दोश्रो फिदिम नगरकप फुटवल पुष १० गतेबाट



फिदिम, २ पुस

पाँचथरको फिदिम नगरपालिका वडा नं. ७ रानीटार यही पुष १० गतेबाट पुष १५ गतेसम्म दोश्रो फिदिम नगरकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

यहाँको स्वतन्त्र क्लबले आयोजना गरेको प्रतियोगितामा पाँचथर, तेह्रथुम, इलाम र झापाका गरी ८ वटा फुटवल टोली सहभागी हुनेछन् । प्रतियोगितामा पाँचथरका आयोजक स्वतन्त्र क्लब, भैरवी दल गण फिदिम र फिदिम स्पोर्टिङ क्लब सहभागी हुनेछन् भने इलामका रेडहर्स क्लब इलाम र योङ ब्वाइज क्लब इलाम सहभागी हुनेछन् । यस्तै तेह्रथुमको आठराई मितेरी क्लबले समेत सहभागिता जनाउनेछ । झापाका सैनिक युथ क्लब र रेडस्टार क्लबले प्रतियोगितामा भाग लिने आयोजनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

आयोजक स्वतन्त्र क्लबका अनुसार प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार र उपविजेताले रु. ५५ हजार ५ सय प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याच, प्रतियोगिताको उत्कृष्ट खेलाडी, विधागत रुपमा उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर र डिफेन्सले समेत पुरस्कार प्राप्त गर्ने स्वतन्त्र क्लब रानीटारका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो ।

करीब रु. ८ लाखको लागतमा प्रतियोगिता सम्पन्न हुने आयोजकको अनुमान छ । उक्त रकम स्थानीय स्तरमा आयोजकहरुबाट, स्थानीय तहहरुबाट, प्रवद्र्धकहरुबाट, वैदेशिक रोजगारीमा रहेका स्थानीयहरुवाट सङ्कलन गर्ने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्