

फिदिम, १० पुस
देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुनःस्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन् । महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी दिए ।
कार्यालयका प्रवक्ता रमेशप्रसाद शिवाकोटीले भन्नुभयो “करिब २१ दिनको डेटा पुनस् समाविष्ट गर्न हामीले सबै स्थानीय तहलाई निर्देशन दिइसकेका छौँ ।” घटनाबारे हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको र सबै स्थानीय तहमा उक्त प्रणाली पुनः सञ्चालनमा आइसकेको उहाँले वताउनुभयो ।
के भएको थियो ?
देशभरिका ७५३ वटै स्थानीय तहको लेखा प्रणाली आबद्ध रहेको ’सबन्याश्नल ट्रेजरी रेगुलेटरी एप्लिकेशन’मा समस्या देखिएपछि झन्डै एक वर्षको डेटा नष्ट भएको ठानिएको थियो । उक्त प्रणालीमा गत साता अकस्मात् समस्या देखिएको थियो ।
तर डेटा पुनः स्थापना गर्दा अधिकांश डेटा प्रणालीमा फिर्ता ल्याउन सकिएको शिवाकोटीले वताउनुभयो । “तर करिब २१ दिनको डेटा भने हामीले रिकभर (पुनः प्राप्त) गर्न सकेनौँ” उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय संलग्नताको आशङ्का
शिवाकोटीका अनुसार ब्रिटिश सहायता निकाय डीएफआईडी र अमेरिकी सहायता निकाय यूएसएडको सहायता तथा परामर्शमा स्थापित उक्त प्रणालीमा अन्तर्राष्ट्रिय साइबर अपराधीले आक्रमण गरेको आशङ्का छ । तर प्रहरीको अनुसन्धान जारी रहेकाले अहिले नै केही भन्न नसकिने शिवाकोटीले वताउनुभयो ।
ब्याङ्किङ प्रणाली ह्याक गरेर रकमहरू समेत चोरिएका घटनाहरू सार्वजनिक भइरहेका बेला सरकारको सबैभन्दा ठूलो लेखा प्रणालीमै आक्रमण हुनुलाई गम्भीर रूपमा हेरिनुपर्ने साइबर सुरक्षाका जानकारहरू बताउँछन् । साइबर सुरक्षाविज्ञ विजय लिम्बु भन्नुहुन्छ “सबै सरकारी प्रणालीको नियमित रूपमा साइबर सुरक्षासम्बन्धी अडिट गर्नुपर्छ ।”
साइबर सुरक्षा विभाग आवश्यक
त्यस्ता घटना कम गर्न चाल्नुपर्ने कदमबारे लिम्बु भन्नुहुन्छ “सबैभन्दा पहिले त साइबर सुरक्षा विभाग बन्नुप¥यो । त्यसलै सबैको नियमित रूपमा साइबर सुरक्षासम्बन्धी अडिट गर्नुप¥यो । अनि सरकारले हालै बनाएको साइबर सुरक्षा आकस्मिक कार्य समूहजस्ता निकायलाई प्रभावकारी बनाउनुप¥यो ।”
उहाँ नेपालमा साइबर सुरक्षालाई अहिले पनि महत्व नदिइएकाले समस्या आइरहेको वताउनुहुन्छ । “अब धेरैजस्तो सरकारी कामहरू पनि विद्युतीय माध्यमबाट हुन थालिसकेको अवस्थामा साइबर सुरक्षालाई चाहिँ बेवास्ता गर्नु भनेको आफ्नो देशको र नागरिकको डेटाको सुरक्षा नगर्नु हो भन्ने बुझ्नुप¥यो” उहाँले भन्नुभयो । कतिपयले भने उक्त प्रणालीको रेखदेख गर्नेहरूकै संलग्नतामा यस्तो घटना भएको हुनसक्ने शङ्का व्यक्त गरेका छन् ।
प्रहरीले त्यसबारे पनि छानबिन गरिरहेको शिवाकोटीले जानकारी दिनुभयो । तर विज्ञहरूका अनुसार एक पटक आक्रमणमा परिसकेको प्रणालीलाई प्रभावकारी सुरक्षा व्यवस्था नमिलाई पुनः सञ्चालन गर्दा थप खतरा बढ्न सक्छ । (बीबीसी नेपालीबाट साभार)