आगलागीबाट खण्डहर भयो गुम्बाडाँडाको आकर्षक घर



फिदिम, २८ मङ्सिर

मेची राजमार्गको राँके–पौवाभञ्ज्याङ खण्डमा नागवेली सडकमा रहेको आकर्षक घर जलेर खण्डहर भएको छ ।

शुक्रवार दिउँसो धनबहादुर तामाङको उक्त चारतले घरसँगै जोडिएको डिल्ली परियारको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट नागबेली सडकको दुई तिर भेट्ने यो घर खण्डहरमा परिणत भएको छ ।

स्थानीयले विद्युत सर्ट भई आगलागी सुरु भएको अनुमान गरेका छन् । आगलागी सुरु भएको खवरपछि फिदिमबाट घटनास्थल गएको दमकल पुगिसक्दा यहाँका अधिकांश संरचना जलिसकेको स्थानीयवासीको भनाई छ ।

स्थानीयवासी, सुरक्षाकर्मी लगायतले आगलागी नियन्त्रणको प्रयास गरेका थिए । आगलागीबाट करीब रु. ५० लाखको क्षति भएको अनुमान गरिएपनि क्षतिको विवरण प्रहरीले सार्वजनिक गर्न बाँकी छ । पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. ३ मा पर्ने गुम्बाडाँडामा निर्मित संरचना निक्कै आकर्षक थियो ।

प्रतिक्रिया दिनुहोस्