तमोरमा भेटियो ताप्लेजुङकी मन्दिरा अधिकारीको शव



फिदिम, १९ पुस

हत्यागरी तमोर नदीमा फालिएको भनिएकी वेपत्ता ताप्लेजुङ फूलवारी चोकपुरकी किशोरी मन्दिरा अधिकारी शव तेह्रथुम स्थित तमोरका माझीले फेला परेका छन् । फेला परेको शव मन्दिराकै भएको मृतकका काका चन्द्र अधिकारीले जानकारी दिए ।

मन्दिरा विगत ३२ दिन देखि वेपत्ता थिइन् । काका चन्द्रका अनुसार मन्दिराको अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि सर्टका आधारमा मन्दिराको शवको पहिचान भएको हो । मन्दिराको शव पहिचान पछि शनिबारनै डुङ्गाबाट तमोर नदी तारेर पोष्टमार्टमको लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।

विहिबारनै तमोरको वगरमा एक किशोरीको शव फेला परे पछि दुई दिन देखि उक्त स्थानमा तेह्रथुम प्रहरी शवको सुरक्षा दिएर बसेको थियो । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका प्रहरी निरीक्षक शेशकराम थाम्दारका अनुसार माछा मार्ने क्रममा पाँचथरको सिम्लेका धनवहादुर माझीले उक्त शव फेला पारेका थिए ।

गत पुस ९ गते पक्राउ परेका ताप्लेजुङ हाङपाङका रमेश अधिकारीले मन्दिराको हत्या आफूले नै गरेको भनेर स्विकारेका छन् । रमेशले मन्दिराको हत्या गत मंसिर १७ गते ताप्लेजुङको नाङखोल्याङ र फूलवारीको सिमाना भएर बग्ने तमोर नदीको किनारमा रहेको मित्ला खेतमा गरेर शवलाई मित्लाको झोलुङ्गे पुलवाट तमोरमा झारेको प्रहरी समक्ष बयान दिएको प्रहरीको भनाई छ ।

यस अघि मन्दिराको शव नभेटिएका कारण उनलाई हाल सम्म बेपत्ताको सूचिमा राखिएको थियो । हत्या आरोपित रमेशलाई मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् गत पुस ९ गते हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । रमेश र मन्दिरा नाताले दाजुवहिनी पर्छन् ।

प्रतिक्रिया दिनुहोस्