६६ जना विद्यार्थीलाई न्यानो कपडा



फिदिम, २३ मङ्सिर

पाँचथरको फिदिम नगरपालिका वडा नं. १० का ६६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

जनसेवा समाज पाँचथरले सहयोगी ब्यक्तिहरुको सहयोगको मद्दतमा विद्यार्थीहरुलाई न्यानो कपडा उपलब्ध गराएको हो । फिदिम नगरपालिका वडा नं. १० को चोकलुङ आधारभूत विद्यालय आसमाने र पच्चिसे आधारभूत विद्यालय पच्चिसेका विद्यार्थीहरुलाई सोमवार चोकलुङ आधारभूत विद्यालय आसमानेमा आयोजित कार्यक्रम स्वीटर लगायत न्यानो कपडा वितरण गरिएको हो ।

टेम्स हाउस चन्द्रगढी झापाका प्रवन्धक विपिन उप्रेती र जनसेवा समाजका संरक्षक गणेश अर्याल समेतको सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले वताउनुभयो । सोही कार्यक्रममा स्थानीय अशक्त मिनाकुमारी हाङसरुम्बालाई खाद्यान्न र लत्ताकपडा तथा स्थानीय असाहाय पासाङ राईलाई खाद्यान्न वितरण गरिएको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले ठन्डाका कारण विद्यार्थीहरुको पढाई प्रभावित नहोस् भनेर सहयोग गरिएको भन्दै उक्त संस्थाको प्रशंसा गर्नुभयो । उहाँले फिदिम नगरपालिका वडा नं. १० आसमाने, पच्चिसे, बडहरे लगायत क्षेत्रको विकासमा स्थानीय सरकार उदासिने देखिएको भन्दै यहाँको विकासका लागि आफूले सक्दो पहल गर्ने वताउनुभयो ।

यहाँ निर्माण भएको हेंवा खोला ‘ए’ जलविद्युत आयोजनाले सडक निर्माण, खानेपानी, विद्युतिकरण लगायत क्षेत्रमा काम गरेको छ । तर उक्त आयोजनाले निर्माण गरेको सडक मर्मत नहुँदा स्थानीयले समस्या भोगिरहेका छन भने विद्यालय भवनहरु समेत पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

निजी क्षेत्रबाट विकासमा सहयोग हुँदा सरकारी निकायको उचित ध्यान नपुगेको यही स्थान भएर हेंवा करिडोर सडक निर्माण हुन लागेको जानकारी दिँदै उहाँले स्थानीय स्तरका गुनासा तथा मागहरु आफूहरुकहाँ आएको वताउँदै नेता नेम्वाङले प्रदेश र संघीय सरकारबाट स्थानीयका आवश्यकता पूरा गर्न पहल गरिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्