२३ करोडका लागतमा इलाममा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने



फिदिम, ३ पुस

चियाको राजधानी इलामको सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो ।

केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक वर्षमा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाका ५ करोड रुपैया उपलव्ध हुनेछ ।

देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रूपमा स्थापना हुने यसले देशकै चिया विकासमा ठूलो टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको सन्देश प्रवाहित भएको समेत उल्लेख गर्नुभयो ।

सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेकोले यो केन्द्र निर्माणले थप सहयोग पुग्ने बताउँदै नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थोडक्स चिया उत्पादन गर्दै आएको टि टेस्टिङ सेन्टर निर्माणपछि चियाको बजारीकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

सूर्योदय नगरपालिकामा वार्षिक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । केन्द्र स्थापना गर्न करिब २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । यसको विस्तृत परियोजनापछि सार्वजनिक गरिने सचिव निर्मलले बताउनुभयो । (थाहा खवरबाट)

प्रतिक्रिया दिनुहोस्