नेपाल भ्रमण वर्ष २०२० : यी हुन सात प्रदेशका पर्यटकीय गन्तव्य



फिदिम, १६ पुस

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ । काठमाण्डौको दशरथ रंगशालामा भ्रमण वर्षको उद्घाटन हुँदैछ । सातवटै प्रदेशमा पनि विशेष कार्यक्रमका साथ भ्रमण वर्षको उद्घाटन हुनेछ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबै प्रदेशले आ–आफ्नै ढंगले तयारी गरिरहेका छन् भने सबै प्रदेशका पर्यटकीय गन्तव्यको पनि पहिचान भैसकेको छ ।

प्रदेश १ः पाँच लाख पर्यटक भित्र्याउने, भेडेटारमा खाना महोत्सव

प्रदेश सरकारले प्रदेश १ मा नेपाल भ्रमण वर्षको भव्य उद्घाटनको तयारी गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा रहेको शहीद रंगशालामा नेपाल भ्रमण वर्षको उद्घाटन गर्नको लागि प्रदेश सरकारले तयारी पूरा भएको जनाएको छ । विभिन्न १२ वटा उपसमिति बनाएर प्रदेश स्तरीय प्रमण वर्ष सफल पार्नको लागि कामहरु भइरहेको छ । पुस १६ गते बुधवार मध्यान्ह १२ बजे मुख्यमन्त्री शेरधन राईले भव्य समारोहकाबीच भ्रमण वर्षको औपचारिक उद्घाटन गर्नुहुनेछ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले भ्रमण वर्ष २०२० को पहिलो दिन विराटनगरमा रहेको शहीद रंगशालामा दश हजार प्रदेशवासीको उपस्थितिमा भ्रमण वर्षको विषेश उद्घाटनको तयारी रहेको बताउनुभयो । उद्घाटनमा हेलिकोप्टरबाट पुष्पवृष्टिसँगै ड्रोनबाट झण्डोत्तोलन, हेलिकप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराएर भव्य उद्घाटन गर्ने तयारी भईरहेको मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिनुभयो । उद्घाटनमा प्रदेश १ का १४ वटै जिल्लामा उत्पादित वस्तुको स्टल राख्ने, विभिन्न जातजातिको झाँकी, साइकल तथा मोटरसाइकर्ल यालीको पनि आयोजना गरिँदैछ । भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रदेश १ मा सरकारले तोकेका पर्यटकीय गन्तव्य

नेपाल सरकारले प्रदेश १ का विभिन्न स्थानका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा राखेको छ । जसमा ताप्लेजुङमा पाथीभरा, फुडफुडे झारना, इलामको सन्दकपुर–माइपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुुखुम्बुको स्याङ्बोचे र सगरमाथा रहेका छन् । यस्तै ओखलढुङ्गाको पोकली झरना, झापाको बाँसबारी सिमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, बराह क्षेत्र र तालतलैयालाई उत्कृष्ट गन्तव्य मानेको छ ।

त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा ताप्लेजुङको तिम्बु पोखरी, पाँचथरको फाल्गुनन्द सर्किट, इलामको फिकल–कन्याम–श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे मिल्के जलजले रहेका छन् । संखुवासभाको बालेश्वर ऐतिहाँसिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटन ट्रेल, भोजपुरको ट्याम्के डाँडा (मुन्धुम ट्रेयल), खोटाङको बराह पोखरी पनि पर्यटकीय गन्तव्यमा परेका छन् ।

ताप्लेजुङमा पाथीभरा, फुडफुडे झारना, ईलामको सन्दकपुर–माईपोखरी, संखुवासभाको अरुण उपत्यका, धनकुटाको भेडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुुखुम्बुको स्याङ्बोचे र सगरमाथा रहेका छन् ।

त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुको सूचीमा सोलुखुम्बुको पाँचपोखरी, ओखलढुङ्गाको थोलेदम्बा डाँडा, उदयपुरको उदयपुर गढी, झापाको शहीद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र परेका छन् । मोरङको धनपालगढी, सुनसरीको पिण्डेश्वर दन्तकाली मार्ग पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनौट गरेको क्षेत्रहरु अन्तर्गत प्रदेश १ मा परेका छन् ।

भेडेटारमा खाना महोत्सव

भ्रमण वर्षको अवसरमा सुनसरी र धनकुटाको सीमा क्षेत्रमा रहेको भेडेटारमा खाना महोत्सव (फुड फेस्टिभल)को तयारी भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा आठौँ खाना महोत्सवको आयोजना गरिने भएको हो ।

महोत्सव तीन दिनसम्म चल्ने होटल एशोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिनुभयो । पुस १५, १६ र १७ गते हुने फेस्टिभलमा आउने पाहुनालाई बस्नको लागि भेडेटारका होटलहरुले १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

स्थानीय होमस्टे, होटल र स्टलहरुमा राई मगर, लिम्बू, गुरुङ्ग, याम्फु लगायत स्थानीय १० जातिका परंम्परागत खानाका परिकार खाना महोत्सवमा राख्ने तयारी छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भेडेटारबाट सुनसरीको धरानसम्म प्याराग्लाइडिङ र माउन्टेन बाइकको विशेष आकर्षण रहेका छन् ।

भेडेटारमा हुने फुड फेस्टिभलसँगै पाथीभरा मन्दिर, नमस्ते झरना साथै ऐतिहासिक साँगुरीगढी घुम्ने प्याकेज तयार गरिएको छ । तमोर नदीको मुलघाटदेखि सुनसरीको चतरासम्म ¥याफ्टिङ सेवा लगायत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको छ ।

प्रदेश २ः हरेक जिल्लामा पाँच, पाँच गन्तव्य स्थल

प्रदेश २ का हरेक जिल्लामा एक प्रमुख केन्द्र तोकेर ५/५ वटा गन्तव्य स्थल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि तोकिएको छ । पर्यटकहरुको स्वागतका लागि हरेक जिल्ला र गन्तव्य स्थलमा प्रवेशद्वार बनाइएको छ । बुधबार जनकपुर विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउत गएर बाह्य पर्यटकहरुको स्वागत गर्ने कार्यक्रम रहेको भिजिट नेपाल २०२० का प्रदेश संयोजक मनिष झाले जानकारी दिनुभएको छ ।

कार्यक्रम सुरुवात जिल्ला जिल्लामा फरक फरक ढंगले गरिने भएको छ । पर्सामा शंकराचार्य गेटमा पर्यटकहरुलाई स्वागत तथा अन्तरक्रिया, बाराको सिमरा र कलैयामा जिल्लाका पर्यटकीय स्थलतको विकास तथा समृद्धिबारे अन्तरक्रिया, रौतहटको गौर र नूनथरमा अन्तरक्रिया कार्यक्रममार्फत भ्रमण वर्षको सुरुवात गरिनेछ ।

यस्तै सर्लाहीको मलंगवामा सोनवर्षा बोर्डर हुँदै आउने पर्यटकलाई स्वागत तथा अन्तरक्रिया, महोत्तरीको बर्दिबासमा अन्तरक्रिया र जलेश्वरमा भिठामोड बोर्डरबाट आउने भारतीय पर्यटकलाई स्वागत गरिनेछ । यस्तै जानकी मन्दिरमा २०२० बत्ती बालेर मिठाई लगायतका परिकारको प्रदर्शनी, सिरहाको लहानमा सरसफाई तथा र्याली प्रदर्शन, सप्तरीको राजविराज र छिन्नमस्तामा अन्तरक्रिया लगायतका कार्यक्रम गरिने भएको छ ।

प्रदेश २ का प्रमुख पर्यटकीय गन्तव्यहरुः

पर्सा ःपर्सा राष्ट्रिय निकुञ्ज, रामभौरी भाटामा रहेको दुग्धेश्वर महादेव मन्दिर, वीरगञ्जको घडिअर्वा पोखरी, संकचार्य गेट, घण्टाघर, महुवनको पारसनाथ मन्दिर, सुर्यगंगा आरती र ठोरी ।
बाराः अमलेखगञ्जमा रहेको चुरियामाई मन्दिर, सिम्रौनगढमा रहेको कंकालिनी मन्दिर र रानीबास, गढीमाई मन्दिर ।

रौतहटः गौरमा रहेको बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमतीको नूनथर र चन्द्रनिगाहापुरको शहीद पार्क ।

सर्लाहीः सलेमपुरमा रहेको चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाधी ताल, लालबन्दीमा रहेको राधाकृष्ण मन्दिर र सागरनाथको सागरनाथ जंगल सहितका वन क्षेत्र ।

महोत्तरीः जलेश्वरमा रहेका जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पंचधुरा माईस्थान, रौजा बजारमा रहेको मुस्लिमहरुको रौजा मजार र टुटेश्वरमा रहेको टुटेश्वरनाथ मन्दिर ।

धनुषाः जनकपुरधाममा रहेको जानकी मन्दिर, मिथिला आर्ट हाउस, विवाह मण्डप, जनकपुर रेलवे र गंगा सागर ।

सिरहा: बन्दीपुरमा रहेको बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पञ्चवती मन्दिर र लहानमा रहेको सलहेश फुलबारी स्थान ।

सप्तरीः छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिकामा रहेको लहजरा ताल र राजविराजको राजदेवी मन्दिर ।

प्रदेश ३ः पहिलो उडानबाट भरतपुर पुग्ने २० पर्यटकलाई सौराहामा निःशुल्क बास

प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट पर्यटन प्रवद्र्धका लागि खर्च गर्ने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन आयोजनामार्फत काम गर्न लागिएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालका अनुसार पर्यटकीय क्षेत्रको प्रचार प्रसारका कामसँगै चालु आर्थिक वर्षमा तीनवटा हिल स्टेशन निर्माण गर्ने र अरु चारवटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको छ ।

यस्तै मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्ने, १० वटा पर्यटकीय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिएको छ । पर्यटन प्रवद्र्धनको काम तल्लो स्तरसम्म पनि गर्दै लैजाने तयारी गरिएको मन्त्री नेपालले बताउनुभयो । मन्त्रालयले ‘भ्रमण वर्ष २०२०’ का अवसरमा एक दर्जन कार्यक्रमको तालिका पनि सार्वजनिक गरेको छ । भ्रमण वर्षको उद्घाटनका दिन अर्थात् जनवरी १ मा काठमाण्डौको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गरिने मन्त्री नेपालले बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निःशुल्क बसोबास गराउने घोषणा गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाण्डौबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निःशुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले बताउनुभयो ।

संघीय सरकारको निर्णयलाई सघाउँदै प्रदेश सरकार

भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको अभियानलाई सघाउन प्रदेश ३ सरकारले १० वटा स्थानमा हिल स्टेशन सञ्चालन गर्दैछ । मुढे, जिरी, सोम्दाङ, रुबीभ्याली, दामन–चित्लाङ–कुलेखानी कम्प्लेक्स, हेलम्बु–पाँचपोखरी, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीगढी–खुर्कोट, चिम्टेश्वर र ककनी गरी १० स्थानलाई हिल स्टेशन घोषणा गरी ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । १८ वटा नया“ भ्यूटावर निर्माण गरिन तयारी गरिएको छ ।

प्रदेश ३ मा रहेका पदमार्गको विकास, पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्ने सरकारले योजना बनाएको छ । पर्यटकीय क्षेत्र मात्रै होइन, पूर्वाधार विकासमा पनि प्रदेश सरकारले ध्यान दिएको मन्त्री नेपालले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर, धादिङ, काभ्रे, रामेछाप र ललितपुर जिल्लामा अधिकतम पर्यटकलाई पुग्नेगरी होटलहरुको स्तरोन्नती गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

महत्वपूर्ण हिमालले पर्यटक लोभ्याउँदै

गौरीशंकर हिमाली पदयात्रा, गणेश हिमाल, जुगल, शैलुङ विकास कार्यक्रम, गोञ्जला पासलाई खुला गरी लाङ्टाङ–गोसाइकुण्ड तथा तातोपानी र गौरीशंकर–रोल्वालिङसँग लिंक गरी पर्यटकीय पदमार्गको विकास गरिने प्रदेश सरकारको तयारी छ । हिमालले धेरै पर्यटक भित्र्याउन सहयोग पुग्ने मन्त्री नेपालले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा सफारीमार्ग, ५ वटा पुल, मचान निर्माण गरिनुका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा मचान, होमस्टे तथा पदमार्ग विकासका कार्यहरुको थालनी गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै चालु आर्थिक वर्ष तीनवटा हिल स्टेशन निर्माण गरिने र अन्य ४ हिल स्टेशन निर्माण गर्ने तयारी रहेको जानकारी गराइएको छ ।

गण्डकी प्रदेशः १ सय १० पर्यटकीय गन्तव्यको पहिचान

गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा हुने उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट साँस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी छ ।

घोषणा कार्यक्रम स्थल पोखराको बाराहीघाट खेलमैदानमा पुष्पवृष्टी गर्ने तयारी छ भने महानगरको प्रत्येक वडाबाट ब्यानरसहितको बेलुन उडाउने गण्डकी प्रदेशका पर्यटन वर्ष संयोजक जुद्धबहादुर गुरुङले बताउनुभयो । त्यस अवसरमा आमसभासहित सांस्कृतिक कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो । त्यसअघि पोखराको फिस्टेल गेटदेखि कार्यक्रमस्थलसम्म विभिन्न जातजातिको झाँकी सहितको ¥याली गरिनेछ ।

गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक भ्रमण वर्ष, २०२० लाई छिमेकी भ्रमण वर्ष, २०२१ लाई पर्यटन पूर्वाधार वर्ष र २०२२ लाई अन्तराष्ट्रिय भ्रमण वर्ष भनेर काम अगाडि बढाइसकेको गुरुङको भनाइ छ । प्रदेश सरकारले यसरी तय गरेको कार्यक्रमले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई धेरै सघाउ पुग्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले यस वर्ष आधारशीला तय गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य समेत लिएको छ । अहिले गण्डकी प्रदेश सरकार पर्यटकीय गन्तव्यको खोजीमा लागिपरेको छ । ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यहरुको खोजीका लागि प्रत्येक जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा छनोट समिति गठन गरेर काम गरिरहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले बताउनुभयो ।

जिल्लाबाट छनोट भएर आएका पर्यटकीय गन्तव्यमध्ये पहिलो चरणमा १ सय १० वटा ठाउँ छनोट गरी ती ठाउँहरुको पूर्वाधार विकासमा लाग्ने उहाँका भनाइ छ । ती ठाउँको पूर्वाधार विकासका लागि यो वर्ष १७ करोड ६० लाख विनियोजन गरको उहाँले जानकारी दिनुभयो । यो बजेटलाई बाँडफाँड गरी आवश्यक पूर्वाधार विकास गरिने उहाँको भनाई थियो । यसरी प्रदेश सरकारले पर्यटनको क्षेत्रमा गरेको लगानीले नेपाल भ्रमण वर्ष २०२० लाई धेरै सहयोग पुग्ने उहाँको भनाइ छ । पछिल्लो तथ्यांकअनुसार नेपाल आउने पर्यटकमध्ये ४५ प्रतिशत गण्डकी प्रदेशमा आउने गर्छन् ।

गण्डकी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा सहासिक पर्यटनका हिसाबले अत्यन्त महत्वपूर्ण प्रदेश हो । मौलिक कला, संस्कति, प्राकृतिक एवम् ऐतिहासिक सम्पदा र भौगोलिक तथा जैविक विविधता हिसाबले गण्डकी प्रदेश अग्रस्थानमा छ ।

गण्डकी प्रदेशका प्रमुख गन्तव्य कुन–कुन ?

गण्डकी प्रदेश सरकारले छनोट गरेको १ सय १० पर्यटकीय गन्तव्यमा मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, गलेश्वर, बिन्ध्यवासिनी, तालबाराही, ढोरबाराही, छाब्दी बाराही, केलादीघाट, त्रिवेणी, देवघाट, सेतीवेणी, छिम्केश्वरी, बाग्लुङ कालिका, गह्रौ कालिका, सतौंचण्डी कालिका, मौला कालिका, अकलादेवी लगायतका धार्मिक पर्यटकीय गन्तव्य पर्दछन् । त्यस्तै ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण तथा मनास्लु संरक्षण क्षेत्र, धौलागिरी, अन्नपूर्ण माछापुच्छ्रे मर्दी तथा मनास्लु हिमश्रृँखला र त्यस अन्तर्गत रहेका महत्वपूर्ण हिमालले यो प्रदेशको पर्यटकीय आयाम थपेको छ ।

संसारकै अग्लो ताल तिलिचो, रामसारमा सूचीकृत पोखराका ९ तालहरु, संसारकै सबैभन्दा गहिरो गल्छी, शालिग्राम पाइने कालीगण्डकी नदी तथा अन्धगल्छी, रुप्से झरना, विभिन्न गुफाहरु, ग्रामीण बस्ती यहाँका महत्वपूर्ण पर्यटकीय गन्तब्य बनेको छ । नेपालकै पहिलो सिरुबारी होमस्टे, घलेगाँउ, राईनासकोट, भुजुङ, थारु भिलेज जस्ता होमस्टे साथै थपिंदै गरेका होमस्टेहरुमा पर्यटकको चाप बढिरहेको छ । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग, माछापुच्छ्रे पदमार्ग, मनास्लु, मदी हिमाल, घोरेपानी, पुलहिल पदमार्ग यहाँका प्रमुख पर्यटकीय पदमार्ग बनेका छन् ।

प्रदेश ५ः लुम्बिनी भ्रमण वर्षदेखि घुम्न जाऔं बर्दियासम्मको कार्यक्रम

लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको प्रदेश ५ ले नेपाल भ्रमण वर्ष २०२० को भव्य तयारी गरेको बताएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथावातावरण मन्त्रालयकाअनुसार घुम्न जाउँ बर्दिया भन्ने नाराका साथमा बर्दियाको ठाकुरद्वारामा १ जनवरी २०२० का दिन बिहान ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै बाँके राष्ट्रिय निकुञ्ज परिसरबाट बाँके जिल्लाको जंगल सफारीको उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्रालयकाअनुसार २०२० भारतीय पर्यटकको उपस्थितिमा सन २०१९ को अन्तिम दिन राती बाँके होटल एशोसिएसनको आयोजनामा भ्रमण वर्षको स्वागत गर्ने तयारी छ । भ्रमण वर्षको अवधि २०२० मा विभिन्न जिल्लामा पर्यटनसम्बन्धी मेलामहोत्सवका प्याकेज कार्यक्रम, लुम्बिनीमा ३ दिने पर्यटन बसाइको प्याकेज, ‘घुम्न जाऔंँ बर्दिया’विशेष प्याकेज, बाँके जंगल सफारी, रानीमहल पर्यटकीय महोत्सव, कमलदह पर्यटकीय मेला, महोत्सव आयोजना हुने प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सन् २०२० मै स्वर्गद्वारीमा छिमेकी देशका तीर्थालुहरुलाई महाभिषेक प्याकेज कार्यक्रम, लुम्बिनी ढोरपाटन हुँदै डोल्पासम्मको ट्राभल रुटको अनुसन्धान जस्ता कार्यक्रम तय भएका छन् । भ्रमण वर्षको समयमा जिल्लामा होमस्टे तालिम, होमस्टे पूर्वाधार निर्माण, डकुमेन्ट्री, पर्यटन प्रोफाइल, बुद्ध सर्किटको अध्ययन प्रतिवेदन, सबै जिल्लाको पर्यटन क्षेत्रको अध्ययन लगायतका कार्यक्रम समेत मन्त्रालयले तय गरेको छ ।

प्रदेश ५ का प्रमुख पर्यटकीय स्थलहरु

लुम्बिनीः विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा पर्दछ । लुम्बिनी बौद्ध धर्मालम्बीहरुको पावन र तपोभूमि हो । झण्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई ‘द लाइट अफ एसिया’ बाट समेत चिनिन्छ । लुम्बिनीमा विभिन्न देशका कला संस्कृति झल्कने खालका गुम्बाहरु समेत रहेका छन । मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । लुम्बिनी बौद्ध धर्मालम्बीहरु मात्रै होइन, हिन्दूहरुले समेत आस्थाको केन्द्रको रुपमा सम्मान गर्ने पवित्र भूमि हो ।

रानीमहलः लोभलाग्दा पाखापखेरा तथा छहराहरुको बीचमा रहेको पाल्पाको रानीमहल अर्को पर्यटकीय आकर्षणको केन्द्र हो । नेपालको ताजमहलको रुपमा चिनिने रानीमहल कालीगण्डकी नदीको उत्तरतर्फको मोडमा विशाल चट्टानमाथि पश्चिमी कला शैलीमा निर्माण भएको छ । जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहलको निर्माण गरेका हुन् । वि.सं. १९५० सालमा शिलान्यास भइ चार वर्ष लगाएर यसको निर्माण सम्पन्न भएको हो ।

स्वर्गद्वारीः प्यूठान जिल्लाको सदरमुकाम खलंगाबाट २६ किलोमिटर पश्चिममा रहेको स्वर्गद्वारी पाँच नम्बर प्रदेशकै प्रसिद्ध धार्मिक स्थल हो । यसलाई नेपालका प्राचिन मन्दिरहरुमध्ये एउटा मानिन्छ । समुद्री सतहबाट ७ हजार फिट उचाईंमा रहेको यसको क्षेत्रफल २६ सय रोपनी रहेको छ ।
पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा त्यही बाटो भएर गएको द्वार भएकाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । रोल्पाको घुम्तीमा वि. सं १११६ मा जन्मिएका १०८ बाल तपस्वी नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्निप्रज्वलित गरी ११५२ वैशाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु भएको थियो । विश्व शान्तिका लागि सञ्चालित अखण्ड यज्ञ अहिले पनि निरन्तर बलिरहेको छ ।

बर्दिया ठाकुरद्वाराः जंगली जनावरको अवलोकन र सिमसार क्षेत्रको भ्रमण तथा अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका लागि बर्दियाको ठाकुरद्वारा प्रमुख स्थल हो । बर्दिया राष्ट्रिय निकुञ्जले गर्दा यो पर्यटकीय गन्तव्य बनेको छ । ठाकुरद्वारामा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावर समेत पाइने गर्दछन् । स्वदेशी तथा विदेशी पाहुनाहरुका लागि घुमफिर गर्न ठाकुरद्वारा आकर्षक गन्तव्य हो ।

रिहारः दाङ जिल्लाको सबैभन्दा महत्वपूर्ण स्थल रिहार हो । यसको इतिहास ५ हजार वर्ष पुरानो रहेको छ । द्वापर युगमा ऋषिमुनिहरुले विहार गरेको हुँदा यो ठाउँको नाम रिहार रहनगएको धार्मिक विश्वास रहेको छ ।

पाणिनि तपोभूमिः अर्घाखाँचीको पाणिनी गाउँपालिका जंगलको बीचमा पाणिनी तपोभूमि अवस्थित रहेको छ । पाणिनी तपोभूमिको उत्तरतर्फको पानी कालीगण्डकी र दक्षिणतर्फको पानी बाणगंगा नदीमा मिसिन आउँछ । तपोभूमिमा मन्दिर, यज्ञशाला, भ्यूटावर बगैंचाका साथै पाणिनी ऋषिको मूर्तिसमेत रहेको छ ।

रेसुंगाः गुल्मीको सदरमुकाम तम्घासदेखि ६ किलोमिटर उकालो दूरी पार गरेपछि रेसुंगा क्षेत्रमा पुग्न सकिन्छ । त्यहाँबाट विभिन्न हिमश्रृंखला, तालतलैयाका अतिरिक्त तराईको समथरभूमिको समेत दृश्यावलोकन गर्न सकिन्छ । समुद्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको रेसुंगा आफैंमा सुन्दर र अनुपम छ ।

जगदीशपुर तालः १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको एशियाकै मानवनिर्मित तालमध्येको ठूलो ताल हो । कपिलवस्तुको निग्लिहवामा रहेको तालमा १२८ भन्दा बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास रहेको छ । हरेक जाडो महिना सुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने चरा गर्मी महिना सुरु भएसँगै फर्कने गर्दछन् । विश्व सम्पदा सूचीमा सूचीकृत तालमा हिउँदमा साईबेरिया, रुस, चीन, मंगोलिया तथा मध्य एशियाबाट समेत चराहरु आउने गर्दछन् ।

कर्णाली प्रदेशः गन्तव्य पहिचानदेखि पर्यटकलाई सम्मानसम्म

प्रदेश सरकारले अन्तर्राष्ट्रिय र राष्ट्रिय महत्वका पर्यटकीय गन्तव्य पहिचान गरेर तिनको प्रर्वद्धन र प्रचारप्रसार गरिरहेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ४० वटा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय स्थलमा सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डेदह, छायाँ क्षेत्र र खैराबाङ मन्दिर, मुगुको चंखेलीहिमाल, रिडीमच्छे पर्यटकीय क्षेत्र र छायाँनाथ कोइकी हिमाल, तिहार गुम्बा, बगर पर्यटकीय क्षेत्र रहेका छन् ।

यस्तै जुम्लाको जन्दनाथ–गुठीचौर–पातारासी सर्किट र सिंजा उपत्यका र कालिकोटको पचाल झरना, डोल्पाको शेफोक्सुण्डो र शेगुम्बा– बिजेर–साल्दाङ–तिन्जे– धोतराप–छार्का सर्किट, हुम्लाको लिमिभ्याली र रलिङ–बारदेवभ्यू डुडल–खार्पुनाथ –सिमकोट सर्किट, मुगुको रारा ताल र छायाँनाथ, चुलिमालिका कोट दरबार, पंच दरबार सर्किट, पिली र मान्म रहेका छन् ।
यस्तै दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, पश्चिम रुकुमको सिस्ने हिमाल, स्याफ्रु ताल, मुसिकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, नदैगढ, कुशे, ठाकुरजीको गाठ सर्किटलाई पर्यटकीय गन्तव्यको रुपमा प्रदेश सरकारले पहिचान गरेको छ ।

भ्रमण वर्षको शुभारम्भ बुलबुलेबाट

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमर्ण वर्ष २०२० लाई सुर्खेतमा रहेको पर्यटकीय क्षेत्र बुलबुले तालबाट सुरु गर्ने तयारी गरेको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले बुलबुलेबाट पर्यटन वर्षको शुभारम्भ गरिने तयारी गरेको बताउनुभयो । उहाँले पर्यटन वर्षलाई सफल बनाउन सबै पालिकासँग समन्वय गरेर काम गर्ने पनि बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेशका प्रमुुख प्राकृतिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय सम्पदाहरुको फोटो, ब्यानर तथा पोष्टरहरुको प्रचारप्रसार गरिने तथा प्रदेशको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति गरिने मन्त्रालयले जानकारी दिएको छ । साथै कर्णाली प्रदेशको छुट्टै पहिचान हुने गरी तयार गरेको लोगो सार्वजनिक गर्ने तयारी छ । भ्रमण वर्षको पहिलो दिन कर्णालीमा आउने पर्यटकहरुलाई विमानस्थल र नाकाहरुमा सम्मान पनि गरिनेछ ।

पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली प्रदेशले भ्रमण वर्ष २०२० मा कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । १ लाख विदेशी पर्यटक र चार लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य लिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव आचार्यले जानकारी दिनुभयो । उहाँले प्रदेशमा पर्यटकहरुलाई आकर्षित गर्न पर्यटकीय गन्त्व्यका पहिचान, प्रचारप्रसार गर्ने र निजी पर्यटन व्यवसायीसँग साझेदारी गरेर प्याकेजसहितको कार्यक्रम ल्याउने तयारी थालिएको बताउनुभयो ।

कर्णालीका प्रमुख पर्यटकीय गन्तव्यहरु

रारा तालः कर्णाली प्रदेशको प्रमुुख पर्यटकीय क्षेत्र मध्य एक हो राराताल । मुगु जिल्लामा रहेको रारा ताल समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाइ ५ किलोमिटर र चौडाईइ ३ दमशलव २ किलोमिटर छ भने गहिराइ १ सय ६७ मिटर रहेको छ । रारा ताल पुग्नका लागि सुर्खेतबाट सडक र हवाइ तथा नेपालगञ्जबाट हवाइ यात्रा पनि गर्न सकिन्छ । विश्वमा कतै नपाईने उच्च स्थानको असाला माछा रारा तालमा रहेको छ ।

शे फोक्सुण्डो तालः कर्णाली प्रदेशको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हो शे फोक्सुण्डो ताल । डोेल्पा जिल्लामा रहेको यो ताल शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र नै छ । शे फोक्सुण्डो ताल समुद्री सतहदेखि ३ हजार ९ सय मिटरको उचाइमा रहेको छ । यो नेपालको सबैभन्दा गहिरो तालका रुपमा समेत प्रसिद्ध छ ।

शे फोक्सुण्डो तालको लम्बाइ ४.८ किलोमिटर, चौडाइ १.६ किलोमिटर र गहिराइ ६ सय ५० मिटर छ । नेपालगञ्ज, सुर्खेतदेखि हवाई यात्रामा जुफालसम्म गएपछि त्यहाँबाट डेढ घण्टा गाडी चढेर सदरमुकाम दुनै पुगिन्छ । दुनैबाट पैदलयात्रा मार्फत शे फोक्सुण्डो पुग्न सकिन्छ । ताल वरपर गुम्बा र बस्ती रहेका छन् ।

काँक्रेबिहारः दोस्रो लुम्बिनीका रुपमा परिचित ऐतिहासिक पर्यटकीयस्थल काँक्रेविहार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पर्दछ । वीरेन्द्रनगर बजारको मंगलगढी चोकबाट करिब साढे तीन किलोमिटर दक्षिणतर्फ गएपछि काँक्रेविहार पुग्न सकिन्छ । धार्मिक किम्वदन्तीअनुसार काँक्रेविहारमा पाँच पाण्डवहरुले बसोबास गरेको मानिन्छ । काँक्रेविहारलाई हिन्दू, बौद्ध धर्मावलम्बीको सामुहिक केन्द्रको रुपमा लिने गरिन्छ । पुरातत्व विभागले १४ वर्षअघि २०५७ सालमा उत्खनन् गरी भग्नावशेषका मूर्तिहरु निकालेर पुनर्निर्माणको काम सकाएको छ ।

दैलेखको ज्वालाः दैलेख जिल्ला धार्मिक रुपले धनी जिल्ला हो । दैलेखको सदरमुकाम पश्चिमतर्फ भैरवी गाउँपालिका, दुल्लु नगरपालिका र नारायण नगरपालिका सीमानामा श्रीस्थान र दुल्लु र भैरवीको नाभिस्थान पर्दछ । पानीमा बल्ने ज्वाला भएकाले यसलाई धार्मिक पर्यटक स्थलको रुपमा चिनिन्छ । सुर्खेतको वीरेन्द्रनगरबाट बसको यात्रामा करिब ३ घण्टामा सदरमुकाम पुगिन्छ । र त्यहाँको करिब ४५ मिनेटको गाडीको यात्रापछि नाभिस्थान र श्रीस्थान पुगिन्छ । अहिले त्यहाँ सरकारले ग्यास निकाल्नको लागि उत्खनन्को काम अघि बढाएको छ ।

सिँजा उपत्यकाः पर्यटकका लागि घुम्नलायक क्षेत्र मध्य जुम्लाको सिँजा प्रमुख मानिन्छ । ऐतिहासिक सिँजा उपत्यका नेपालीभाषाको उद्गमस्थलका साथै तत्कालीन राजा नागराजले स्थापना गरेको विशाल सिँजा साम्राज्यको राजधानी पनि हो । सिँजामा प्रायः इतिहासकारहरु, अनुसन्धानकर्ताहरु, विद्धानहरु र प्रशासकहरुदेखि दलका नेताहरुकोसमेत आगमन हुने गर्दछ ।
विशेषगरी धेरैजसो नेपालका जातिहरुको मूलथलो भएकाले आफ्नो जन्मभूमि खोज्दै सिँजामा आउने बढी नै देखिन्छन् । सिँजा कर्णालीको राजधानी वीरेन्द्रनगरबाट स्थलमार्गबाट एक दिनमा सजिलै पुगिन्छ । सुुर्खेत विमानस्थलबाट र नेपालगञ्त्र विमानस्थलबाट पनि जान सकिन्छ ।

कुपिण्डे दहः प्राकृतिक रुपले सुन्दर कुपिण्डे दह सल्यानमा पर्छ । त्यहाँ पुुग्नका लागि सुर्खेबाट तीन घण्टा लाग्छ । बराहमन्दिरसमेत रहेको कुपिण्डेदहको लम्बाई १२ सय २६ मिटर लम्वाइ, २ सय ५० मिटर गहिराइ, परिधि २ हजार ८ सय र क्षेत्रफल ३० हेक्टर रहेको छ ।

बुुलबुले तालः वीरेन्द्रनगरमै रत्न राजमार्गको छेउमै बुलबुले तालको मुख्य गेट छ । जमिनबाट पानी बुलबुल गर्दै आउने भएर यसकोे नाम बुुलबुले ताल राखिएको हो । यसबाहेक सुुर्खेतमा घण्टाघर, देउतीबज्यै मन्दिर, चमेरो गुुफा पनि प्रमुुख पर्यटकीय स्थलको रुपमा छन् ।

पचाल झरनाः पचाल झरना कालिकोटमा पर्दछ । नेपालकै ठूलो झरना भनिएको पचाल झरनाको उचाइ ३ सय ८१ मिटर रहेको बताइन्छ । प्रदेश सरकारले यसलाई प्रमुुख पर्यटकीय गन्त्व्यका रुपमा तोकेको छ । यस्तै ऐतिहासिक महत्व बोकेको जाजरकोट दरबार जाजरकोट जिल्लामा रहेको छ । बाइसे र चौबीसे राज्यको इतिहास बोकेको जाजरकोट दरबार एउटा पर्यटकीय स्थलको मुख्य गन्तव्य पनि हो ।

यस्तै स्यार्पु ताल रुकुम पश्चिमजिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि करिब २ घण्टाको पैदल यात्रा पछि पुगिन्छ । यस्तै मुगुको चंखेली हिमाल पनि कर्णाली प्रदेशको एउटा पर्यटकीय गन्तव्य हो । रारा तालबाट मनोरम दृश्य देखिने यो हिमाल लगभग बाह्रै महिना चढ्न सकिन्छ ।

पवित्र देवभूमि सुदूरपश्चिममा यस्तो छ तयारी

नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष सुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताउनुभयो ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहको छ । मुख्य समारोहअघि प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि गरिने पर्यटन गतिविधिलाई अगाडि बढाउने तयारी भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताउनुभयो ।

भ्रमण वर्षलाई सफल तुल्याउन प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको छ । यसका लागि भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशमा भित्रिने पर्यटकको स्वागतका लागि चिसापानी, खक्रौला, त्रिनगर, गड्डाचौकी, झुलाघाटलगायतका सीमानाका र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्न लागिएको छ । स्वागतद्वारमा प्रदेशका पर्यटकीय गतिविधि र पर्यटन गन्तव्य झल्किने र आवश्यक सूचना दिने खालका पोष्टर र होर्डिङ बोर्डसमेत राख्न लागिएको छ ।

‘देव भूमि सुन्दर भूमि’ नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौँ हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ ।

अभियानअन्तर्गत सीमानाकामार्फत भित्रिने पर्यटकको विवरण सङ्कलनका साथै पर्यटकलाई लक्षित गरी नाकाबाट भित्रिने गाडीका चालकका लागि सचेतना कार्यक्रम सुरु गरिसकेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

यस्तै सीमानाकाबाट भित्रिने भारतीय गाडीका चालकले रुट परमिट(सडक इजाजत) लिनका लागि झन्झट व्यहोर्नुपरेको अवस्था रहेको परिप्रेक्ष्यमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमानाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था गर्न लागिएको पनि उहाँले बताउनुभयो ।

प्रदेश सरकारले भ्रमण वर्षलाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहितका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको छ । यसका लागि तेस्रो देशका पर्यटकलाई प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिने व्यसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी तयारी भइरहेको छ । यो प्रदेशमा तेस्रो देशको तुलनामा भारतीय पर्यटक बढी आउने गरेका छन् ।

सुदूरपश्चिम पवित्र देव भूमि

परापूर्वकालदेखि पवित्र देव भूमिका रूपमा चिनिएको सुदूरपश्चिम प्रदेशमा रहेका सात बहिनी भगवती (देवस्थल) पर्यटकका लागि मुख्य आकर्षणका रुपमा रहेका छन् । त्रिपुरासुन्दरी, मैलौली, निगलासैनी, उग्रातारा, शैलेश्वरी, सुर्मादेवी र बडिमालिका सात वटा बहिनी भगवती हुन् ।
यो प्रदेशमा वैद्यनाथ धाम, पाताल भूमेश्वर, मलिकार्जुन, परशुराम धाम र गोदावरीसमेत पाँच वटा धामसमेत धार्मिक पर्यटनका मुख्य गन्तव्य हुन् । यसबाहेक धनगढीको १०८ फिट अग्लो शिवलिङ्गसहितको शिवपुरी धाम, कञ्चनपुरको महाकाली नदी माथि बनेको झोलुङ्गे पुल, कैलालीको पूर्वी सीमा नदी कर्णालीमा बनेको दक्षिण एशियाकै नमूनाको ‘स्टेट केबु ब्रिज’ धनगढीको ‘यएर क्याप्ट म्युजिम’ पनि मानव निर्मित आकर्षक क्षेत्र हुन् ।

नेपाल सरकारले तोकेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमध्ये सुदूरपश्चिम प्रदेशमा बाजुराको बडिमालिका, बझाङको गोरखनाथ मन्दिर, डोटीको बड्डी केदार, दार्चुलाको मालिकार्जुन, कैलालीको बर्दगोरिया मन्दिर, भादा गाउँ, टीकापुर सर्किट, दोधाराचाँदनी क्षेत्रलगायतका आठ पर्यटकीयस्थल समावेश छन् । यो प्रदेशमा प्राकृतिकरूपमा मनोरम क्षेत्र खप्तड, रमारोशन, अपिनम्पा संरक्षण क्षेत्र, शुक्लाफाँटा, रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रलगायतका मुख्य पर्यटकीय गन्तव्यस्थल हुन् ।

प्रदेशमा चालू वर्षमा ‘मिसन सैपाल’को योजना सञ्चालन गर्न लागिएको छ । यो प्रदेशका हिमाल आरोहरण गर्न आउने पर्यटकलाई अपी सैपाल हिमाल आरोहण गराउनका लागि सहजीकरण गर्न यो अभियान गर्न लागिएको हो । दार्चुला र बझाङ जिल्लामा पर्ने यी हिमालको आरोहणको योजना सङ्घ र प्रदेश सरकारको समन्वयमा कार्यान्वय गर्न लागिएको हो । गएको वर्ष अपी शैपाल हिमाल आरोहण गर्न गएको एक टोली प्रतिकूल मौसमका कारण आरोहण गर्न नसकी आधार शिविरबाटै फर्किएको थियो ।

प्रदेश सरकारको नीतिबमोजिम पर्यटनको विकास र प्रवर्द्धन गर्न प्रदेशसभा सदस्यको समन्वय र सिफारिसमा हरेक निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र, एक पर्यटन क्षेत्र’को योजना अघि बढाउन लागिएको छ । पर्यटकीय सम्भावना भएका क्षेत्रलाई एकापसमा जोडेर पर्यटकीय करिडोर निर्माणको अवधारणा पनि अघि बढाउन लागिएको छ । (उज्यालो नेटवर्कबाट साभार)

प्रतिक्रिया दिनुहोस्