वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई न्यानो कपडा



फिदिम, ९ पुस

पाँचथरको फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लिलाराज तुम्बापोले प्राप्त सरकारी सुविधाको रकमबाट आफ्नै वडाको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।

एक महिनाको सरकारी सुविधाबाट वडाध्यक्ष तुम्बापोले आफ्नै वडाको पारुहाङ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र खेल सामग्री वितरण गर्नुभएको हो । आज सोही विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्वीटर, रुमाल र खेल सामग्री प्रदान गरिएको हो । उक्त विद्यालयका २० जना विद्यार्थीहरुलले न्यानो कपडा र शैक्षिक सामग्री प्राप्त गरेका हुन् ।

उक्त विद्यालय क्षेत्रमा प¥याप्त घाम नलाग्ने र चिसोका कारण विद्यार्थीहरुको पठन–पाठन प्रभावित हुने देखेपछि आफूले न्यानो कपडा उपलब्ध गराएको वडाध्यक्ष तुम्बापोले जानकारी दिनुभयो । आफ्नो सहयोगले विद्यार्थीहरुमा नियमित विद्यालय जाने उत्प्रेरणा प्राप्त हुने वडाध्यक्ष तुम्बापोको विश्वास छ ।

जनसेवा समाज पाँचथरको संयोजनमा आयोजित न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि शैक्षिक अभियान्ता राधाकृष्ण न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सरकारी स्तरबाट ठोस् पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि सरकारी निकाय, विद्यालय र अभिभावकहरुवीच उचित समन्वय हुन नसकेको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्