याङवरकमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु, मन्त्री नेम्वाङद्वारा उद्घाटन



फिदिम, २४ पुस

पाँचथरको याङवरक गाउँपालिकामा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ ।
नेपाल सितारियो कराँते संघ नागी शाखा याङवरकको आयोजनामा याङवरक गाउँपालिका वडा नं. ६ मुकुबुङमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गर्नुभयो । यहाँको सरस्वति आधारभूत विद्यालयमा प्रतियोगिता र छमछमी मेला आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री नेम्वाङले खेलकुद क्षेत्रबाट सवल एवं स्वस्थ जनशक्ति उत्पादन र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले पूर्वाधार निर्माण, पर्यटन, कृषि, जलस्रोत, सेवा प्रवाह लगायत क्षेत्रमा द्रूत परिवर्तन ल्याउन लागि परेको सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा समेत उत्तिकै ध्यान पु¥याएको वताउनुभयो ।

उहाँले कराँते खेलले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको नाम राख्न र शीर उच्च पार्न सहयोग गरेको भन्दै ग्रामीण स्तरबाट कराँते खेलको प्रवद्र्धन गर्न लागिपरेको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । खेलकुदको विकासका लागि नीतिगत एवं सरंचनागत विकास र परिवर्तनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री नेम्वाङले प्रतिवद्धता ब्यक्त गर्नुभयो । पाँचथरको ग्रामीण क्षेत्रमा समेत अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिनाले पर्यटन प्रवद्र्धन र कराँते खेलको विकासमा ठूलो सहयोग पुगेको मन्त्री नेम्वाङको भनाई छ ।
बुधवार सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने खेल संयोजक एवं कराँते प्रशिक्षक बाबा मेन्याङ्बोले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाहरु सहित प्रदेश नं. २ का सिराहा र महोत्तरी जिल्लाका कराँते टोली सहभागिता छ । यस्तै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ र आसामको टोली समेत प्रतियोगितामा सहभागी भएका छन् ।

प्रतियोगितामा काँता र कुमुते विधामा झण्डै २ सय जना खेलाडी सहभागी हुने नेपाल सितारियो कराँते संघ पाँचथरका सचिव अञ्जु काम्बाङले जानकारी दिनुभयो । काँता र कुमुते दुवै विधा तर्फ सिङ्गल, डबल र ग्रुप प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा २५ जना प्रशिक्षक, २५ जना टिम प्रवन्धक र २० जना निर्णायकहरुको समेत सहभागिता रहेको छ ।

कराँते खेलको विकासमा निरन्तर योगदान दिँदै आएको नागी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनुले पाँचथरको खेल क्षेत्रलाई ठूलो योगदान पुग्ने पाँचथर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मातृकाप्रसाद दाहालको भनाई छ । प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा र मोरङ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले समेत सम्बोधन गर्नुभएको थियो ।

प्रतियोगिता मूल आयोजक समितिका संयोजक एवं याङवरक गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष ताराबहादुर योङहाङले आफ्नो वडामा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुनु गर्वको विषय रहेको भन्दै सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्