भ्रमण वर्ष : राष्ट्रिय उत्सवको पर्व



योगेश भट्टराई
मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

योगेश भट्टराई
मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठीक त्यही दिन सातैवटा प्रदेशहरूमा पनि एक साथ ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ हुनेछ । हामीले यसका लागि आवश्यक तयारी पूरा गरेका छौँ ।

म गत साउन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा आएँ । त्यसयताका अधिकांश मेरो समय यही ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीमा खर्चिएँ । यसबीचमा अनेकौं छलफल र बैठकहरू सम्पन्न गरेका छौँ । करिब एक सय भन्दा बढी संघ, संस्था, सरकारी तथा सरोकारवाला निकायहरूसँग छलफल गरेका गर्यौं । निजी क्षेत्र, गैरसरकारी संस्थाहरू, अन्तर्रा्ष्ट्रिय क्षेत्र, नेपालस्थित कूटनीतिक नियोग, सामाजिक क्षेत्र, स्वंमसेवी समूह–संगठन लगायतका अनेकौं क्षेत्रहरूसँग हामीले छलफल गर्यौं ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको छ । वास्तवमा देशभित्र भएका ती छलफलहरू २० लाख पर्यटक कसरी भित्र्याउने ? केवल त्यसमा मात्रै केन्द्रित थिएन । राष्ट्रिय एकता कायम गरेर यो भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा कसरी मनाउन सकिन्छ ? राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ ? के के गर्दा पर्यटनका लागि राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ?

र, हामीले पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरू कसरी पूरा गर्न सकिन्छ ? ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ । हाम्रो ध्यान र छलफल त्यतातिर केन्द्रित थियो । र, त्यसैतर्फ केन्द्रित हुनेछ ।

हाम्रो प्रयास र प्रयत्न सिङ्गो मुलुकलाई उत्सवमय बनाउने हो। हरेक नेपालीहरूलाई यो अभियानमा जागरुक र उद्देलित बनाउने हो । यो अभियानमा मुलुकलाई जुरुक्कै उठाएर विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको सन्देश दिनु हो । नेपाल पर्यटनका लागि संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य हो भनेर दुनियाँलाई थाहा दिनु हो । विश्वभरीका लगानीकर्ताहरूलाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी दिनु पनि हो ।

पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ ? यही प्रश्नहरूलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगमी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरूको वास्तविक समाधान पनि हुदै जानेछ ।

संख्या त छँदैछ, हामीले त्यो भन्दा बढी विश्व समुदायमा नेपालको बारेमा दिइने सन्देश र देशभित्र पैदा गर्ने जागरण र सचेतनलाई प्रमुख मानेका छौँ । २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउने छ ? पर्यटन क्षेत्रबाट राजश्व तथा रोजगारी कति बढ्ने छ ? समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ्गमा कस्तो परिवर्तन आउने छ? यही प्रश्नहरूलाई केन्द्रमा राखेर नै हामीले अभियान चलाएका छौँ । आगमी दिनमा तपाई हाम्रो सहकार्यले यी प्रश्नहरूको वास्तविक समाधान पनि हुँदै जानेछ ।

आजसम्मका अनेकौं छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले हामीलाई उत्साही नै बनाएको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले हामी उत्साही छौँ । सबै क्षेत्रले यसलाई सफल बनाउन जाहेर गर्नुभएको प्रतिबद्धताले हामीलाई थप ऊर्जा थपिएको छ । हामीले छलफलकै क्रममा सबै राजनीतिक दलका प्रमुखहरूसँग पनि छलफल गरेका छौँ । यसलाई राष्ट्रिय उत्सवकै रूपमा लैजानुपर्नेमा उहाँहरूको जोड छ ।

सरकार यो अभियानको सहजकर्ता र व्यबस्थापक मात्रै हो, सिंगो देश यो अभियानको आयोजक हो । सबै राजनीतिक दल, नीजि क्षेत्र, सामाजिक संघ संस्थाहरू, गैरसरकारी संस्थाहरू सबै आयोजक हुन् ।

हामीले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग मन्त्रालयमा छलफल गरेका छौँ । राजदूतहरूले साँच्चीकै नेपाल नयाँ बाटो र नयाँ क्षितिजतिर लम्किएको प्रतिक्रिया सहित खुशी व्यक्त गर्नु भएको छ । हामीले भनेको संख्या र सन्देश दुवैका लागि त्यो छलफल उपलब्धिमूलक ठानेका छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकलगायत अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका अनेकौ संस्थाहरू पनि छलफल गरेका छौँ ।

सरकारले ‘नेपाल भ्रमर्ण वर्ष–२०२०’ को शुभारम्भको दिन सबैलाई देशभरी दीपावली गरेर स्वागत गर्न आह्रवान गरेको छ । सबै सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, विदेशस्थित कूटनीति नियोगका कार्यालहरूमा सबैले दीपवाली गर्नुहुनेछ । त्यो दीपावली, त्यो उज्यालोले हाम्रो नयाँ यात्राको संकेत गर्नेछ । अबको हाम्रो यात्रा उज्यालै उज्यालोतिर उन्मुख छ भन्ने सन्देश दिनेछ । म तपाईंहरूमार्फत आम जनसमुदायलाई अपिल गर्न चहान्छु, त्यो दिन सबैले दीपावली गरौँ । र, दुनियाँलाई भनौं, ‘अबको हाम्रो यात्रा उज्यालोतर्फ अघि बढेको छ ।’

‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीदेखि शुभारम्भको पूर्वसन्ध्यामा आइपुग्दासम्म अर्को खुशीको विषय हो, नेपाली सञ्चार क्षेत्र र तपाईं सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका । वास्तवमा यो देशको प्रतिष्ठासँग गाँसिएको कार्यक्रमको रूपमा लिएर तपाईहरूले यसको प्रचारमा गर्नुभएको सकारात्मक योगदान असाध्यै प्रशंसायोग्य छ ।

पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो संख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान बिन्दु मान्ने छौँ । २०२० देखि २०३० लाई पर्यटन दशकको रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ । सरकारको त्यो दशक अभियानमा यहाँहरूको उस्तै सक्रियता, सहभागिता र सहयोग हुने नै छ ।

सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध संघ संस्थाहरू, सामाजिक क्षेत्र, स्वयंसेवी समूह–संगठन, सामाजिक संघ संस्थाहरूको ब्यानर र पोसाकसहित मार्चपास रहनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति रहनेछ । नेपालको ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । नेपालको सांस्कृतिक विविधता झल्किने मौलक प्रस्तुतिहरू रहनेछन् । अब मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढेको छ ।

पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना छ । पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तारमा हामीले जोड दिएका छौँ । पर्यटनमा गुणस्तरता, बजारीकरण र ब्राण्डिङ हाम्रो प्राथमिकता हो । मानव संशाधनको विकास, सांस्कृति सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएका छौँ ।

नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ सँगसँगै हामी यी कामहरूलाई अघि लैजानेछौँ । यो यात्रामा तपाईं हामी सँगै र साथै रहनेछौँ । (थाहाखवरबाट)

प्रतिक्रिया दिनुहोस्