फिदिम–फालोट सडक निर्माण कार्य तीब्र गतिमा (फोटो फिचर सहित)



फिदिम, ८ पुस

पाँचथर सदरमुकाममा सडक आइपुगेपछि गाउँ–गाउँसम्म विस्तार गर्ने क्रममा निर्माण सुरु भएको फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । दशकौँसम्म हिलाम्य यो सडक अहिले कालोपत्रे हुने चरणमा छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माणमा सयौँ निर्माण उपकरण र हजारौँ कामदार खटिएका छन् । फिदिम नगरपालिका वडा नं. १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका ६ वटा वडालाई सदरमुकामसम्म जोड्ने यो सडक निर्माणको कार्य तीब्र गतिमा अघि बढेको छ ।

ठूलो जनसंख्या लाभान्वित हुने यो सडक कालोपत्रेका लागि संघीय सरकार र प्रदेश सरकारले लगानी गरेका छन् । प्रदेश सरकारको लगानीमा फिदिम–फालोट सडकको फिदिम–नाङ्गीन खण्ड कालोपत्रेको काम अघि बढेको हो । १०.११२ किलोमिटरको फिदिम–नाङ्गीन खण्ड कालोपत्रेको जिम्मा कन्काई पीएस जेभीले रु. ५२ करोड ६७ लाख ३० हजारमा लिएको छ । नाङ्गीनको सल्लेरीदेखि प्राङबुङको लुदिनटारसम्म २९ किलोमिटर सडक कालोपत्रे हुँदैछ । एसियाली विकास बैङ्कको सफ्ट लोन र नेपाल सरकारको लगानीमा विशेष प्राथमिकतामा परेका सडकहरुको सुधार गर्ने ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना’ अन्तर्गत यो सडक खण्डको कालोपत्रेका लागि निर्माण कार्य चलिरहेको छ ।

विगतमा एकोहोरो मात्रै सवारी चल्नसक्ने सानो सडकको अधिकांश खण्ड अहिले विस्तार भइरहेको छ । हिलाम्य भइरहने अधिकांश खण्डमा घण्टौँ यातायात अवरुद्ध पारेर ठूला चट्टान तथा भीर पहरा फोरिँदैछ । सयौँ निर्माण उपकरण एकैपटक विभिन्न खण्डमा निर्माण कार्यमा जुटेपछि यस सडक खण्डमा सरकारको उपस्थिति र विकासको गति देखिन्छ । भौगोलिक कठीनाईका कारण २०÷३० मिटर अग्ला तारजाली सहितको टेवा पर्खालहरु निर्माण भइरहेका छन् । अहिले सडक विस्तार गर्ने, नाली काट्ने, टेवा पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ । ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना’ अन्तर्गतको कालोपत्रेको कार्य सम्पन्न गर्ने मिति नजिकिएकाले निर्माण कम्पनीले निर्माण कार्यको गतिलाई तीब्र पारेको छ ।

सयौं जना स्थानीय युवाहरु श्रमिकको रुपमा यस सडक खण्डमा श्रम गरिरहेका भेटिन्छन् । “राम्रै कमाई हुने भएकाले सडक निर्माणमा मजदूरको रुपमा काम गरिरहेको छु । घरमा काम नभएको बेला गाउँमै काम पाइयो”, गाउँले साथीहरु सहित फालेलुङ गाउँपालिका वडा नं. ७ सिदिनमा सडक निर्माणमा खटिएका सोही गाउँपालिका वडा नं. ८ का सन्दीप केरुङले भन्नुभयो । केरुङजस्तै सयौँ स्थानीय युवाहरुले टेवा पर्खाल निर्माण, निर्माण सामग्री ब्यवस्थापनमा रोजगारी पाएका छन् ।

फिदिम–फालोट सडक विशेषत कृषि उपजको निर्यात र भारतको सीमासम्म पुग्ने महत्वपूर्ण सडकको रुपमा रहेको छ । यो सडकले सदरमुकामसम्म जोड्ने फिदिम नगरपालिकाका चार वटा वडा तथा र फालेलुङ गाउँपालिकाका छ वटा वडा कृषिजन्य उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेका क्षेत्रहरु हुन् । पक्की सडक र प¥याप्त सवारी साधन उपलब्ध नहुँदा यहाँ उत्पादित कृषि उपजले उचित मूल्य पाउन सकेको छैन् । बजार र उचित मूल्य नपाएपछि कृषि उपज उत्पादनको सम्भावना भएपनि कृषकहरुले ब्यवसायिक उत्पादन गरेका थिएनन् ।

फिदिमदेखि प्राङबुङसम्मको सडक कालोपत्रे भएपछि यहाँ उत्पादन हुने अलैंची, अदुवा, दूग्धजन्य उत्पादन, सागशब्जी तथा नगदेवाली, किबी, सुन्तला लगायत फलफूल बजारसम्म पु¥याउन सहज हुनेछ । पक्की सडक पुगेपछि यहाँका कृषक ब्यवसायिक हुने अपेक्षा गरिएको छ । यस सडकले नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र फालोटलाई समेत जोड्नेछ । यद्यपी फालेलुङ गाउँपालिका–५ प्राङबुङबाट फालोटसम्म सडक सञ्जालले जोड्ने कार्य भने पूरा भइसकेको छैन् ।

कच्ची सडकका कारण यहाँका स्थानीयले दशकौँदेखि सास्ती ब्यहोर्दै आएका थिए । यहाँ वर्षायाममा सवारी सञ्चालनमा कठीनाई पर्ने गर्दछ । केही किलोमिटर सडक पार गर्न पनि घण्टौँ लाग्ने गर्दथ्यो । अहिले पनि सडक निर्माण तीब्र गतिमा चलिरहेका कारण सडक बेलाबखत अवरुद्ध हुने गरेको स्थानीयवासीको भनाई छ । प्रशस्तै पानी भएको यस क्षेत्रमा पानी कटाउने उपयुक्त प्रवन्ध नहुँदा सडक नै पानी बग्ने कुलोको रुपमा समेत रहने गरेको छ । जसकारण साना ठूला सवारीका साधन सञ्चालनका कठीनाई पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्