कृषि प्रदर्शनीसहित चासोक तङ्नाम (उधौली) मनाइयो



यासोक, २८ मङ्सिर

उधौली पर्व चासोक तङ्नामको अवसरमा पाँचथरको कुम्मायक गाउँपालिकामा कृषि प्रदर्शनी तथा परम्परागत खेलकुदका कार्यक्रम आयोजना गरिएको छ ।

भिन्न जातीय समुदायले धान्य पूर्णिमा, चासोक तङ्नाम, उद्यौली लगायत नामले मनाउने यस पर्वको अवसरमा कुम्मायक गाउँपालिकाको कृषि विकास इकाई र किरात थाक्थुङ चुम्लुङ कुम्मायकले कृषि प्रदर्शनी, परम्परागत खेल सहितको मेला आयोजना गरेका हुन् ।

सुख्खाले प्रभावित कुम्मायकमा आधुनिक कृषि प्रणाली अवलम्वन गर्न उत्प्रेरित गर्ने, यहाँ उत्पादन भइरहेका कृषि उपजहरुको प्रवद्र्धन गर्ने उद्देश्यले कृषि उपजहरुको प्रदर्शनी राखिएको हो । तेलहन, जरे, मसला, दलहन, तरकारी, फलफूल र खाद्यान्नका विभिन्न प्रजातिका बालीहरु प्रदर्शनमा राखिएका थिए । प्रदर्शनीमा सहभागी मध्ये उत्कृष्ट कृषि उपजहरुलाई पुरस्कृत समेत गरिएको थियो । मेलामा डोरी तान्ने, भाले जुधाई र छेलो हान्ने प्रतियोगिता सञ्चालन भएको थियो । यसैगरी सङ्गिनी, बालन, केस्लाङ, धान नाच र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

डोरी तान्ने प्रतियोगितामा छत्रपति निरौलाको समूह प्रथम र डिल्ली लावतीको समूह द्वितीय भएको छ । भाले जुधाई प्रतियोगितामा ४० बर्षभन्दा माथि उमेर समूहमा मनबहादुर लावती र ४० बर्षभन्दा कम उमेर समूहमा बिवश लावती प्रथम भएका छन् । छेलो हान्ने प्रतियोगितामा ४० बर्षभन्दा माथि उमेर समूहमा वीरेन्द्र खड्का र ४० बर्षभन्दा कम उमेर समूहमा प्रबिण चापागाईं प्रथम भएका छन् ।

छेलो हान्ने प्रतियोगितामा महिला तर्फ फूलकुमारी लिम्बू प्रथम र गीता बोहोरा द्वितीय भएका छन् । लङ्जम्पतर्फ रोहित लिम्बू प्रथम र छत्रपति निरौला द्वितीय भएका छन् । यस्तै खुल्ला नृत्य प्रतियोगितामा सनराइज बोर्डिङ स्कुल प्रथम, कुम्मायक कुस्सायक क्लब द्वितीय, श्रीजङ्गा डान्स सेन्टर तृतीय र माबोहाङ युबा क्लब सान्तवना भएका छन ।

किराँतीहरुको मौलिक पहिचानमा आधारित यस पर्वको रौनकतामा कृषि उपजहरुको प्रदर्शनीले धार्मिक मान्यतालाई ब्यवहारत अनुशरण गर्ने प्रयत्न भएको सन्देश दिन खोजेको थियो । पाकेको नयाँ बाली खानुपूर्व भगवानको नाममा विभिन्न स्थानमा चढाउने र अनुष्ठान गरेर मात्रै खान थाल्ने परम्परागत मान्यता छ । उद्यौली पर्वमा कृषि उपजको प्रदर्शनले यस पर्वसँग कृषि उपजको अभिन्न सम्बन्ध रहेको सन्देश दिन खोजिएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फेले नचढाई वा अनुष्ठान नगरी नयाँ बाली खान नहुने मान्यता वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त रहेको वताउनुभयो । उहाँले परम्परागत संस्कृतिलाई कृषि उपजको प्रवद्र्धन गर्ने कार्यक्रमको रुपमा मनाइनु पृथक र महत्वपूर्ण रहेको वताउनुभयो ।

कुम्मायक गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक यामबहादुर बोहोराको अध्यक्षतामा कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटा, सदस्य मनमाया लावती, कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ सहित जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, नागरिक संघ संस्थाका प्रतिनिधिहरु, कृषक, खेलाडी, संस्कृतिकर्मी, स्थानीयवासी लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्