उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम तीव्र



फिदिम, ७ पुस

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको सक्रियतासँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६/७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको थियो । दुई हप्ताको अवधिमा गौशालादेखि चाबहिलसम्म बाहेक चक्रपथको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भइसकेको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

मङ्सिर १७ गतेदेखि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको थियो । चक्रपथको गौशालादेखि चाबहिलसम्मका सडकका अधिकांश भाग बिग्रिसकेको हुनाले सो खण्डको निर्माणका लागि ठेक्कापट्टाको काम सम्पन्न भइसकेको हुनाले सो खण्डमा खाल्डाखुल्डी पुरिने कार्य नगरिएको उहाँले बताउनुभयो ।

विकास व्यवस्थापनविज्ञ थपलियाका अनुसार यस अवधिमा थापाथली–त्रिपुरेश्वर–जमल–शीतल निवास सडकखण्ड, जडीबुटी–पेप्सिकोला सडकखण्ड, शङ्खमूल–नयाँबानेश्वर सडकखण्ड, सिनामङ्ल–डिल्लीबजार सडकखण्ड, हाँडीगाउँ–मालीगाउँ सडकखण्ड, दरबारमार्ग–जय नेपाल सडकखण्ड, माइतीघर मण्डला–मीनभवन सडकखण्ड र टेकु–कुलेश्वर–बल्खु सडकखण्डमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न भइसकेका छन् । सडकमा पानी चुहावट रोक्न खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग यसबारे छलफल भइरहेको बताउँदै उहाँले चुहावट रोकिएपछि ती ठाउँहरूका खाल्डा पुरिने जानकारी दिनुभयो ।

त्यसैगरी सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका सडकमध्ये पानी चुहावटबाहेक ७० प्रतिशतमा खाल्डाखुल्डी पुरिने कार्य सम्पन्न भइसकेको जानकारी सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले दिनुभयो । पुस महिनाभित्र बाँकी काम सम्पन्न गरिने उहाँले बताउनुभयो । काठमाडौँ जिल्लामा रहेका जम्मा एक हजार छ सय किलोमिटर सडकमध्ये मात्र चार सय किलोमिटर सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत पर्दछ । बाँकी काठमाडौँ महानगरपालिका लगायत विभिन्न निकायअन्तर्गत पर्ने गर्दछ ।

त्यसैगरी भक्तपुर जिल्लामा रहेका जम्मा २० वटा सडकमध्ये १३ वटा खाल्डाखुल्डीमुक्त भइसकेको जानकारी सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख बेलबहादुर भुजेलले दिनुभयो । खाल्डाखुल्डी पुरिने काम सुरु भएको दुई हप्तामा १६८ किलोमिटरमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको जानकारी डिभिजन प्रमुख भुजेलले दिनुभयो ।

सडक डिभिजन कार्यालय, ललितपुरका प्रमुख अमृतमणि अर्यालले ललितपुरका सडकमा खाल्डाखुल्डीको समस्या खासै नरहेको बताउँदै मङ्सिरको १७ गतेदेखियता एक किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ विदाको दिन समेत नभनी राजधानी काठमाण्डौँको सडकको अवस्था सुधार्न केन्द्रीत हुनुभएको छ । निरन्तरको प्रयासपछि काठमाण्डौँको सडकको अवस्था सुधार हुने संकेत देखिन थालेको छ । केही दिनअघि एक अन्तर्वार्तामा मन्त्री नेम्वाङले राजधानी काठमाण्डौंको सडकको अवस्था सुधार्न चीनिया राष्ट्रपति सी चीनफिङ वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आउनुपर्ने विगतको अवस्था आफूले अन्त्य गर्ने दृढता ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्