भ्रमण वर्ष प्रवर्द्धन गर्न प्रदेश १ का नौ जना सद्भावना दूत



फिदिम, २७ मङ्सिर

प्रदेश नं. १ सरकारले भ्रमण २०२० को प्रवद्र्धनका लागि विभिन्न क्षेत्रमा ख्याति कमाएका ९ जनालाई पर्यटन सद्भावना दूत नियुक्त गरेको छ ।

प्रदेश सरकारले आरोहीहरु कामिरिता शेर्पा, मिङ्मा शेर्पा, सानु शेर्पा, मिङ्मा ग्याबु शेर्पा र छाङ्दावा शेर्पा, अल्ट्रा धाविका मीरा राई, कलाकार दीपाश्री निरौला, नेपालकै अग्ला राजन अधिकारी र पिङ्कीराज गरियालाई सद्भावना दूत नियुक्त गरेको हो ।

प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि काठमाडौंमा गरेको कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उहाँहरूलाई सद्भावना दूतको प्रमाणपत्र प्रदान गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई आधार बनाएर प्याकेजका कार्यक्रम ल्याउन पर्यटनसँग सम्बन्धित संस्थाहरूलाई अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश १ लाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अठोटका साथ प्रदेशस्तरीय पर्यटन गुरूयोजना बनाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष–२०२० मा प्रदेश सरकारले आफ्नो प्रदेशमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश १ का पर्यटनमन्त्री जगदीशप्रसाद कुशियतले वताउनुभयो ।

कार्यक्रममा संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले संघीय सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि प्रदेश सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्