एलबी ज्वेलर्सद्वारा विद्यार्थीलाई स्टेशनरी वितरण



घुर्विसेपञ्चमी, ७ पुष

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. ५ को टीका भैरुङ्ग आधारभूत विद्यालयका विद्यार्थीलाई एलबी ज्वेलर्सले विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ ।

कमजोर आर्थिक अवस्थाका परिवारका विद्यार्थीहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले ज्वेलर्सका सञ्चालक लालबहादुर रहपालले एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामग्री वितरण गर्नुभएको हो । विगत लामो समयदेखि घुर्बिसेपञ्चमीमा सुनचाँदी व्यवसाय गर्दै आएको यस पसलले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने सञ्चालक रहपालले वताउनुभयो ।

चासोक तङ्नामका अवसरमा शान्ति बालविकास इङ्लिस स्कुलले आयोजना गरेको नृत्य प्रतियोगितामा लिम्बू भाषाको तर्फबाट दोस्रो पुरस्कार प्राप्त गर्ने विद्यार्थीको सम्मानका लागि आयोजित उक्त कार्यक्रममा २० जना छात्राछात्रलाई सामग्री उपलब्ध गराइएको थियो ।
२०२६ सालमा स्थापित यस विद्यालयको दुई रोपनी एक आना क्षेत्रफलमा बाल मैत्रीपूर्ण भौतिक संरचना, खानेपानी, शौचालय तथा खेलमैदान रहेको प्रधानाध्यापक हर्कबहादुर चेम्जोङले जानकारी दिनुभयो ।

लिम्बू जातिका विद्यार्थीको बाहुल्यता रहेको यस विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क टाई, बेल्ड, पोशाक तथा खाजा वितरण गर्दै आएको चेम्जोङले वताउनुभयो ।
व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र शिक्षकको उपस्थितिमा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चेम्जोङको अध्यक्षतामा सामग्री वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्