छोरीको जन्मदर ‘घट्दो’, सामाजिक संरचना जोखिममा पर्ने चिन्ता



नेपालमा पछिल्लो जनगणनाले पुरुषभन्दा महिलाको संख्या बढी देखाए पनि पछिल्ला वर्ष छोरी जन्मिने क्रम घटेको बताइएको छ । यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्ने विज्ञहरू बताउँछन् ।

देशका विभिन्न स्थानमा त्यहाँका स्थानीय र प्रदेश सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याएका छन् । त्यो नीतिले ती स्थानहरूमा छोरी जन्मिने क्रम घटिरहेको र छोरीको अवस्था दयनीय रहेको पुष्टि गर्ने महिला अधिकारकर्मीहरू बताउँछन् । तर यस विषयमा हालसम्म संघीय सरकारले कुनै किसिमको अध्ययन–अनुसन्धान र कारबाही प्रक्रिया नथालेको सरकारी अधिकारीको भनाइ छ ।

छोरा जन्माउन दबाब

काठमाण्डू बस्ने सबिना (नाम परिवर्तन) की आठ वर्षिया एक छोरी छन् । दोस्रो गर्भ रहँदा फेरि छोरी नै भएको थाहा पाएपछि उनलाई विभिन्न दबाब आउन थाले । त्यसपछि उनले गर्भमा भएकी छोरी फ्याँकिन् । अहिले पनि उनलाई हरेक दिन सबैतिरबाट छोरा पाउने दबाब आइरहन्छ ।
उनी भन्छिन् “मेरी बहिनीले पहिलो सन्तानको रूपमा छोरो पाएकी छन् । उनलाई दोस्रो सन्तान जन्माउने कुरा समेत कसैले गरेका छैनन् । छोरी जन्माउने दबाब त आएकै छैन ।”

त्यस्तै नेपालगञ्जकी नाम बताउन नचाहने अर्की महिला पनि छोरा जन्माउनकै निम्ति गर्भपतन गराएको बताउँछिन् । उनको भनाइ छ “तीन छोरी छन् । छोरो जन्माउन भनेर पर्खेको, गर्भमा फेरि पनि छोरी आइन् । एउटा त्यसै खेर गयो, अर्को गर्भपतन गरेँ ।”

छोरा धेरै

कानुन अनुसार विशेष अवस्थामा बाहेक १२ हप्तापछि भ्रूणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । तर पनि पितृसत्तात्मकसोच, धार्मिक, सांस्कृतिक र सामाजिक लगायतका कारण लिङ्ग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको जानकारहरूको भनाइ पाइन्छ ।

यसले महिला पुरुषको जनसांिख्यक अन्तर बढाउने चिन्ता उच्च रहेको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा समग्र जनसंख्या हेर्दा महिलाको संख्या बढी थियो । तर १४ वर्षमुनिको संख्यामा छोरीभन्दा छोराको संख्या बढी थियो । महिला अधिकारको क्षेत्रमा सक्रिय लैङ्गिक मामिलाकी जानकार सरू जोशी श्रेष्ठका अनुसार त्यसपछिका वर्षहरूमा त्यो खाडल गहिरिँदै गएको छ ।

उनी भन्छिन् “नेपालमा छोरी जन्मिन कम भएको कुरा आजभन्दा २० वर्ष पहिले नै उठिसकेको थियो। तर यसमा खासै अनुसन्धान भएको थिएन । त्यसैले पुष्टि पनि भएन। अहिले पनि विभिन्न गाउँ तथा नगरपालिकामा छोरीहरू जन्मिने क्रम कम भएको पाइएको छ । यो विषयमा सरकार गम्भीर भएर आवश्यक कदम चाल्नुपर्छ ।”

सुरक्षित गर्भपतनबारे तालिम र अनुमति पाएका व्यक्तिहरूले आधिकारिक संस्थाहरूमा मात्र गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । तर गर्भपतन सम्बन्धी काम गर्ने संस्था आईपासकी माधवी बज्राचार्य नेपालमा गैरकानुनी रूपमा त्यस्तो काम सहर–बजारका गल्ली–गल्लीमा हुन थालेको धेरै समय भइसकेको बताउँछिन् ।

छोरा धेरै भए के हुन्छ

नेपालमा प्रत्येक वर्ष छोरी जन्मिने अनुपात घटेको केही अस्पतालका तथ्याङ्कहरुले पनि देखाएको छ । परोपकार प्रसूति गृह थापाथलीमा आर्थिक वर्ष २०७५/०७६ मा ११ हजार ९ सय ४६ जना छोरा जन्मिएका थिए भने १० हजार ४ सय १६ छोरी जन्मिए ।

उक्त अस्पतालका अनुसार १०/१२ वर्षदेखि छोरा र छोरी जन्मिने अनुपातमा निकै अन्तर देखिएको छ । त्यस्तै भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा गत वर्ष २१९ जना छोराको जन्म भएकोमा छोरीको संख्या १८४ मात्र थियो ।

सामाजिक विषयका शिक्षक शैलेन्द्रकुमार भट्टराई भन्छन्, “अहिलेको जनसंख्या छोरामुखी बन्दै गएको देखिन्छ । यो जैविक प्रहार हो । यही क्रम जारी रह्यो भने केही दशकपछि वैवाहिक सम्बन्धको सन्तुलन बिग्रिने अवस्था आउँछ । अहिले गर्भभित्र रहेको कुरा बाहिर आउँछ ।”

सरकार बेखबर

नेपालमा छोरा र छोरी जन्मिने अनुपात बीचको अन्तर देशभरि कति छ भन्ने अध्ययन सरकारी निकायबाट भएको देखिँदैन । त्यस्तै लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गैरकानुनी अभ्यासको निगरानी र नियन्त्रणको निम्ति सरकारले योजनाबद्ध ठोस कदम नचालेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रूद्रा शर्मा स्वीकार गर्छिन् ।

उनले भनिन् “महिलासम्बन्धी मुद्धा हेर्ने मन्त्रालय यही नै हो । स्वास्थ्य मन्त्रालयले केही अध्ययन गरेको जस्तो त लाग्छ । तर महिला मन्त्रालयबाट छोरीको जन्मसंख्याबारे कुनै अध्ययन गरिएको छैन, तथ्याङ्क पनि छैन । त्यस्तै लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु–गराउनु गैरकानुनी भए पनि त्यस्तो भइरहेका खबरहरू पनि आएका छन् । त्यस विषयमा पनि अनुगमन गर्न सकेका छैनौँ ।”

देशका केही ठाउँमा छोरी पढाउने, बचाउने, उनीहरूका लागि बैंक खाता खोल्ने वा बिमा गर्ने कामको थालनी भएका भएका छन् । तर जानकारहरूका भनाइमा गैरकानुनी गर्भपतनविरुद्ध कडा कानुन र त्यसको कार्यान्वयन सँगसँगै छोराछोरीबीचको विभेद हटाउन पर्याप्त जनचेतना फैलाउने कामले तीव्रता नलिएसम्म अझै धेरै छोरीहरू जन्मन पाउने छैनन् । (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया दिनुहोस्