वीरेनजीको नाटक संग्रह ‘यदि उसको भविष्य बन्छ भने’ विमोचित



फिदिम, २३ मङ्सिर

नाटककार, साहित्यकार वीरेन्द्र थोक्लिहाङ ‘वीरनेजी’को सातौं कृति ‘यदि उसको भविष्य बन्छ भने’ नामक नाटक संग्रहको सोमबार बिमोचन गरिएको छ ।

फिदिमस्थित चुम्लुङहीम भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा.देवी क्षेत्री दुलाल, पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगू, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओती, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगू लगायतले कृतिको बिमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दुलालले वीरेनजीका सामाजिक यथार्थवादी नाटकहरुले पाठकको मन छुने वताउनुभयो । कृतिमा संग्रहित तीन वटा नाटकमध्ये ‘तुहिन्छन् यसरी क्रान्तिका सपनाहरु’ र ‘यदि उसको भविष्य बन्छ भने’ नाटकको साहित्यकार प्रेम ओझा र ‘वेलकम टु एड्स’ शीर्षक नाटकको साहित्यकार मधु केरुङले समिक्षात्मक टिप्पणी गर्नुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा लेखक श्रीप्रसाद जबेगू, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओती, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगू, नौलो साहित्य बिहान प्रतिष्ठानका अध्यक्ष राम उपाध्याय लगायतले शुभकामना दिनुभएको थियो ।

कृतिका लेखक वीरनजीले निकै समय अघि लेखिएका नाटकहरुलाई संग्रहित गरी कृतिको आकार दिएको वताउनुभयो । हाम्रो थिएटर नेपाल पाँचथरले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो । कृति सीता लाओती (जबेगू) को प्रकाशनमा बजारमा आएको हो । ७२ पृष्ठ रहेको कृतिको मूल्य २५० रुपैंयाँ राखिएको छ । (पूर्व पोष्ट डटकमबाट)

प्रतिक्रिया दिनुहोस्