ओझेलमा ‘तेजपुञ्ज’ आगेजुङ



फिदिम, २८ मङ्सिर

पाँचथरमा एउटा यस्तो महत्वपूर्ण शक्तिपीठ छ जसलाई यहाँका तीन सनातन धर्म हिन्दू, वौद्ध र किराँतका अनुयायीहरुले साझा धार्मिक केन्द्र मानेर पूजा अर्जना र ध्यान उपासना गर्दछन । यहि पुञ्ज कञ्चनजंघाको शीरदेखि मध्य तराईसम्म दृश्यपान गराउन सक्षम छ । घना जङ्गल वीचको टाकुरामा अडेको, प्राकृतिक छटा, जनश्रुतिमा आधारित धार्मिक शक्ति र पर्यटकीय विकासका दृष्टिले अब्बल त्यो ठाँउ हो आगेजुङ ।

पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ३, याङवरक गाँउपालिका वडा नं. ५ र फालेलुङ गाँउपालिका वडा नं. १ को सीमामा पर्ने आगेजुङ गुम्बा पूर्वकै प्रसिद्ध तीर्थस्थल हो । ‘तेजपुञ्ज’ नामले समेत सुपरिचित आगेजुङ गुम्बा शक्तिको उत्पत्ति भएको र पूर्वकै पहिलो गुम्बा हो । गुम्बामा बस्ने लामाहरुले यहाँ निरन्तर ध्यान र उपासना गर्ने गर्दछन । ध्यान र उपासनाकै कारण आगेजुङ विशिष्ट शक्तिप्राप्त धार्मिक स्थल मानिन्छ । यहाँ हरेक वर्ष बैशाख पूर्णिमा, मंसिर पूर्णिमा र फागुन पूर्णिमामा मेला लाग्ने गर्दछ । यहाँ वौद्ध धर्मावलम्बीका अतिरिक्त हिन्दू र किराँत धर्मावलम्बीहरुले समेत यज्ञ, ध्यान, तपस्या गर्दै आएका छन ।

फिदिमबाट मेची राजमार्गमा पर्ने जोरपोखरी वा गोपेटार पुगेर करीब एक घण्टा पैदल यात्रा गरेपछि आगेजुङ गुम्बामा पुग्न सकिन्छ । घना जङ्गल, ठूल्ठुला रुख, विभिन्न प्रजातिका वनस्पती, जङ्गली जनावर र पंक्षीहरुको आवाजमा जोडिने ‘ओम माने पेमे हुँ’ ध्वनीले यहाँ पुग्दा स्वर्गमा पुगेजस्तो अनुभूति हुने गर्दछ । छोटो समयलाई भएपनि यहाँ पदयात्रा गर्न एकदमै आनन्द मिल्दछ । यहाँको प्राकृतिक घना जंगलले कृतिम दुनियाँ क्षणभरलाई भएपनि विर्सन मद्दत गर्दछ ।

यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिम श्रृङ्खला, पाथीभरा, लब्रेकुटी, सिलौटी, गुप्तेश्वर महादेव लगायत धार्मिक स्थल, फालोट, चिवाभञ्ज्याङ जस्ता पर्यटकीय क्षेत्रहरुको दृश्यावलोकन गर्न सकिन्छ । घना जंगलको वीचमा रहेको टाकुरोमा हिन्दू र वौद्ध धर्ममा अध्येता, सन्त महन्त एवं लामाहरुले लामो समय ध्यान तथा उपासना गरेका कारण यहाँ दैवी शक्ति रहेको धेरैको विश्वास छ ।

वि.सं. २०१५ सालमा लामा दोर्जे लाङ्ठोलले आगेजुङ गुम्बाको स्थापना गर्नुभएको थियो । यहाँ वि.सं. २०१८ सालबाट औपचारिक रुपमा लामा शिक्षाको पठन पाठन हुन थालेको थियो । यहाँबाट धेरै लामा गुरुहरु दिक्षित भएको पाइन्छ । गुम्बाको स्थापना गर्नुभएका लाङ्ठोलको २०४९ सालमा देवाहसान भएपछि उहाँका छोरा लामा तेन्जिङ शेर्पाले यहाँ दैनिक पूजा पाठ गर्दै आउनुभएको छ । गुम्बामा द्वन्द्वकालपछि लामा शिक्षा अध्यापन रोकिएको छ ।

व्यक्तिगत लगानीबाट सुरु भएको यो गुम्बाको संरक्षणमा सरकारले उचित चासो नपुगेको सरोकारवालाको गुनासो छ । विगतमा सरकारले उचित लगानी नगरेको, पर्यटकीय विकासमा पर्याप्त लगानी नभएको यहाँ अहिले तीन स्थानीय तहको सीमा परेका कारण सबैले छुट्टा छुट्टै लगानीको प्रयास गरेका छन । तर आगेजुङलाई पर्यटकीय गन्तब्य बनाउन, यहाँका सम्पदाको संरक्षण गर्न उचित लगानी र ध्यान भने पुगको छैन । सरकारी सहयोग प्राप्त हुन थालेपनि प¥याप्त पूर्वाधार निर्माण हुन सकेका छैनन । हाल गुम्बा संरक्षण समिति गठन गरी समितिको मातहतबाट गुम्बा सञ्चालन हुँदै आएको छ । भक्तजन र दाताहरुको सहयोगबाट गुम्बा चलाउनुपर्ने बाध्यता विद्यमान रहेको गुरु लामा तेन्जिङ शेर्पाको भनाई छ ।

बौद्ध धर्मावलम्बीहरुका विशेष पर्वहरुमा देश तथा विदेशबाट श्रद्धालुहरु यहाँ आउने गरेका छन । तर आगन्तुकहरुका लागि बसोबासको उचित प्रवन्ध हुन सकेको छैन । खानेपानी र तीर्थालु बस्ने स्थानको अभाव छ । गुम्बाको संरक्षण र रेखदेख गर्ने कर्मचारी नहुँदा ब्यवस्थापनमा समस्या परेको छ । बौद्ध शिक्षा अध्यापनलाई नियमित बनाउनुपर्ने आवश्यकता रहेपनि त्यसो हुन सकेको छैन ।

फालेलुङ गाउँपालिका वडा नं. १ मा अवस्थित यो गुम्बा हिलिहाङ, याङवरक र फालेलुङ गाँउपालिकाको संगम स्थलमा पर्छ । करिव ३५ रोपनी क्षेत्रमा फैलिएको गुम्बा परिसरसम्म हिलिहाङ गाउँपालिकाले बाटोको ट्रयाक खोलेको छ । हिलिहाङ गाँउपालिकाले आगेजुङलाई विशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लैजान गाँउपालिकाको पर्यटन गुरु योजनामा समावेश गरेको गाँउपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिनुभयो । याङवरक गाँउपालिकाले समेत आगेजुङलाई पर्यटकीय गन्तब्य बनाउन अरु स्थानीय तहसँग छलफल र समन्वय गर्दै आएको याङवरक गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष टेकनाथ न्यौपानेको भनाई छ ।

आदिमकालमा गायत्री माताले तेजपुञ्जबाट प्रकट भई दर्शन दिएको किम्बदन्ती अनुसार गुम्बालाई तेजपुञ्ज भनिएको हो । २०१६ सालमा निर्मित गुम्बामा रिम्पोछे, शीव–पार्वती, इन्द्र, महाकाली र बुद्धका प्रतिमूर्ति सजाइएका छन् । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक महत्वको गुम्बालाई सप्तऋषिले तपस्या गरेको र स्वामी विवेकानन्दले आश्रम बनाई प्रचारमा ल्याएको जोरपोखरी–आगेजुङ–शिवगंगा क्षेत्रका जानकार चिदानन्द खतिवडाको भनाई छ । गुम्बासँगै रहेका भुवनेश्वरी धाम र विवेकानन्द आश्रमबारे धेरै मानिस बेखवर जस्तै छन । वि.सं. २०१२ सालसम्म यो गुम्बाको छेउमा विशाल पोखरी अस्तित्वमा रहेपनि त्यो क्रमशः सुक्दै गएको जानकार खतिवडाको भनाई छ ।

स्वच्छ, शान्त, प्राकृतिक, रमणीय वातावरण, मनमोहक प्राकृतिक यो क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय तहहरुले पहल भने थालेका छन । स्थानीय बासिन्दाका अनुसार एकतीन ६ को शिवगंगा भन्ने स्थानबाट सुरु भएर आगेजुङसम्म पुञ्ज रहेको मानिएको छ । सबै किसिमले महत्वपूर्ण ठानिएको यस गुम्बालाई पदमार्गबाट समेत पर्यटकीय गन्तब्य बनाउने प्रयत्न हिलिहाङ गाँउपालिकाले थालेको छ ।

हिलिहाङ गाँउपालिकाले सानो पाथीभरा, जोरपोखरी, आगेजुङ गुम्बा, गोपेटार, कालापानी, भोटेगढी, हिलिहाङ दरबार पदमार्ग निर्माणको योजना पर्यटन गुरु योजनामा समेटेको छ । पर्यटन वर्ष–२०२० लाई लक्षित गरी यी स्थानलाई एक दिनको पदमार्गको रुपमा विकास गर्ने प्रयत्न गरिएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष लिङदेनको भनाई छ ।

बहुधार्मिक, बहुसाँस्कृतिक, प्राकृतिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण आगेजुङ गुम्बा र आगेजुङ क्षेत्र हालसम्म पनि ओझेलमा पर्नु, प¥याप्त पूर्वाधार विकास हुन नसक्नु, प्रचार प्रसार हुन नसक्नु दुःखद् पक्ष रहेको पर्यटन विकासको क्षेत्रमा सक्रिय सरोकारवालाहरुको गुनासो छ । अब सबै पक्ष मिलेर यस स्थानलाई अनुपम पर्यटकीय गन्तब्य बनाउन पहल थाल्नुको विकल्प नभएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्