वडाका सबै जेष्ठ नागरिकलाई न्यानो कपडा सहित सम्मान



फिदिम, ६ पुस

संस्थागत विद्यालय (बोर्डिङ) भन्ने वित्तिकै धेरैले नाफा कमाउन संस्थाको रुपमा बुझ्छन् । निजी विद्यालयले बढी नाफा कमाउन खोज्दा विद्यार्थी र अभिभावकहरुमाथि बोझ थपिँदै गएको छ र संस्थागत विद्यालयप्रतिको धारणा नकारात्मक बनिरहेको छ । तर सबै संस्थागत विद्यालय केवल नाफा कमाउने उद्देश्यमा मात्रै केन्द्रीत छैनन् । कतिपयले समाजमा अनुकरणीय कार्य समेत गर्दै आएका छन् । यस्तै नवीनतम सामाजिक कार्य गर्ने विद्यालय हो पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ६ बरडाँडामा रहेको रामतारा बोर्डिङ स्कुल ।

यस विद्यालयले शुक्रवार आफ्नै प्राङ्गढमा आयोजना गरेको कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र विभिन्न स्थानबाट निम्त्याइएका अतिथिहरु मात्रै थिएनन्, ७० वर्ष नाघेका ३० जनाभन्दा बढी जेष्ठ नागरिकहरु पनि थिए । मञ्चमा अतिथिहरु बसे । मञ्चको दायाँपट्टी जेष्ठ नागरिकहरु थिए । सबैलाई माला लगाएर स्वागत गरिएको थियो । अघिल्तिर १५० जनाभन्दा बढी बालबालिका थिए, बालबालिकाको पछाडी वयस्क अभिभावकहरु ।

स–साना बालबालिकाले आदर र सम्मान सिकुन् भन्ने उद्देश्य सहित यस्तो संयोग मिलाइएको थियो । जेष्ठ नागरिकहरुको अनुभव, योगदान, शीप र क्षमताले अहिलेको समाज निर्माण भएकाले बालबालिकामा जेष्ठ नागरिकप्रति आदर र सम्मानभाव जगाउन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सबै जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरिएको थियो ।

रामतारा बोर्डिङ स्कुलका संस्थाकप खगेन्द्र राईले जेष्ठ नागरिकहरुप्रति सम्मानभाव जगाउन तथा उनीहरुको अनुभव, ज्ञान र शीपलाई नयाँ पुस्ता प्रयोग गर्ने सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरिएको वताउनुभयो । राईकै सम्पूर्ण लगानीमा जेष्ठ नागरिकहरुलाई भोजन, सम्मान तथा न्यानो कपडा वितरण गरिएको थियो । शिक्षा लिन गएका बालबालिकाले ज्ञान पनि सिकुन् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।

८६ वर्षका बर्जबहादुर राईले पहिलो पटक सम्मान प्राप्त गर्ने अवसर पाउनुभएको थियो । सम्मानसँगै न्यानो कपडा समेत पाउँदा प्रफुल्लित बयोवृद्ध राईले भन्नुभयो “पहिलोपटक यस्तो खुसी मिल्यो । बुढेसकालमा ठूला मान्छेहरुबाट सम्मान पाइयो । मर्ने बेलामा यो मौका दिनेहरुलाई सधैँ–सधैँ आशिर्वाद दिइरहन्छु ।”

सो अवसरमा सिंहवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुकबहादुर मेयोङ्बाले संस्थागत विद्यालयले स्थानीय सरकार, सामुदायिक विद्यालय वा कुनै सामाजिक संस्थाले गर्नुपर्ने कार्य गरेर नयाँ सन्देश दिएको वताउनुभयो । उहाँले समुदाय सहित बालबालिकालाई जेष्ठ नागरिकको सम्मान गर्ने चेतना फैलाउनु अत्यावाश्यक रहेको वताउनुभयो ।

कार्यक्रममा फालेलुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सुजाता वान्तवा राईले वडा कार्यालयले गर्नुपर्ने काम एक संस्थागत विद्यालयले गरेर सबैलाई ठूलो पाठ बढाएको वताउनुभयो । उहाँले सबै सामाजिक संघ संस्थालाई उक्त विद्यालयको कार्यबाट सिक्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले संस्थागत विद्यालयले समाजमा नमूना काम गरेर अरु पक्षलाई पनि पाठ सिकाएको वताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको वताउनुभयो ।

उहाँले राज्यले शिक्षामा गरेको लगानीले उचित प्रतिफल नदिइरहेको अवस्थामा संस्थागत विद्यालयको योगदान आवश्यक परेको वताउनुभयो । राज्यले सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्षम वनाउनुपर्ने उहाँले जोड दिनुभयो । उहाँले फालेलुङ गाउँपालिका वडा नं. ६ को विकास, स्थानीयका समस्या समाधानका लागि आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्