नेपाल भ्रमण वर्ष–२०२० को भब्य उद्घाटन



फिदिम, १६ पुस

काठमाण्डौँ सहित देशका सातै प्रदेशमा भब्यताका साथ नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट सुरु भएको नेपाल भ्रमण वर्षको काठमाण्डौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित विशेष कार्यक्रममा उद्घाटन गर्नुभयो । एकताको प्रतीकस्वरूप बत्ती बालेर राष्ट्रपति भण्डारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।

समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघ÷संस्था, कलाकारहरुको उपस्थिति रहेको थियो । समारोहका लागि विभिन्न देशबाट पर्यटनमन्त्रीहरु चीनका वाङ साओफेङ, भारतका प्रह्लाद सिंह पटेल, म्यानमारा यू ओन माउंग र जमैकाका एडमन्ड ब्राटलट समेत सहभागी थिए ।

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्च पदस्थ व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । त्यस्तै पर्यटन व्यवसायी, पर्यटन क्षेत्रसँग सम्बद्ध संघ÷संस्थाहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति राखिएको थियो ।

भ्रमण वर्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘अतिथि देवो भवः’ नेपालको मूल सांस्कृतिक आधार भएको जनाउँदै यसलाई जोगाउनुपर्ने वताउनुभयो । उहाँले यसै साँस्कृतिक भावनाका कारण विश्वका पर्यटक नेपाल आउन लालायित हुने विश्वास पनि ब्यक्त गर्नुभयो ।

“पर्यटकलाई देवतासमान मानेर सत्कार गर्ने हाम्रो संस्कृति हो” राष्ट्रपति भण्डारीले भन्नुभयो “यो असल संस्कृतिलाई हामीले जोगाउनुपर्छ ।” नेपाल दुई दशकको राजनीतिक अस्थिरता र द्वन्द्वका कारण सबल अर्थतन्त्रतर्फ अगाडि बढ्न नसकेको अवस्थामा मुलुकको सामाजिक, आर्थिक विकासलाई तीव्रता दिन भ्रमण वर्ष २०२० सफल उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

नेपाल प्राकृतिक, साँस्कृतिक र जैविक रूपले विविधतायुक्त मुलुक भएकोले सबै खालका पर्यटकलाई आकर्षित गर्न सकिने राष्ट्रपति भण्डारीको भनाई छ । “नेपालमा विश्वलाई देखाउने सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, चितवनको सौराहा, अन्नपूर्ण आधार शिविर मात्र होइनन्, यस्ता कैयन् पर्यटकीय स्थल छन्” सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाल आएका पर्यटकले यी स्थान भ्रमण गरेर नयाँ अनुभव लिनुहुनेछ ।”

प्रदेश १ मा भ्रमण वर्ष–२०२० को भब्य उद्घाटन

प्रदेश १ मा नेपाल भ्रमण वर्ष–२०२० को पहिलो दिन बुधबार भव्यरुपमा उद्घाटन भएकोे छ । विराटनगरस्थित शहिद रंगशालमा औपचारिक कार्यक्रम आयोजना गरी एक नम्बर प्रदेश सरकारका मुख्य मन्त्री तथा भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक शेरधन राईले उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा विद्यार्थी, सेनाको झाँकी, प्रहरीको मार्चपास, विभिन्न समुदायको गीत तथा नृत्यका साथै हेलिकोप्टरबाट पुष्प बृष्टिसमेत गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले समृद्ध नेपाल र सुःखी नेपालीको साझा चाहनालाई पुरा गर्न भ्रमण वर्षले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्षमा पर्यटक भित्र्याउन प्रदेश १ सरकारले केवलकार, बहुजाती संग्रहालय, होमस्टे निर्माणमा जोड दिएको उहाँले वताउनुभयो ।

उद्घाटनमा भारतको सिक्किम, बंगाल र बिहार राज्यका सांसद र पर्यटन व्यवसायीहरुको समेत सहभागिता रहेको थियो । नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारले छनौट गरेका एक सय पर्यटकीय गन्तव्य मध्ये १६ वटा एक नम्बर प्रदेशमा पर्छ । (तस्वीर नेपाल न्यूजबाट साभार)

प्रतिक्रिया दिनुहोस्