सडकको अवस्था सुधार हुन सी चिनफिङ वा मोदी नै आउनुपर्ने अवस्था अन्त्य गर्छु : मन्त्री नेम्वाङ



फिदिम, २ पुस

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले अब सबै नेपाली सी चिनफिङ भएको वताउनुभएको छ । आजको खबरसँग कुराकानी गर्दै मन्त्री नेम्बाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा रातारात सडक बन्ने, अरुबेला सडक खाल्डाखुल्डी र समस्याले ग्रस्त हुने अवस्था अन्त्य हुने वताउनुभएको हो ।

“आखिर सडक त बन्दोरहेछ नि । यो त विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु आउँदा पुष्टि भइसकेको छ । मुख्य कुरा अटेर गरी बस्नेहरुकै कारण समस्या रहेछ । अब जो जुन ठाउँमा छ, उसले आफ्नो स्थानमा सी चिनफिङ आउँदाजस्तै काम गर्नुपर्यो” मन्त्री नेम्वाङले भन्नुभयो “अर्कोलाई देखाउनका लागि काम गर्नसक्नेले आफ्नाका लागि त झनै गर्नुपर्छ । यो नै अहिलेको आवश्यकता हो । तपाईं निश्चिन्त हुनुहोस्, अब सबै सडकहरु बन्छन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सडकको अवस्था तीब्र सुधारमा विशेष चासो देखाएको मन्त्री नेम्वाङको भनाई छ । सडकको अवस्था सुधार्न प्रधानमन्त्रीबाट निर्देशन समेत प्राप्त भएको मन्त्री नेम्वाङले वताउनुभयो । “हाम्रा सडक बाटोहरु नबन्दा देशकै प्रधानमन्त्रीले चिन्ता लिनुपर्ने, ठेकेदारहरु चुप लागेर बस्ने पनि कहीं हुन्छ ?” मन्त्री नेम्वाङले प्रश्न गर्नुभयो ।

आफूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेपछि तत्कालै समाधान गर्नुपर्ने समस्यामा विशेष ध्यान दिएको वताउँदै मन्त्री नेम्वाङ हेर्दा सामान्य देखिने तर समाधान गर्न कठीन पर्ने समस्याहरु समाधानको प्रयत्नमा आफू जुटेको वताउनुभयो । विशोषतः राजधानी काठमाडौं उपत्यकाभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्ने, सकेसम्म धुलो कम गर्ने तर्फ विशेष प्राथमिकताका साथ काम भएको जानकारी दिँदै मन्त्री नेम्वाङले यसका लागि आफूले नजिकबाट नियालिरहको वताउनुभयो ।

पेन्डिङमा रहेका ९ लाख स्मार्ट लाइसेन्स तत्काल छाप्न सुरु गरिने

मन्त्री नेम्बाङले पेन्डिङमा रहेका ९ लाख स्मार्ट लाइसेन्सहरु तत्काल छाप्न सुरु गरिने वताउनुभयो । “हामीले पटकपटक बैठक र मनिटरिङ गरेर ती लाइसेन्सहरु छाप्न सुरु गरिसकेका छौं । छिटो भन्दा छिटो अर्थात् दुईतीन महिनाभित्रै सबै कार्डहरु सकेसम्म घरघरमा डेलिभरी गर्ने, नसके पनि उचित र छिटो प्रक्रियाबाट वितरण गर्ने योजना बनाएर हामी अघि बढिसकेका छौं ।” त्यसका लागि प्रत्येक दिन उत्पादन गरेर हप्ताहप्तामा वितरण प्रणालीलाई तिब्रता दिएमा निकट भविष्यमा नै यो काम सम्पन्न हुने मन्त्री नेम्वाङको भनाई छ ।

सार्वजनिक खरीद ऐनमा संशोधन आवश्यक

एउटै व्यक्तिले धेरैभन्दा धेरै कामको ठेक्का लिएर त्यसलाई होल्ड गरेकोमा मन्त्री नेम्बाङले दुःख व्यक्त गर्नुभयो । उहाँले देशलाई परेको बेला निर्माण व्यवसायीहरुले आवश्यक सहयोग गर्नुपर्ने वताउनुभयो ।

“समयमा निर्माण व्यवसायीहरुले आ–आफ्नो क्षमता बढाएरसरकारलाई सहयोग गर्नुपर्दछ । वास्तवमा म पनि त्यही चाहिरहेको छु । तर समस्या हेर्नुहोस् न, एउटै पुल सातवर्षसम्म पनि बनेको छैन् । त्यसैले यसको समाधानका लागि सार्वजनिक खरिद ऐनमै संशोधन आवश्यक छ” मन्त्री नेम्वाङले भन्नुभयो । यसका लागि प्रधानमन्त्री पनि सकारात्मक रहेको मन्त्री नेम्वाङको भनाई छ ।

यातायात व्यवस्था कार्यालयहरुमा सुधार गरिने

यातायात व्यवस्था कार्यालयहरुको सुधारका लागि योजना बनिरहेको मन्त्री नेम्बाङले वताउनुभयो । “एकवर्ष बित्दा पनि स्मार्टकार्ड वितरण गर्न नसक्नु यातायात व्यवस्था कार्यालयहरु कमजोर भएर नै हो । ती कार्यालयहरु स्मार्ट बन्न नसक्दा जनताले सुविधा र सम्मान पाउन पनि सकेनन् । वास्तवमा अहिले जनताको अपेक्षा पनि यही हो । सजिलो, भरपर्दो र सहजरुपमा सेवा पाउनु जनताको चाहना हो । कर्मचारीलाई केही समस्या छ भने त्यसलाई सरकारले संरक्षण वा जिम्मेवारी लिएर समाधान गर्नुपर्छ” मन्त्री नेम्वाङले भन्नुभयो । (आजकोखवर डटकमबाट साभार तथा सम्पादन)

प्रतिक्रिया दिनुहोस्