कवि, पत्रकार तथा स्नोकर खेलाडी इङ्वाको निधन



फिदिम, १२ पुस

कवि, पत्रकार एवं स्नोकर खेलाडी विष्णु इङ्वाको दुर्घटनामा परी निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हिँजाे राती साढे ८ बजे फिदिम बजारबाट ओदिन जाने क्रममा फिदिम स्थित वुद्धमार्गमा रोकि राखेको ट्र्याक्टरमा इङ्वा सवार तीन चक्के स्कुटी ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते ४३ वर्षीय इङ्वाको फिदिम स्थित समर्पित अस्पतालमा उपचारको क्रममा गत राती मृत्यु भएको हो ।

इङ्वाको शवलाई शनिवार पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको थियो । तत्कालीन प्रेस चौतारी नेपाल जिल्ला समिति पाँचथरका पूर्व सदस्य इङ्वाको पार्थीव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली समेत दिइएको थियो । उहाँको शनिवार नै हेंवा घाटमा अन्तिम संस्कार गरिएको छ ।

फिदिम नगरपालिका वडा नं. २ ओदिनका स्थायी वासिन्दा इङ्वाका ‘विष्णु अज्ञानी’ नामबाट विभिन्न साहित्यिक रचनाहरु पत्रपत्रिकामा प्रकाशित भएका छन् । इङ्वाले ‘छाल’ लगायत विभिन्न पत्रपत्रिकामा समाचार लेखन तथा ब्यवस्थापनको काम समेत गर्नुभएको थियो । फिदिमको रिजाल प्रेसमा अपरेटरको रुपमा कार्यरत इङ्वा स्नोकर खेलाडी समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्