चियामा पनि कृषक पाठशाला



युद्धबहादुर बोहोरा
घुर्विसेपञ्चमी, २३ मङ्सिर

पाँचथरमा यसअघि अदुवा, अलैंची लगायत नगदेवालीलाई ब्यवसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा लागू भएको छ ।

कृषकहरुलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई ब्यवसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पाठशाला सञ्चालनमा ल्याइएको हो । कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समेत समाधान हुने अपेक्षा गरिएको छ । चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजना पाँचथरले फाल्गुनन्द गाँउपालिका वडा नं. ४ चिलिङदिनमा रहेको नामसामी चिया तथा कफी उत्पादक सहकारी संस्थामा पाठशाला सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालय चालु आर्थिक वर्षको कार्यक्रम अनुसार कृषकलाई व्यवसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यास चिया कृषक पाठशाला’ सुरुआत गरिएको कार्यालय प्रमुख प्रेमकुमार थिङले जानकारी दिनुभयो । निरन्तर प्राङ्गारिक चिया उत्पादन गर्दै आएको यस सहकारीमा आवद्ध कृषकहरु व्यवसायिक बनाउन पाठशाला सञ्चालनका लागि छनौट गरिएको उहाँले वताउनुभयो ।

कृषक पाठशालामा उक्त सहकारीमा आवद्ध कृषकहरु प्रयोगात्मक सिकाईमा सहभागी हुने गरेका छन् । उक्त सहकारीमा पाठशाला सञ्चालन गर्न कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ । कृषि प्राविधिक दीपक चौधरीले चियाको नर्सरी गर्ने तरिका, चियाको काँटछाँट प्रविधि, रोग किरा नियन्त्रण, पत्ति टिपाई सम्बन्धी तालिम लगायत चिया खेतीका शीप र प्रविधिहरु प्रयोगात्मक विधिद्वारा कृषकहरुलाई जानकारी गराउँदै आउनुभएको छ ।

यस चिया सहकारीको चिया बगान करिब तीन सय रोपनी क्षेत्रफलमा फैलिएको छ । २०५२ सालबाट बिरुवा रोपणको काम थालनी गरी २०६० सालबाट चिया उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष मोतीराज नेम्वाङले जानकारी दिनुभयो ।

सहकारीले प्राङ्गारिक प्रमाणित भएको हरियो चिया पत्ति विक्री गर्दै आएको छ । वर्षेनि २० हजार किलोग्राम हरियो चिया पत्ति विक्री हुँदै आएको अध्यक्ष नेम्वाङले वताउनुभयो । यहाँको हरियो चिया पत्ति फिदिम स्थित कञ्चनजंघा टी स्टेटले खरिद गर्दै आएको छ ।

चियाको काँटछाँटका लागि आवश्यक मेसिन तथा अन्य उपकरणहरुको अभाव हुनु, ढुवानीको समस्याले दैनिक विक्री गर्न नपाउनु, प्राङ्गारिक चियाको उचित बजार मूल्य नहुनु, उचित पारिश्रमिक उपलब्ध गराउन नसक्दा कामदारको अभाव हुनु लगायतले चिया सहकारीहरुलाई ब्यवसायिक उत्पादन गर्न समस्या पर्ने गरेको उक्त सहकारीको लेखा समिति संयोजक नरप्रसाद नेम्वाङको भनाई छ । कृषक पाठशालाको निरन्तरता सहित अन्य आर्थिक एवं प्राविधिक सहयोग हुनसके ग्रामीण कृषकहरु चिया खेतीतर्फ आकर्षित हुनसक्ने सहकारीका अध्यक्ष नेम्वाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्