८ महिने बच्चाकी आमा क्यान्सरले थलिइन्, आर्थिक अभाव भएपछि परिवारद्वारा सहयोगको याचना



फिदिम, ७ पुस

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ६ का अर्पण आङ्देम्बेले क्यान्सरपीडित आफ्नी श्रीमतीको उपचारमा सहयोगका लागि याचना गर्नुभएको छ ।

आङ्देम्बेले अस्पतालमा छटपटाइरहेकी श्रीमतीको उपचारमा खर्च अभाव भएकाले सहयोग उपलब्ध गराई विरामीको ज्यान बचाउन अनुरोध गर्नुभएको हो । रगतको क्यान्सरबाटबाट पीडित आङ्देम्बेकी श्रीमती २४ बर्षीया सुमित्रा चेम्जोङको उपचारमा आफ्नो परिवारले जम्मा गर्नसक्ने भन्दा कयौँ गुणा बढी खर्च लाग्ने भएकाले सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको हो ।

परिवारका अनुसार सुमित्राको एक महिना अघिबाट काठमाडौंको महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाको आङ्देम्बे परिवारलाई सुमित्राको उपचारका लागि रु. २५ लाख रकम आवश्यक पर्ने अस्पताल ब्यवस्थापन पक्षले वताएको छ । उक्त रकम आफ्नो जायजेथा र आफन्तको सहयोगबाट जम्मा हुन नसक्ने भएकाले सहयोग गरिदिन आङ्देम्बे परिवारले अपील गरेको हो ।

“एक रुपैयाँ नियमित आयस्रोत नभएको मैले श्रीमतीको उपचारका लागि कसरी २५ लाख जुटाउने ? अलि–अलि भएको पैसा पनि बिरामीलाई रगत दिँदा दिँदै सक्कियो । कृपया मेरी श्रीमतीलाई बचाउन केही सहयोग गरिदिनुस्”, अर्पणले भन्नुभयो । अर्पणले आर्थिक सहयोगका लागि आफूले धेरै ठाउँ धाएपनि कहिँबाट पनि सहयोग प्राप्त गर्न नसकेकाले सामाजिक सञ्जाल र सञ्चार माध्यमको मार्फतबाट सहयोगका लागि अपील गरेको वताउनुभयो । अर्पण र सुमित्राले ७ बर्ष अघि प्रेम बिवाह गरेका थिए । अहिले उनीहरुको ५ बर्षीय छोरी र ८ महिनाको छोरा छन् ।

सँगै जीवन बिताउने प्रण गरेका उनीहरुमाथि जीवनको प्रारम्भिक कालखण्डमै यस्तो दीन आइपर्दा पहाडले किचेझैँ भएको अर्पणले बताउनुभयो । उहाँलाई सहयोग गर्ने इच्छुकहरुले मेघा बैंकमा रहेको उहाँको खाता नम्बर ०२००५७०४७६६३ रकम जम्मा गरिदिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्