पूर्वाञ्चल क्यान्सर अस्पताल पुस १६ देखि



फिदिम, ११ पुस

झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो ।

अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंको दाबी छ । अस्पतालमा चार सय करोड लगानी गरिएको उहाँले वताउनुभयो । अस्पतालमा क्यान्सरका बिरामीलाई एक मिनेटमा रेडिएसन दिन सक्ने ‘ट्रयू बिम लिनियर एक्सेलेरेटर’ मेसिन पहिलोपटक नेपाल भित्र्याइएको प्रसाईंको दाबी छ ।

यो अस्पताल दक्षिण पूर्वीएसियाकै नमूना भएको सञ्चालकको दाबी छ । क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले जानकारी दिनुभयो । “यो प्रविधि नेपालमै पहिलो हो” उहाँ भन्नुभयो “यसका लागि दिल्ली वा सिंगापुर जानुपथ्र्यो । अब त्यो बाध्यता हट्यो ।” उहाँ यसअघि दिल्लीस्थित मेदान्त अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै, अस्पतालमा महिलाको स्तन क्यान्सर पत्ता लगाउन अत्याधुनिक प्रविधि सहितको डिजिटल थ्रीडि म्यामोग्राम समेत ल्याएको छ । प्रसाईंले नै सञ्चालन गरेको बि एण्ड सी अस्पताल हाताभित्र रहेको यो अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्याक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले सेवा सुरु गरेको दिन पहिलो सेवाग्राहीलाई निःशुल्क रेडिएसन दिइने निर्देशक प्रसाईंले बताउनुभयो । “हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ” उहाँले भन्नुभयो “अस्पताल सुरु भएको अवसरमा हामी एकजना बिरामीको सम्पूर्ण खर्च आफैं ब्यहोर्छौं ।” नेपालका विभिन्न क्षेत्रसँगै भारत, वंगलादेश भुटानसहित दक्षिण एसिया नै अस्पतालको सेवा क्षेत्र रहेको प्रसाईंले जानकारी दिनुभयो । (इजलास डटकमबाट)

प्रतिक्रिया दिनुहोस्