सडक दुर्घटना न्यूनिकरणका लागि यातायात मन्त्रालय एक्सनमा, सोमवार बने दुई छानविन समिति



फिदिम, ३० मङ्सिर

बढ्दो सडक दुर्घटना न्यूनिकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एक्सनमा उत्रिएको छ । सवारी दुर्घटनाका ठूला घटना निरन्तर दोहोरिन थालेपछि मन्त्रालयले यस्ता दुर्घटनाको कारण पत्ता लगाई समाधान खोज्ने तयारी थालेको छ ।

सडक दुर्घटनाका घटना बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मात्रै गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहित मन्त्रालय र सम्वद्ध विभागका पदाधिकारीहरुलाई दुर्घटना घटाउने उपाय खोज्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशन बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबै ठूला सडक दुर्घटनाका घटनाहरुको विमान दुर्घटनाको जस्तै छानविन गर्ने, दुर्घटनाको कारण पत्ता लगाई दुर्घटना न्यूनिकरणको उपाय अवलम्बन गर्ने भएको हो ।

सोही नीतिअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको निर्देशनमा मन्त्रालयले हिँजो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ७ स्वाँरामा भएको सडक दुर्घटनाको छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार उक्त समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी महाशाखा, यातायात ब्यवसायी महासंघ लगायत निकायका प्रतिनिधिहरु समेत सदस्य रहेका छन् । उक्त समितिलाई छानविन गरी मन्त्रालयका प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ ।

यस्तै मन्त्रालयले विगतमा भएका सवारी दुर्घटनाहरुको अध्ययन गरी दुर्घटना हुनुका कारण, दुर्घटना न्यूनिकरणका उपायसम्बन्धी नीतिगत एवं संरचनागत सुधारको प्रतिवेदन पेश गर्ने अर्को एक समिति समेत गठन गरेको मन्त्रालयका सहसचिव सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म सडक दुर्घटनाका घटनाबारे छानविन हुने गरेको थिएन् । प्रधानमन्त्री ओली र मन्त्री नेम्वाङको पहलपछि अब मन्त्रालयले ठूला दुर्घटनाको छानविन गर्ने भएको हो । दुर्घटनाहरुको अध्ययन गरी दुर्घटनाका कारण पत्ता लगाई न्यूनिकरणका उपाय अवलम्बन गर्ने पछिल्लो निर्णयलाई ब्यवहारिक कार्यान्वयन गर्दै भावी दिनमा समेत निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्