नेपालका जेलमा एक हजार तीन सय विदेशी



फिदिम, १० पुस

केही दिनअघि काठमाण्डौँबाट नेपाल प्रहरीले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ ग¥यो । अहिले उनीहरू हिरासतमा छन् । उनीहरूसँग बयान लिने काम भइरहेको र अनुसन्धानको नतिजाको आधारमा मुद्दा चलाउने विषयमा निर्णय गर्ने प्रहरीको भनाइ छ ।

नेपालमा विदेशीहरू अपराधमा संलग्न हुनु नौलो कुरा नभएको कारागारमा भएका विदेशीहरूको संख्याले पनि देखाउँछ । अहिले नेपालका ७४ मध्ये ३१ कारागारमा झन्डै एक हजार तीन सय विदेशी कैदी र बन्दी भएको कारागार व्यवस्था विभागले जनाएको छ । नेपालमा कुल कैदीबन्दीको संख्या झन्डै २४ हजार रहेको छ ।

अदालतले दोषी ठहर गरेका कैदी र मुद्दाको फैसला हुन बाँकी भएका तर न्यायिक हिरासतमा राखिएका विदेशी बन्दीहरू साइबर अपराध, लागुऔषधि तस्करी, यौन दुराचार र हत्या आदि विभिन्न अभियोगमा पक्राउ परेका हुन् ।

सबैभन्दा बढी विदेशी कैदीबन्दी पर्सा कारागारमा रहेका छन् । सो कारागारमा २१२ जना भारतीय र दुई पाकिस्तानीलाई राखिएको छ । केन्द्रीय कारागार सुन्धारामा १२४ जना विदेशी कैदीबन्दी छन् । तीमध्ये ६२ जना भारतीय र १२ जना चिनियाँ रहेको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले वताउनुभयो । सो कारागारमा २९ जना महिला बन्दीहरू रहेका र तीमध्ये अधिकांश लागुऔषधको कसुरमा जेल परेका बाँस्कोटाले वताउनुभयो ।

चर्चित विदेशी कैदी चाल्र्स शोभराज पनि सुन्धारामै छन् । धेरै कैदीबन्दी राखिने ललितपुरको नख्खु कारागारमा कैद ११९ विदेशी नागरिकमध्ये ९४ जना भारतीय छन् । त्यहाँ चीन, रोमानिया, नाइजिरिया र यूके समेत १७ वटा देशका नागरिक कैद रहेको सूचना अधिकारी नरेन्द्र परियारले वताउनुभयो । झापा कारागारमा ५७ जना भारतीय र ३७ जना भुटानी पनि जेलमा छन् । सबै भुटानीहरू लामो समयदेखि झापामा बस्दै आएका शरणार्थी भएको बताइएको छ ।

नेपालका कारागारमा भएका विदेशीमध्ये केहीलाई सजाय भुक्तानका लागि र केहीलाई पुर्पक्षका लागि राखिएको हो । कारागार विभागका सूचना अधिकारी देवर्षि सापकोटाले भन्नुभयो “भारतीयहरू कर्तव्य ज्यान, जीउ मास्नेबेच्ने, जबर्जस्ती करणीदेखि चोरी, राजस्व चुहावट र डाँकासम्मका अपराधमा जेलमा रहेका छन् ।” नख्खुस्थित कारागारमा मात्रै १९ देशका ११९ नागरिक छन् । उनीहरू १६ किसिमका कसुरमा थुनिएका हुन् ।

दक्षिण अफ्रिका, रोमानिया, नाइजिरिया, तान्जानिया र सेनेगलका धेरैजसो नागरिकलाई लागुऔषध तस्करी गरेको अभियोग लागेको छ । चिनियाँहरू ब्याङ्किङ कसुर, राजस्व चुहावट, साइबर अपराध र सुन तस्करीजस्ता क्रियाकलापमा पक्राउ भएको पाइएको छ । बालयौन दुराचार, नक्कली राहदानी र अप्राकृतिक मैथुनजस्ता अपराधमा पनि विदेशी नागरिकहरूलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

विदेशी नागरिक अपराधमा किन ?

केही वर्षयता नेपालमा विदेशी कैदीबन्दीको संख्या बढेको सरकारी तथ्याङ्कले देखाउँछ । विसं २०७२ मा १,०२८ विदेशी नेपाली जेलमा थिए भने गत वर्ष उक्त संख्या ११५६ पुगेको थियो । नेपालमा भारतीय तथा अन्य विदेशी नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र फितलो अध्यागमननीति रहेको विज्ञहरू बताउँछन् ।

फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्गका अनुसार भिसामा कडाइ नहुनु, भिजिट भिसाको सहजता र कमजोर अनुगमन भएको कारण विदेशीहरूको अपराधमा संलग्नता बढेको हो । उनीहरुको विवरण राम्ररी जाँच गरेर मात्रै विदेशी नागरिकलाई भिसा दिन र आएका विदेशीको क्रियाकलापमा निगरानी गर्ने जस्ता काम गर्न आवश्यक भएको उहाँ औँल्याउनुहुन्छ । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्