अभिभारा पूरा गर्न हरेक सरकारी तथा गैरसरकारी निकायहरु जिम्मेवार एवं उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस अभियानमा सबै नागरिकले समेत उत्तिकै सचेततापूर्वक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीको जन्मथलो इवामा उहाँको जन्म भएको घर विगतकै स्वरुपमा संरक्षण हुँदै आएको छ । ढुङ्गा, माटो र काठले बनेको, घरले छाएको प्रधानमन्त्री ओलीको घर पछिल्लो पटक धेरैको आकर्षणको केन्द्र बनिरहेको छ । प्रधानमन्त्री ओलीको जन्मघरसँगै रहेको उहाँको जन्मपछि निर्माण गरिएको घरमा बसोबास गर्दै आउनुभएकी विष्णुमाया भुसालले दोश्रो पटक उहाँ प्रधानमन्त्री चयन हुनु भएपछि उक्त घर हेर्न आउनेको संख्या बढ्दै गएको वताउनुभयो ।

यसअघि मध्यपहाडी लोकमार्गको अनुगमनपछि स्थानीयवासीलाई सम्बोधन गर्नुहुँदै मन्त्री नेम्वाङले ऐतिहासिक आठराई क्षेत्रको विकासमा प्रधानमन्त्रीले निरन्तर चासो देखाउँदै आउनुभएको र प्रधानमन्त्रीकै चासोअनुसार आफूहरु पुष्पलाल (मध्यपहाडी) लोकमार्गको द्रूत निर्माणका लागि निरन्तर अनुगमनमा भइरहेको वताउनुभयो । मन्त्री नेम्वाङले प्रधानमन्त्रीको विशेष चासो भएको आठराई क्षेत्र अब विगतजस्तो विकास दृष्टिले पछि पर्नु नपर्ने वताउनुभयो ।

उहाँले मध्यपहाडी लोकमार्गको कालोपत्रे चाँडो सम्पन्न गर्ने दृढता ब्यक्त गर्नुभयो । यसैगरी आठराईको चुहानडाँडामा विमानस्थल निर्माणको कार्य चाँडो अघि बढाइने प्रतिवद्धता मन्त्री नेम्वाङले ब्यक्त गर्नुभयो । उहाँले आठराईबाट प्रधानमन्त्री ओलीको जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँगुबाट ताप्लेजुङको दोभान पुग्ने मदन भण्डारी स्मृति मार्ग निर्माणको कार्य चाँडो सुरुआत हुने वताउनुभयो । तेह्रथुम जिल्लालाई उज्यालो जिल्ला बनाउन आगामी वर्षबाट पूर्ण विद्युतिकरणको कार्य सुरु हुने आफूले बुझेको उहाँले वताउनुभयो ।

तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला र यसको पूर्वी क्षेत्र आठराई विगतमा विकासका दृष्टिले उपेक्षामा परेको भन्दै प्रधानमन्त्रीको चासो र छिमेकी जिल्ला पाँचथरका सांसद् मन्त्री भएकाले मुहार फेरिने विश्वास ब्यक्त गर्नुभयो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण अपेक्षाकृत गतिमा अघि बढ्न नसक्नु, विद्युतिकरणको कार्य द्रूत गतिमा अघि बढ्न नसक्नुले जिल्लावासीमा निराशा रहेको भन्दै सांसद् खापुङले यहाँका आवश्यकता पूरा गर्न सरकारको ध्यान जानुपर्ने वताउनुभयो ।

पाँचथरको साविक याङनाम गाविसलाई अध्याँरोमुक्त घोषणा कार्यक्रम साँझको ७ बजेसम्म फिदिम नगरपालिका–१० खलङ्गाटारमा चल्यो । उक्त कार्यक्रममा पनि मन्त्री नेम्वाङले आफूहरु प्रधानमन्त्री मात्रै नभई मुलुक परिवर्तनका एक शीखर योद्धा एवं परिवर्तन र समृद्धिका सप्नद्रष्टा केपी शर्मा ओलीको जन्मथलो पुग्न पाएको भन्दै विहीवारको दिन एक ऐतिहासिक दिन भएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्