दोश्रो फिदिम नगर कप फुटवलको उपाधि रेड स्टार झापालाई



फिदिम, १६ पुस

पाँचथरको फिदिम वडा नं. ७ रानीटारमा आयोजित दोस्रो फिदिम नगर कप फुटवल प्रतियोगिताको उपाधि झापाको रेडस्टार क्लवले उचालेको छ ।

रानीटारस्थित बराजु रङ्गशालामा मंगलबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक स्वतन्त्र क्लव रानीटारलाई ३–१ को सहज जीत निकाल्दै रेड स्टारले उपाधि उचालेको हो । नगर कपको पहिलो संस्करणको उपाधि पनि रेड स्टारले नै जितेको थियो रेड स्टारलाई च्याम्पियन बनाउन खेलको पाँचौं र १९ औं मिनेटमा पुजन लिम्बूले गोल गरेभने ३५ औं मिनेटमा निशान लिम्बूले गोल गरेका थिए ।

खेलको पहिलो हाफमा ३–० ले पछि परेको स्वतन्त्र क्लवले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्किने कोशिस गरेको थियो । स्वतन्त्र क्लवले खेलको अन्त्यमा सान्तवना गोल फर्काएको थियो । उपाधिसँगै रेडस्टार झापाले रु. एक लाख ११ हजार १११ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेताले रु. ५५ हजार पाँच सय ५५ सहित ट्रफी र मेडल हात पा¥यो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स आयोजक स्वतन्त्र क्लवका अर्जुन गुरुङ, उत्कृष्ट मिडफिल्डर हेमन्त दर्नाल, बेष्ट फरवार्ड दिनेश शेर्मा र सर्बाधिक गोलकर्ता मिलन लिम्बू बने । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडी रेड स्टार झापाका क्रमशः राजकुमार लिम्बू र निशान लिम्बू घोषित भए । उनीहरुले जनही रु. २–२ हजार प्राप्त गरे । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पुष १० गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न जिल्लाका आठ वटा फुटवल टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्