

फिदिम, १८ पुस
सवारी साधनसम्बन्धी सरकारी कामकाजका लागि झापाको विर्तामोडसम्म पुग्नुपर्ने पूर्वी पहाडवासीको बाध्यता अन्त्य भएको छ ।
विर्तामोडमा हुने सबै काम इलामबाटै हुन थालेपछि सेवाग्राहीहरुले राहत पाउने भएका हुन् । विर्तामोडमा भीडभाडमा तुरुन्त काम नहुने समस्या झेल्दै आएका सेवाग्राहीले इलामबाट भने चाँडै सेवा पाउने अपेक्षा गरेका छन् ।
प्रदेश सरकार अन्तरगत यातायात व्यवस्था सेवा कार्यालय इलाममा स्थापना भएपछि पूर्वी पहाडी क्षेत्रका सेवाग्राहीले सहजै सेवा पाउन थालेका हुन् । आफ्नै भवन निर्माण सम्पन्न गरी गत १ असोजबाट सेवा सुचारु गरेको यातायात व्यवस्था सेवा कार्यालय इलामले सेवाप्रवाह समेत प्रभावकारी बनाउने प्रयत्न गरिरहेको छ ।
सो कार्यालयबाट अहिले वार्षिक सवारी कर, सवारी साधन जाँचपास, सवारी धनी प्रमाणपत्र (ब्लु बुक) नवीकरण, बाटो इजाजतपत्र नवीकरण, सवारी साधन दर्ता र नामसारी गर्ने काम भइरहेको छ ।
केही समयपछि चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको काम समेत सुरु गरिने निमित्त कार्यालय प्रमुख दुर्गा दुलालले जानकारी दिनुभयो । चालक अनुमतिपत्र (लाइसेन्स) को लागि आवश्यक पर्ने ट्रायल सेन्टरको निर्माण कार्य सम्पन्न भएपनि माथिल्लो निकायबाट अनुमति नआएकाले मात्र काम सुरु हुन नसकेको उहाँको भनाई छ ।
माथिल्लो निकायबाट अनुमति आउनसाथ चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको काम समेत इलामबाटै हुनेछ । त्यहाँ एक नीजि कम्पनीले ट्रायल सेन्टर निर्माण गरेको छ । सेवा कार्यालय मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र नवीकरणको काम समेत सुरु भएपछि इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राहीलाई सहजता हुनेछ ।
इलाममा कार्यालय स्थापना भएपछि सवारी साधन जाँचपासका लागि खाली गाडीहरु झापासम्म लैजानु नपर्ने र भीडभाड समेत कम हुने भएकाले काम छिटोछरितो हुने गरेको छ । इलाममा अहिले दैनिक ५० को हाराहारीमा सेवाग्राहीहरुले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।
सो कार्यालयमा कार्यालय सहयोगी सहित ८ जनाको दरबन्दी रहेको छ । शाखा अधिकृत आठौंको नेतृत्वमा ८ जना कर्मचारीकै पदपूर्ति छ । त्यहाँ शाखा अधिकृत आठौं १ जन, अधिकृत छैठौं २ जना, सहायकस्तर पाँचौं १ जना, सहायसकस्तर चौथो १ जना, सहलेखापाल १ जना, कम्प्युटर सहायक १ जना र कार्यालय सहयोगी १ जना कार्यरत छन् ।
मेची मार्गबाट यातायात व्यवस्था सेवा कार्यालय इलामको कार्यालयसम्म पुग्न बाटो कच्ची र साँघुरो भएकाले ठूला सवारी साधनलाई समस्या हुने गरेको छ । सवारी साधनको जाँचपासका लागि ल्याउन बाटोकै कारण समस्या भएको कार्यालय प्रमुख दुलालेले बताउनुभयो । ‘सडकको व्यवस्थापनका लागि हामीले नगरपालिका र प्रदेश सरकारसँग पहल गरिरहेका छौं’ दुलालले भन्नुभयो । (नयाँ बुलन्दबाट साभार)