हाडनातामा मायाँ प्रेमः विवाह गरौं भनेपछि हत्या



ताप्लेजुङ, १४ पुस

मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन् । घर कसिंगर गरिन् । आगो जोडिन् । चिया पकाइन् । अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन् । सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन् । दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कुटे । बुवा नन्दकुमार कामको सिलसिलामा सदरमुकाम फुङलिङ गएका थिए । भोलिपल्ट छिमेकीको पर्म तिर्न जानुपर्ने थियो । बेलुका खाना खाने क्रममा आमाले मन्दिरालाईं भनेकी थिइन् “दिदी र म बाँकी मास कुट्छौं, तँ मेला जा है ।” खाना खाएर ‘हुन्छ’ भन्दै निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी १९ वर्षिय मन्दिरा हालसम्म बेपत्ता छिन् ।

मन्दिरालाई बेपत्ता पारेको अभियोगमा दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबिच प्रेम सम्बन्ध रहेको खुलेको छ । रमेशले बयानमा मन्दिराको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ । “मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो । उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो । हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो । त्यसैले मारिदिएँ” रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ । मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्दा दायर गरी अनुसन्धान गरिरहेको छ ।

काका चन्द्रका अनुसार मन्दिरा बेपत्ता भएकै दिन दिदी एलिसाको फेसबुकमा झापाको हल्दीवारीस्थित नारायण पौडेलको छोरा दिपकसँग विवाह गरेको भनेर मन्दिराको फेसवुकबाट मेसेज आएको थियो । त्यसपछि परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगेका थिए तर भेटेनन् ।

दिदीकै फेसवुकमा फेरि दलित थरका युवकले आफूलाई भारत पु¥याएको भनेर अर्को मेसेज आयो । सो मेजेस रमेशले पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । वेपत्ता भएकै दिन चोकपुरस्थित उनको घरबाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरी पुलबाट नदीमा फालिदिएको रमेशले प्रहरीसमक्ष बयान दिएको प्रहरीको भनाइ छ ।

यसरी भयो घटना

घटनामा संलग्न रमेशको मंसिर २५ गते विवाह तय भएको थियो । विवाहका सामान खरिद गर्न उनी मंसिर १७ गते फुङलिङ बजार गएका थिए । बजारबाट फर्कने क्रममा पीडितलाई सम्पर्क गरी पुलमा भेट्ने योजनाअनुसार भेट भएको थियो । भेटका क्रममा विवाहबारे विवाद भएपछि हत्या गरि झोलुंगे पुलबाट नदीमा हालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनापछि रमेशले आफू अपहरणमा परेको र असुरक्षा भएको भन्दै आफ्नै परिवार तथा प्रहरीलाई झुटो जानकारी दिएका थिए । मन्दिरा वेपत्ता भएको र रमेशले आफू अपहरणमा परेको दिन एकै भएपछि अनुसन्धान रमेशतर्फ मोडिएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो ।

रमेशको वयानपछि उनलाई लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा र मन्दिराले कानमा लगाएको टप फेला पारेको छ । हाङपाङका रमेश मन्दिराको घरमा बसेर गुप्तेश्वर माविमा अध्यापन गर्थे । “मेरा चार बहिनी छोरी हुन् । रमेशलाई छोरा सरह मानेर राखेको थिएँ, दसैंमा टिका र तिहारमा छोरीले भाइटिका लगाइदिन्थे” मन्दिराका बुबा नन्दकुमारले भने, “आज यस्तो बज्रपात गरायो ।”

छोरीले दाजु र आफुहरुले छोराको रुपमा स्विकारेको मान्छेले घटना घटाएको सुन्दा कृष्णमाया अर्धमुर्छित भएकी छन् । अपराधीलाई हदैसम्मको कारवाही गरिदिन बुबा नन्दकुमारले प्रहरीसमक्ष आग्रह गरेका छन् । प्रहरीले पत्रकार सम्मेलनमार्फत् अभियुक्त रमेशलाई आइतबार सार्वजनिक गरेको हो ।

गोताखोर टोली सशस्त्र प्रहरीमा मात्रै हुने र कुरिनटारबाट आउनुपर्ने भएकाले प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । गृह मन्त्रालयमा लिखित र मन्त्रालयका सचिवसँग टेलिफोन गरेर अनुरोध गरिएको निरौलाले बताउनुभयो । प्रहरी र स्थानीयले तमोरमा मन्दिराको शव खोजिरहेको मन्दिराका काका चन्द्रले जानकारी दिनुभयो । (अन्नपूर्ण पोस्ट डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्