ब्यवसायिक पशुपालन गर्ने कृषकलाई घरैमा नगद र प्राविधिक सहयोग



फिदिम, १८ पुस

पाँचथरको एक सहकारी संस्थाले ब्यवसायिक पशुपालन गर्ने कृषकलाई घरैमा पुगेर उन्नत जातको पशु खरिदका लागि रकम उपलब्ध गराएको छ । ब्यवसायिक पशुपालनका लागि उद्यमशिलता विकाससम्बन्धी तालिम लिएका कृषकहरुलाई पशु खरिदका लागि नगदका अतिरिक्त उक्त सहकारीले प्राविधिक ज्ञान र पशुको उपचारमा सहयोग समेत प्रदान गर्दै आएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रहेको फिक्चुखोला कृषि सहकारी संस्थाले उक्त गाउँपालिकाको वडा नं. १, २, ३ र ४ का ७० जना कृषकहरुको घर दैलोमै पुगेर ब्यवसायिक पशुपालनका लागि सरल ब्याजदरमा घुम्ती कोषको कर्जा उपलब्ध गराएको हो । सहकारीले प्रत्येक कृषकलाई उन्नत प्रजातिको गाई वा भैंसी खरिदका लागि रु. ४० हजारका दरले घुम्ती कोष वितरण गरेको हो । उक्त सहकारीले फाल्गुनन्दको वडा नं. १ का २१ जना, वडा नं. २ का ९ जना, वडा नं. ३ र ४ का २०÷२० जना कृषकहरुलाई उक्त घुम्ती कोष उपलब्ध गराएको छ ।

सहकारीले वडामै कार्यक्रमको आयोजना गरी कृषकहरुलाई घुम्ती कोषको रकमको चेक उपलब्ध गराएको हो । दूध तथा दूग्धजन्य सामग्री उत्पादनमा सहयोग गरी कृषकहरुको आयस्तर उकास्ने उद्देश्यले उक्त सहकारीले घुम्ती कोष परिचालन गरी ऋण लगानी गरेको हो । सहकारीले ब्यवसायिक पशुपालनका लागि कृषकहरुलाई प्राविधिक सहयोग र पशु विमाका लागि समेत सहयोग गरेको छ । अन्तर्राष्ट्रिय दातृ संस्था गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा घुम्ती कोष परिचालनमा ल्याइएको फिक्चुखोला कृषि सहकारीका अध्यक्ष वहादुरसिंह नेम्वाङले जानकारी दिनुभयो ।

परम्परागत पशुपालन गर्दै आएका कृषकहरुलाई उन्नत प्रजातिका गाई भैंसी खरिद गरी ब्यवसायिक रुपमा दूध उत्पादनमा केन्द्रीत गर्दै आर्थिक स्तर उकास्ने उद्देश्यले उक्त सहकारीले पशुपालनका लागि घुम्ती कोष कर्जा उपलब्ध गराएको अध्यक्ष नेम्वाङको भनाई छ । कृषकहरुले कर्जाको प्रत्येक महिना ब्याज र प्रत्येक तीन महिनामा घुम्ती कोष वापतको किस्ता रकम फिर्ता गर्नुपर्नेछ । उन्नत प्रजातिका पशुपालन गर्ने कृषकहरुले दूध विक्रीबाट नै उक्त कर्जा फिर्ता गर्न सक्ने अध्यक्ष नेम्वाङको भनाई छ ।

यस अतिरिक्त उन्नत प्रजातिको पशु खरिद गर्ने, भकारो सुधार गर्ने र पशुको विमा गर्ने कृषकहरुलाई सहकारीले रु. १० हजार प्रोत्साहन रकम समेत उपलब्ध गराउने भएको छ । “प्रोत्साहन रकम प्राप्त गर्न उन्नत प्रजातिको गाई भैंसी खरिद गरेकै हुनुपर्छ”, सहकारीका अध्यक्ष नेम्वाङले भन्नुभयो, “हामीले घुम्ती कोष परिचालन गरेका सबै वस्तीमा कति दूध उत्पादन भई विक्री भइरहेछ भनेर तथ्याङ्क तयार पारिसकेका छौँ । कृषकहरुले दूध उत्पादनमा वृद्धि गरे नगरेको भोलीका दिन तयार हुने तथ्याङ्कले देखाउँछ ।”

कृषकहरुले ब्यवसायिक पशुपालनलाई अघि बढाएपछि सहकारीले दूध तथा दूग्धजन्य पदार्थ सङ्कलन, ढुवानी र उद्योग स्थापनाका लागि लगानी गर्ने कृषकहरुमाँझ प्रतिवद्धता समेत गरेको छ । यसका लागि दातृ संस्थाहरुसँग सहकार्यका लागि सम्झौता समेत भइसकेको सहकारीका अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

उक्त सहकारीले हालसम्म गुड नेवर्स इन्टरनेशनलको सहयोगमा रोजगारी सिर्जना तथा मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालन गर्दै आएको थियो । पछिल्लो पटक वेल्जियमको किङ वाउण्डिङ फाउण्डेसनसँग लागत साझेदारीमा दूग्ध मूल्य श्रृङ्खला विकास परियोजना कार्यान्वयनमा ल्याउन लागेको छ । उक्त परियोजनाले दूध उत्पादनदेखि बजार सुनिश्चिततासम्म सहयोग पु¥याउनेछ ।

यसमा सहकारी संस्था, स्थानीय तह र दातृ निकायको लागत सहभागिता रहनेछ । जसअनुसार सहकारी संस्थाले कुल लागतको २० प्रतिशत, स्थानीय तहले १० प्रतिशत, गुड नेवर्स इन्टरनेशनलले ३० प्रतिशत र किङ वाउण्डिङ फाउण्डेसनले ४० प्रतिशत लगानी गर्ने निश्चित भएको उक्त सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले जानकारी दिनुभयो ।

फिक्चुखोला कृषि सहकारीले विगत दुई वर्षदेखि ब्यवसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । उसअघि उक्त सहकारीले फाल्गुनन्द गाउँपालिका वडा नं. २ का ५४ कृषकहरुलाई उन्नत गाई पालनमा तथा ६८ जना कृषकहरुलाई उन्नत बङ्गुर पालनमा लगानी गरिसकेको छ । गाई पालक कृषकहरुले रु. ५८ हजार ८०० का दरले घुम्ती कोष तथा रु. २५ हजार २०० का दरले अनुदान प्राप्त गरेका थिए । यस्तै बङ्गुर पालक कृषकहरुले रु. १० हजार ७०० देखि रु. ४१ हजारसम्म घुम्ती कोष र रु. ४ हजार ४०० देखि रु. १७ हजारसम्म अनुदान प्राप्त गरेको उक्त सहकारीले जनाएको छ ।

जिल्लामै पहिलो पटक ब्यवसायिक पशुपालनका लागि सरल ब्याजदरमा घुम्ती कोष, अनुदान र प्राविधिक सहयोग प्राप्त गरेको भन्दै कृषकहरुले खुसी ब्यक्त गरेका छन् । फाल्गुनन्द गाउँपालिका वडा नं. १ मा डेरी उद्योग सञ्चालन गर्दै आएका दिलकुमार आङ्देम्बेले एउटा सहकारीले कृषकहरुलाई व्यवसायिक बनाउन ऋणदेखि प्राविधिक सहयोगसम्म उपलब्ध गराउनु महत्वपूर्ण रहेको वताउँदै कृषकहरुले प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सबैले परम्परागत रुपमा पशुपालन गर्दै आएका थियौँ । तर सहकारीले उन्नत गाई भैंसी खरिदमा गरेको सहयोगलाई आधार मानेर सबै कृषकहरुले ब्यवसायिक पशुपालनतर्फ अघि बढ्नुपर्छ”, आङ्देम्बेले भन्नुभयो । उत्पादित दूध विक्री हुने निश्चित रहेकाले गुणस्तरीय दूध उत्पादनमा कृषकहरुले जोड दिनुपर्ने उहाँको भनाई छ ।

डेरी उद्योग सञ्चालक खगेन्द्र मिश्र पाँचथरका विभिन्न गाउँमा उत्पादन हुने दूधले बजार नपाउने चिन्ता नरहेको वताउनुहुन्छ । “हाम्रो डेरीले अझै १ हजार ५०० लिटरसम्म दूध खरिद गर्न सक्छ । गाउँदेखि सहरसम्म रहेका डेरी उद्योग र दूग्ध विकास संस्थानका चिज उत्पादन केन्द्रले थप दूध खरिद गर्न सक्छन्”, मिश्रले भन्नुभयो “ब्यवसायिक पशुपालनमा भएको यस प्रकारको सहयोगले दूध उत्पादन त बढ्छ नै, कृषकहरुको आयस्तर उकास्न ठूलो सघाउ पुग्छ ।”

उक्त सहकारीले आर्थिक सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय दातृ निकाय गुड नेवर्स इन्टरनेशनलका प्रदेश नं. १ प्रमुख कृष्णराज जोशीले कृषकहरुले ब्यवसायिक पशुपालन र ठूलो परिमाणमा दूध उत्पादन गर्नसके आफ्नो संस्थाले दूग्धजन्य उद्योग स्थापनामा समेत थप लगानी गर्नसक्ने वताउनुभयो । घुम्ती कोषको सदुपयोग हुनसके घुम्ती कोष वृद्धि गर्न सकिने जनाउँदै उहाँले पशुपालनलाई ब्यवसायिक बनाउन कृषकहरुलाई आग्रह गर्नुभयो ।

फाल्गुनन्दका चार वटै वडामा घुम्ती कोष वितरण कार्यक्रम आयोजना गरी कृषकहरुलाई चेक उपलब्ध गराइएको थियो । फाल्गुनन्द गाउँपालिका वडा नं. ४ चिलिङ्दिनमा आयोजित घुम्ती कोष वितरण कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ समेत सहभागी हुनुभयो । कृषकहरुलाई चेक हस्तान्तरण गरेपछि अध्यक्ष कुरुम्बाङले फाल्गुनन्दवासीको आयआर्जन सुधार आफ्नो मुख्य एजेण्डा रहेको स्मरण गर्दै आफ्नो अभियानमा सहकारीले सहयोग पुर्याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्दका इन्चार्ज प्रेमप्रसाद रिजाल, फाल्गुनन्द–४ का वडाध्यक्ष मनबहादुर चेम्जोङ लगायत सहभागी हुनुहुन्थ्यो ।

फाल्गुनन्द–१ नवमीडाँडामा आयोजित कार्यक्रममा वडा सदस्य गोपाल लुइटेल, कृषि ज्ञान केन्द्रका प्रतिनिधि भुवनसिंह बुढाथोकी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पुष्प नेपाली, गैरसरकारी संस्था महासंघका अध्यक्ष नन्दकुमार नेम्वाङ, गुड नेवर्स इन्टरनेशनलका कृष्णराज जोशी लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्