अब निर्माण व्यवसायीलाई छुट छैन र हुँदैन : मन्त्री नेम्वाङ



फिदिम, १४ पुस

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले अब निर्माण व्यवसायीलाई छुट नभएको वताउनुभएको छ ।

आइतबार भक्तपुर–नगरकोट सडक खण्डको अवलोकनपछि मन्त्री नेम्वाङले भन्नुभयो, ‘निर्माण व्यवसायीहरु जिम्मेवार हुनु पर्दछ, अब छुट छैन र हुँदैन ।’ सरकारले निर्माण व्यवसायीलाई सँगसँगै लिएर जाने अभियानका साथ सार्वजनिक खरिद नियमावलीसंशोधन गरेको समेत मन्त्री नेम्वाङको भनाइ छ ।

स्थानीय बासिन्दा र सरकारले पूर्ण रुपमा साथ दिएकाले जिम्मेवार भएर भक्तपुर –नगरकोटल सडक खण्डको काम सम्पन्न गर्न उहाँले निर्देशन समेत दिनुभएको छ । ‘कतिपय स्थान विभिन्न अवरोधका कारण योजनाहरु सम्पन्न गर्न समस्या भएपनि यहाँ छैन, नीतिगत समस्या केही भए बसेर समाधान गर्नु पर्दछ, यो बन्छ कुनैपनि हालतमा बन्छ,’ उहाँले भन्नुभयो ।

काडाँघारी–सानोथिमि–पुरानोथिमि सडक खण्डमा केही समस्या भए विकल्प खोज्नु पर्ने तर विकासलाई रोक्न भने नहुने भन्दै नेम्वाङले सबैलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले ४० साल वर्षपछि पनि मध्यपुरथिमिको सडक अवस्था उस्तै रहेकोमा यसमा को दोषी भन्दै प्रतिप्रश्न समेत गर्नुभयो । सरकारले चार लेनको सडक बनाउन भन्दै बजेट विनियोजन गरेपनि समयमा नै काम हुन नसक्नु दुःखद भएको मन्त्री नेम्वाङ्गको भनाइ छ ।

भ्रमण वर्ष २०२० सुरु हुन लागेकाले संसारभरका मनिस नगरकोट जाने भएकाले उक्त सडक समयमानै सम्पन्न गर्न उहाँले जोड दिनुभयो । कार्यक्रममा संघीय सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमखु सोमप्रसाद मिश्र, मध्यपुरथिमिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठलगायतले भक्तपुरको विकासका लागि सबै एक हुनु पर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्