उपेक्षामा परेको कुम्भकर्णमा शैक्षिक सामग्री लिएर पहिलोपटक जिल्ला नेता पुग्दा ….



फिदिम, ६ पुस

सरकारी उपेक्षामा परेको पाँचथरको फिदिम नगरपालिका वडा नं. १० याङनामको सापनुवा स्थित कुम्भकर्ण आधारभूत विद्यालयमा शनिवार सामान्य जमघट थियो । विद्यालयको भवन भूकम्पले चर्किएको छ । एउटा कक्षा कोठामा त भत्किएको चुचीको ढुङ्गामाटो थुपारिएको छ । पूर्वप्राथमिक कक्षाका लागि उचित प्रवन्ध छैन् । सिमित विद्यार्थी भएपनि कक्षा कोठाहरुमा धुलो डङ्डङी छ ।

शिक्षकहरु बस्ने कार्यकक्षमा एउटा टेवल र एउटा दराज मात्रै छ । विद्यालयका प्रशासकीय सामग्र प्रधानाध्यापक आफैँले घरमा सुरक्षित राख्ने गरेका छन् । कठ्याङ्ग्रीने चिसोमा यहाँ विद्यार्थीले बसेर पढ्नसक्ने अवस्था छैन् । भित्तोपट्टी फर्किएको विद्यालयमा केही समय मात्रै घाम आइपुग्छ ।
अत्यन्तै कमजोर पूर्वाधार, घट्दो विद्यार्थी संख्या र खस्कँदो शैक्षिक गुणस्तरले विद्यालयप्रति अभिभावकहरुको चासो समेत घटिरहेको जमघटका सहभागीहरुको भनाईबाट प्रष्ट हुन्थ्यो ।

विपन्न समुदायका बालबच्चा अध्ययन गर्ने यस विद्यालयमा शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ सहितको टोली पुग्यो । पहिलो पटक जिल्ला स्तरका नेता विद्यालयमा आइपुगेको वताउँदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नहेन्द्र हाङसरुम्बाले विद्यालयको अवस्था सुधार्न आफूहरुले गर्दै आएको पहल अब भने सार्थक हुने विश्वास लिनुभयो ।

जनसेवा समाज पाँचथरको संयोजनमा नेता नेम्वाङले यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्न कार्यक्रमको आयोजना गरिएको थियो । आफूले निरन्तर पहल र प्रयत्न गर्दासमेत सुधान गर्न नसकेको र माथिल्ला निकायको उपेक्षामा परेको यो विद्यालयमा पहिलो पटक सहयोगी मनहरु तथा जिल्ला स्तरका नेताहरु उपस्थित भएकोमा वडाध्यक्ष वीरहाङ्मा थाम्सुहाङले खुसी ब्यक्त गर्नुभयो ।

वडाध्यक्ष थाम्सुहाङले नेता नेम्वाङ सहितको उपस्थितिले यो विद्यालय सहित उपेक्षामा परेको, विकासका दृष्टिले पछि परेको फिदिम नगरपालिका वडा नं. १० को विकासमा ठूलो सहयोग पुग्ने आफूहरुको अपेक्षा रहेको वताउनुभयो ।

कार्यक्रममा कुम्भकर्ण आधारभूत विद्यालय र खलङ्गाटार माध्यमिक विद्यालयका ३२ जना विद्यार्थीहरुलाई स्वीटर, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा कमिटी अध्यक्ष मणिकुमार थाम्सुहाङले उपेक्षामा परेको यस विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सहयोगका लागि पहल गर्नुभएको थियो । थाम्सुहाङको आग्रहबमोजिम नेकपा नेता नेम्वाङले विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

दिउँसोको समयमा समेत केही घण्टा मात्रै घाम लाग्ने यस विद्यालयका विद्यार्थीहरुको पठन–पाठन चिसोका कारण प्रभावित भएको देखेपछि आफूले न्यानो कपडा वितरणका लागि आग्रह गरेको थाम्सुहाङले वताउनुभयो । जिल्ला स्तरका नेताहरुको उपस्थितिले यस विद्यालयको भौतिक तथा शैक्षिक विकासमा परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ ।

कार्यक्रममा नेकपा पाँचथरका कार्यालय सदस्य महेन्द्रहाङ जबेगूले नेकपा नेता नेम्वाङले उपस्थिति र पहलले विकासका दृष्टिले पछि परेको फिदिम नगरपालिका वडा नं. १० को विकास, यहाँका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारमा ठूलो सहयोग मिल्ने विश्वास ब्यक्त गनुभयो ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य नेम्वाङले आफूले सानो सहयोग गरेर विद्यार्थीहरुलाई विद्यालय आउन उत्प्रेरित गरेको वताउँदै उपेक्षामा परेको उक्त क्षेत्रको समग्र विकासमा निरन्तर पहल गर्ने वताउनुभयो । “यो क्षेत्र समग्र विकासका दृष्टि पछि परेको छ । अझ यहाँका शैक्षिक संस्थाको अवस्था अत्यन्तै कमजोर रहेछ” नेकपा नेता नेम्वाङले भन्नुभयो “यहाँको विकास र पूर्वाधार निर्माणका लागि गम्भीरतापूर्वक पहल गर्छौँ ।”

कुम्भकर्ण आधारभूत विद्यालयमा चार जना शिक्षक रहेपनि नियमित पठन–पाठन नभएको, विद्यार्थी संख्या एकदमै कमजोर रहेको, भौतिक पूर्वाधारको परिवर्तन अत्यावाश्यक देखिएको उहाँको भनाई छ । यस क्षेत्रको परिवर्तनका लागि आफूले आफू सम्वद्ध दल नेकपाको माध्यमबाट प्रदेश र संघीय सरकारसँग पहल गर्ने वचन नेम्वाङले स्थानीयवासीलाई दिनुभयो ।

उहाँले फिदिम–११ सेजेपाबाट खुङखोला हुँदै निर्माण गर्न लागिएको शहीद मार्ग सडकलाई बाँसबोटेसम्म पुर्याउन पहल भएको र यसको डीपीआर तयार भइसकेको जानकारी दिनुभयो । यस्तै फिदिम–१० याङनामको मुनिबाट हेंवा कोरिडोर निर्माणको कार्य प्रदेश सरकारले अघि बढाएको र उक्त सडक मुख्यमन्त्री ग्रामीण सडक परियोजनामा परेकाले यहाँको अवस्था सुधार हुने वताउनुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य जलकुमार तामाङ, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष विक्रम शंकर, नेकपाका युवा नेता राजु थाम्सुहाङ लगायतको समेत उपस्थिति थियो । कार्यक्रममा स्थानीयवासीले शैक्षिक संस्थाहरुको अवस्था कमजोर रहेको, खानेपानीको समस्या बढ्दै गएको भन्दै माथिल्ला निकायमा पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्